२०८० पुससम्म नेपालको मुद्रा स्फिति ५.६ प्रतिशत छ। विदेशी विनिमय सञ्चितिले करिब १४ महिनाको आयात धान्न पुग्छ। ३४ महिनापछि गत साउनदेखि चालु खाता पनि बचतमा छ र पुसमा ६४ अर्ब रुपैयाँ बचत छ। शोधनान्तर बचत, मुद्रास्फिति, चालु खाता बचतलाई हेर्दा नेपालको बाह्य क्षेत्र सुदृढ अवस्थामा छ। दक्षिण एसियामै नेपाल दोस्रो धेरै विदेशी मुद्रा सञ्चिति भएको मुलुकमा पर्छ।
नेपालको मौद्रिक र बैंकिङ क्षेत्रका आंकडाहरु राम्रो अवस्थामा छ। निक्षेप विस्तार सकारात्मक भएपनि कर्जा विस्तार अपेक्षित भइरहेको छ। निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतले बढ्ने अनुमान गरिए पनि लक्ष्य हासिल हुने अवस्था छैन। समग्र माग घटेर जाँदा कर्जा माग घट्न पुगेको हो। समग्र माग घट्नुमा एउटै मात्र कारण नभएर विभिन्न कारण छन्।
ञविगतको तुलनामा बैंकको निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दु बढीले घटेको छ। गत वर्ष बैंकहरुमा कर्जाको ब्याजदर १२.८० प्रतिशत रहेकोमा अहिले १.५ प्रतिशत बिन्दुले घटेर ११.३८ प्रतिशतमा खुम्चिएको छ। गत वर्ष बैंकहरुको ब्याजको आधार दर ११.३५ प्रतिशतसम्म पुगेकोमा अहिले औषत ९.३५ प्रतिशतमा सिमित छ।
वित्तीय बजारमा लगानी योग्य रकम (तरलता) अत्यन्तै सहज अवस्थामा छ र ब्याजदर पनि क्रमशः घटिरहेको छ। राष्ट्र बैंकले ब्याजदरमा धेरै उताचढाव नहोस भनेर नयाँ प्रोडक्ट स्ट्यान्डिङ फेसिलिटिको रुपमा फागुन १ गतेदेखि सुरु गरेको छ। यसअन्तर्गत रहेर राष्ट्र बैंकले १ अर्ब रुपैयाँसम्म प्रणालीबाट खिचेको छ। अहिले बैंकहरुसँग करिब ६ खर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमता छ।
समग्र वित्तीय क्षेत्र र बैंकिङ प्रणाली धेरै सुरक्षित छ। पुँजीकोषलाई वित्तीय संस्थाको मुख्य सुचकको रुपमा लिने गरिन्छ। अहिलेको व्यवस्थाअनुसार वाािणज्य बैंकको प्राथमिक पुँजीकोष न्यूनतम ८.५ प्रतिशत हुनुपर्छ। जुन नेपालका हकमा पर्याप्त छ। तर, केही बैंकहरुले प्राथमिक पूँजीमा एक प्रकारको दवाव झेलिरहेकाले कर्जाको पोर्टफोलियोअनुसार पुँजी बढाउनु पर्ने अवस्था छ।
अर्को महत्वपूर्ण सुचकका रुपमा कर्जाको गुणस्तरलाई लिइन्छ। निस्क्रिय कर्जा अनुपात (एनपिएल) साढे ३ प्रतिशत पुगेका आधारमा पछिल्लो समय कर्जाको गुणस्तर केही खस्किएको हो कि भन्ने आशंका गरिएको छ। कर्जाको गुणस्तर खस्किनुको पछाडि समग्र अर्थतन्त्रको सिथिलता र बजारको अवस्था, ऋणीहरुको आम्दानी क्षमतामा ह्रास, ऋण नतिरे पनि हुन्छ भनि बजारमा नचाहिँदो किसिमले सिमित व्यक्तिहरुले चलाएको अव्यवहारिक र असम्भव आश्वासनहरुको हौवाले काम गरेको जस्तो देखिन्छ।
अवाञ्च्छित गतिविधिका कारण ऋणीहरुमा मैले नतिर्दा पनि हुने रहेछ भन्ने मनोभाव विकास भएको छ र यसले प्रत्यक्ष रुपमा कर्जा प्रवाह र असुलीमा असर पुगेको छ। त्यसैको प्रभाव बैंकहरुको कर्जाको गुणस्तर खस्किने र एनपिएल बढ्न गएको छ। यद्यपि बैंकहरु सबल र सुरक्षित छन्, जनताको निक्षेप सरुक्षित छ।
बजारमा देखिएको अराजक गतिविधि नियन्त्रणका लागि प्रधानमन्त्री, अर्थमन्त्री, सचिवज्यूहरुलगायतसँग धेरै चरणमा छलफल गरिरहेका छौं। अहिले देखिएको अराजकतालाई रोक्न सकेनौं भने सोचेअनुसारको कर्जाको माग हुँदैन र ऋण लगानीको अवस्था पनि आउँदैन। यसले बैंकिङ प्रणालीभित्र निकै ठुलो तबरले मनोबल गिराउने काम गरिरहेको छ। कतिपय स्थानमा बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंक बाहिर निस्किना साथ कारवाहीको नाममा विभिन्न अराजक क्रियाकलाप गर्ने कामहरुले वित्तीय क्षेत्र त्रसित भएको छ।
नेपाल वित्तीय क्षेत्रलाई तहसनहस बनाउन राजनीति मिसिएको जस्तो देखिन्छ। बैंकिङलाई छुन सकियो अथवा धरासायी बनाउन सकियो भने आफ्ना अरु किसिमका उदेश्य परिपूर्ति गर्न सजिलो हुन्छ भन्ने हिसावले बैंकमाथी आक्रमण भइरहेको छ। यसले नियामक निकायलाई मात्रै कमजोर बनाउँदैन, सम्पूर्ण वित्तीय प्रणालीलाई तहसनहस बनाउँदा अर्थतन्त्र नै धरापमा पर्छ। त्यसैले अहिले धाराप्रवाह बैंकिङमाथि आक्रमण भइरहेको छ।
गभर्नर अधिकारीले अर्थसमितिमा राखेकाे विचारकाे सारांश