पछिल्लो समय बैंकिङ क्षेत्र शसंकित छ। समग्र अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बैंकिङमा पनि छ। एकातिर बैंकहरुको व्यवसाय विस्तारलाई पुँजी कोषको नियामकीय नीतिले प्रभावित पारेको छ भने अर्कोतिर अहिले बैंकिङ क्षेत्र ‘रेपुटेसन रिक्स’बाट गुज्रिरहेको छ। गत वर्षदेखि नै अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभावमा चालु वर्षको दोस्रो त्रैमाससम्म अधिकांश बैंकको वितरणयोग्य नाफा नकारात्मक भयो। बैंकद्वारा सार्वजनिक वित्तीय विवरण मूल्यांकन गरेर होस् या बैंकहरुकै गतिविधि मूल्यांकन गरेर बजारमा बैंक डुब्दैछ भन्ने चर्चा चुलिएको छ। साथै केही बैंकहरुले कमसल धितोमा कर्जा प्रवाह गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले करिब एक जर्दन बैंकर प्रक्राउ गरेको घटनाले बैंकिङ क्षेत्र थप त्रसित छ। अहिलेको यस्तो संवेदनशील परिस्थितिमा बैंकिङ व्यवसाय कसरी अघि बढाउन सकिएला भन्ने विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका लागि दिलु कार्कीले एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङसँग लिएको अन्तरवार्ताको सम्पादित अंशः
पछिल्लो समय सिआइबीले बैंकद्वारा प्रवाहित कर्जा र धितो मूल्यांकनका विषयमा प्रश्न उठाउँदै बैंकरहरु पक्राउ गर्नु कत्तिको जायज हो? यस्तो प्रवृत्तिले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पर्छ?
अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको पछिल्लो कदमले समग्र बैंकिंङ क्षेत्र आतंकित बनेको छ। यद्यपि कस्तो कसुरको विषयमा उहाँहरुलाई पक्राउ गरिएको भन्ने आधिकारिक धारणा बाहिर आएको छैन। यसरी अनुसन्धानकै क्रममा रहेको विषयलाई प्रचारबाजी गरी कसैको व्यक्तिगत तथा सामाजिक अवस्थामा आंच आउने कुरा पक्कै पनि जायज होइन। यदि कसुर प्रमाणित हुन सकेन भने यसको जिम्मा कसले लिने? तोकिएको नियामकीय प्रावधानभन्दा बाहिर गएर कर्जा प्रवाह गरिएको हो भने अनुसन्धानको विषय हुन सक्ला तर प्रावधानभित्रै रही कर्जा प्रदान गर्दा कर्जा डुब्यो वा धितोले नखामेको भनि असल नियत राखी काम गर्नेलाई हस्ताक्षर गरेकै भरमा थुन्दै जाँदा यसले कस्तो असर पर्ला सजिलै अनुमान गर्न सकिने कुरा हो।
अनि बैंकले धितो राखेर नै कर्जा दिएपछि मूल्यांकनभन्दा बढी दिन मिल्छ त? बिना धितोको कर्जा मोडालिटि त फरक होला नि?
बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सबै कर्जा धितोले खाम्ने हुँदैनन्। कैयौँ कर्जाहरु धितोले नखामे पनि परियोजनाको नगद प्रवाह र आवश्यकता हेरी प्रदान गरिन्छ। यस्तो प्रवृतिले जनमानसको बैंकप्रति हेर्ने दृष्टिकोण कस्तो होला?
बैंकरहरुको मनोबल गिर्न जाँदा कर्जा विस्तारमा संकुचन आयो भने समग्र आर्थिक विकाशमा कस्तो असर पर्ला? यी सबै गम्भीर विषय होइनन र? के यसलाई साधारणरुपमा लिन मिल्लछ त? भन्ने हाम्रो बुझाइ हो।
सोमबार बैकर्स संघले आयोजना गरेको एउटा कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी एउटा बैंक सकाउन अर्को बैंक लागेको आक्षेप लगाउनुभयो। तपाईहरु आफैं एउटाले अर्कोलाई सिध्याउनुपर्ने अवस्था कसरी आयो?
