काठमाडौं । साझा यातायातको ३०० विद्युतीय बस खरिद प्रक्रिया अवरुद्ध हुँदै आएको छ । यसअघि सरकारले ३०० विद्युतिय बस सञ्चालन गर्ने योजनासहित ३ अर्ब रुपैयाँ बजेट साझालाई निकासा गरेपनि अझै बस खरिद प्रक्रिया सकेको छैन । अहिले बस खरिद प्रक्रिया नै अवरुद्ध भएको छ ।
बिजुली बस खरिद गर्ने जिम्मा साझा यातायातलाई दिएपनि गत असोज १ गते भौतिक पूर्वाधार मन्त्रालयको पत्रले बस खरिद प्रक्रिया रोकिएको हो । प्रक्रिया अवरुद्ध भएको ३ महिना बितिसकेको छ ।
पूर्वमन्त्री रघुवीर महासेठले साझालाई तीन महिनाभित्र सम्पूर्ण खरिद प्रक्रिया पूरा गरी बस सञ्चालन गर्न दिएको निर्देशन साझाले पूरा नगरेपछि स्वंयम मन्त्रीले प्रक्रिया अघि नबढाउन पत्र काटेका थिए । त्यसयता साझाले खरिद सम्वन्धी प्रक्रिया अघि बढाएको छैन ।
हाल बहालवाला मन्त्री बसन्तकुमार नेम्बाङले पनि रोकिएको विद्युतीय बस खरिद प्रक्रियाको गाँठो फुकाउन सकेका छैनन् । यसबारे हालसम्म मन्त्री नेम्बाङले ठोस निर्णय लिन नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयबाट आधिकारीक रुपमा खरिद प्रक्रिया अघि बढाउनु भनेर कुनै निर्णय नभएकाले यथावत रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीइओ) भूषण तुलाधरले बताए ।
साझाले प्राबिधिक समिति बनाएर कर्मचारी भर्नाको तयारी भइरहेको थियो । खरिद प्रकृयाको अन्तिम चरण (टेन्डर ) निकाल्ने तयारीमा हुँदै गर्दा मन्त्रालयको उक्त पत्रले साझाले बस खरिद प्रक्रिया अघि बढाउन सकेन ।
साझाले पनि असोजसम्म सम्पर्ण प्रकृया पुरा गरेर नेपाली सडकमा बिजुली बस गुडाउने आश्वासन दियो । त्यसैलाइ पत्याएर मन्त्री महासेठले त्यतिबेला दशैंअघि नै बिजुली गुड्ने भन्दै भाषण गर्दै हिडे । तर, रकम निकासा भएको लामो समय हुँदासम्म पनि प्रगति शुन्य देखिएपछि प्रक्रिया रोक्न मन्त्रीले निर्देशन दिएका थिए ।
सरकार—सरकाबीच(जीटुजी)मार्फत बस खरिद गर्ने निर्णयअनुुसार साझालाई जिम्मा दिइएको थियो । साझामा ९९ प्रतिशत सरकारी स्वामित्व छ । यसअघि बिजुली बस चलाउन छुट्टै यातायात प्राधिकरण गठन गर्ने भनिए पनि त्यो प्रक्रिया पनि अन्योलमै छ ।