काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस गठबन्धनबाट हाम फालेर एमालेतिर सल्किएपछिको सत्ता बाँडीचुँडीका लागि बालुवाटारमा तीन दलीय शीर्ष नेतृत्वको बैठक फेरि बस्ने भएको छ।
कांग्रेसलाई सत्ता विमुख बनाएपछि एमालेसहितको सरकार निर्माण गर्न नेकपा माओवादी, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुको फेरि बालुवाटारमा जमघट हुन थालेको हो।
आज बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भए पनि भागबन्डाको विषय टुंगिइसकेको छैन।
प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको हो। करिब ३ बजे लिखित सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको मल्लको भनाइ छ।
नयाँ सत्ता गठबन्धनमा सहभागी एमालेका एक, रास्वपाका एक र नेकपा माओवादी केन्द्रका एक गरी तीन नयाँ मन्त्रीलाई आजै सपथ खुवाइने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्। भेटमा पछिल्लो राजनीतिक गतिविधि, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ।
सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले बताए।
आज छोटो मन्त्रिपरिषद् विस्तार गर्ने र गठबन्धन दलका शीर्ष नेताहरूबीच मन्त्रालय बाँडीचुँडीको सहमति भएपछि सरकारमा सहभागी हुनेछन्।
सुरुमा रास्वपा सभापति रवि लामिछाने, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र एमाले नेता विष्णु पौडेल पनि सरकारमा सहभागी हुने बताइएको थियो। तर, मन्त्रालयको भागबण्डा र वरीयता नटुंगिएका कारण उनीहरु मन्त्री नबन्ने पक्का भएको छ।