मैले बुझेसम्म गभर्नर साबको आशय बैंकप्रति लक्षित नभइ हाल समाजमा फैलिएको अराजक गतिविधि तथा सो गतिविधि फैलाउने तत्त्वप्रति हो भन्ने लाग्दछ। किनभने एउटै ढुंगामा सवार बैंकर वा संस्थाले अर्को बैंकर वा संस्थाप्रति यस्तो आक्षेप लगाउँछन् भन्ने विश्वास लाग्ने कुरा होइन यदि हुँदो हो त यस्तो कुरा आक्षेप लाग्ने संस्थाले आफै उपस्थित फोरममा उठाउने थियो होला नि। यस्तो कुरा बैकर्स संघमा उठेको छैन। साथै यदि यो कुरा सत्य हुँदो हो त राष्ट्र बैंकले सम्बन्धित बैंकलाई अहिलेसम्म किन सचेत नगराएको? प्रश्न उतै फर्किने कुरा गभर्नर साबको आशय होइन भन्ने मेरो बुझाइ हो।
अहिले जसरी बैंक र बैंकरमाथि सार्वजनिक प्रहार भइरहेको छ। यस्तो परिस्थिति निर्माण हुनुमा बैंक र बैंकरको व्यवहार प्रमुख दोषी भएको ठानेर व्यवहार परिस्कृत गर्ने कि अरुलाई दोषको भारी बोकाएर तपाईंहरु पन्छिने?
लामो समयदेखि बैंक तथा वित्तीय संस्थाप्रति यस्तो चौतर्फी प्रहार भइरहँदा पनि राज्य संवेदनशील नदेखिनु आज सबैभन्दा बढी चिन्ताको विषय हो। दोषी को हो वा होइन भन्ने हेर्ने कसले? राज्यले होइन? बैंकले कस्तो व्यवहार गर्न मिल्छ वा मिल्दैन भन्ने त नियामक निकायले हेरिरहेको होला नि? यो अराजक गतिविधि कुनै बैंक तथा वित्तीय संस्थाप्रति मात्र होइन राज्यप्रति नै लक्षित हो भन्ने कुरा कहिलेसम्म नबुझे जस्तो गरेर बस्ने? मुख्य प्रश्न त्यो हो। यसमा हामीले दोषको भारी कसैलाई बोकाएको होइन सत्यमात्र बोल्न नडराएको हो।
अहिले सतहमा देखिएको आक्रमण संस्था केन्द्रित कि प्रणाली केन्द्रित?
म त संस्था केन्द्रित प्रणाली केन्द्रितभन्दा पनि राज्य केन्द्रित भन्छु। किनभने संस्था केन्द्रित हुँदै सुरु भएको आक्रमण आज कतातिर लक्षित छ? सबैले बुज्ने कुरा हो। किनकि जेजस्ता मागहरु उठेका छन् ती माग पूरा हुने भनेको राज्य संयन्त्र असफल हुँदा मात्र सम्भव छ भन्ने हामी सबैले बुझ्ने कुरा हो। त्यसैले मैले राज्यप्रति नै केन्द्रित छ भनेको हुँ।
राज्य सत्ता सञ्चालन गरिसकेका व्यक्तिहरु नै बैंक, मिटर ब्याजी हुन् भनेर सार्वजनिक टिका टिप्पणी हुने अवस्था कसरी सिर्जना भयो? यस्तो हुनुको मुख्य दोषी बैंकर कि अरु?
हेर्नुस्, राजनैतिक कुरा र गैरराजनैतिक कुरा फरक हुन्। त्यही राजनीतिले बनाएको कानुनभित्र बसेर हामीले कुरा उठाउने हो त्योभन्दा बाहिर जान खोजेको होइन। तर कानुन बनाउनेहरु नै आफूले बनाएको विधि र पद्यति विरुद्ध के बोल्ने वा नबोल्ने हेक्का नहुनु दुख लाग्दो कुरा हो र यसबाट हामीले के सिक्ने, यी सबै राजनैतिक स्वार्थका र आकर्षणका लागि गरिएका कुरा हुन् भन्ने बाहेक अरु केही होइन जस्तो लाग्छ।
विश्वभर प्रशस्तै बैंकहरु डुबेका छन्। बैंकर आफू आफ्नो व्यवहार नसुधार्ने अनि बैंकिङ व्यवसायमा समस्या आयो भनेर एक/दुई ओटा विषयमा चर्चा हुने वित्तिकै आत्तिने अवस्था कसरी आयो? यस्तो परिवेशतर्फ तपाईहरुले ध्यान दिनु पर्दैन?
हो, विश्वभर बैंकहरु विभिन्न कारणले डुबेका छन्। के कारणबाट बैंक डुबे त्यसबाट हामीले पाठ सिक्ने हो र सो अवस्था आउँन नदिन सजकता अपनाउने हो। आजको हाम्रो अवस्था त्यसतर्फ उन्मुख होइन। देशका आर्थिक सूचकहरु अन्य छिमेकी देशहरुको तुलनामा राम्रा छन्। बैंक तथा वित्तीय संस्थाका आर्थिक सूचक पनि राम्रा र पारदर्शी छन्। नेपालका बैंकहरु कुनै पनि हिसाबमा कमजोर नहुन भन्नेमा राष्ट्र बैंक पहिले देखिनै सजक छ। बैंकहरु डुबिन्छ कि भन्ने डरले आत्तिएका होइनन्। अराजक प्रवृतिको कारणले डराएका हुन्।
जटिल परिस्थितिमा अधिकांश बैंकहरुको अवस्था खस्किँदा एभरेष्ट भने अझ सबल छु भन्ने तहमा प्रवेश गरेको चर्चा हुन्छ। वित्तीय सुचक र व्यवसायिक विस्तारको गति कसरी कायम गर्नुभएको छ?
गुणात्मक हिसाबले हाम्रो व्यवसायको आकार भलै सानो होला तर गुणस्तरको हिसाबले हामी राम्रो छौं। हामी व्यवसाय विस्तारमा आक्रामक हिसाबले लाग्दै लाग्दैनौं। यसैले पनि होला विषम परिस्थितिमा पनि हाम्रा सूचकहरु राम्रा छन्।
व्यवसाय विस्तारमात्र यदि लक्ष्य हुँदो हो त गुणस्तर कायम गर्न गाह्रो थियो होला। तर वित्तीय सूचक कमजोर नहुने गरी व्यवसाय विस्तारमा लाग्ने प्रयास गर्दा यी सबै सम्भव भएका हुन् जस्तो लाग्छ। यसमा कुनै जादुमय छडीले राम्रो भएको होइन।
साना निक्षेप (५ लाख रुपैयाँसम्मको निक्षेप) सुरक्षण गरिएको छ। संस्थागत निक्षेपकर्ताले आफ्नो जोखिम मूल्यांकन गरेरै निक्षेप राखेका हुन्छन्। तर, ऋण लगानीमा गरेको बदमासी लुकाउन बैंकरहरु नै बढी बैंक डुब्दैछ भनेर हल्ला गरेको जस्तो लाग्दैन? बैंकहरुले सर्वसाधारण निक्षेपकर्ताको भावनामाथि खेल्न मिल्छ?
नेपालका कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन् र दुब्दैनन् पनि। यो हल्ला हामीले फैलाएको होइन कुन्षिठ मनसाय राखी अस्थिरता फैलाउनेबाटै आएको हल्ला हो यो। साना हुन् वा संस्थागत निक्षेपकर्ता सबै बैंकको लागि उत्तिकै महत्त्वपूर्ण छन्, सुरक्षण नहुँदैमा क्षमता कमजोर आकलन गर्नु गलत हो। बैंकका सबै विषय पारदर्शी हुन्छन् केही पनि लुकाउने छिपाउने भन्ने नै हुँदैन अनि केको बदमाशी लुकाउन हल्ला गर्ने। हो, संस्थागत निक्षेपकर्ता साना निक्षेपकर्ताको तुलनामा बढी मुल्याकन गर्न सक्ने हुन्छन् तर संवेदनशील त सबैको लागि साना निक्षेपकर्ता नै हुन्। त्यसैले पनि अनाहकमा कोही कसैप्रति निराधार हल्ला फैलाउनु हुँदैन।
एभरेष्ट जस्तो प्रुडेन्ट बैंकलाई पनि राष्ट्र बैंकले अतिरिक्त ४.९० प्रतिशत प्रोभिजन गराएको रहेछ, कहाँ चुक्नुभयो?
हामी नियामक निकायबाट जारी निर्देशनको पालनको हिसाबले सधै अग्रस्थानमा छौं। यो यहाँले मात्र भनेको होइन सबैले भनेको हो। बैंकहरुले प्रकाशित गर्ने अपरिस्कृत वित्तीय विवरणमा बाह्य लेखापरिक्षकले निरक्षणको क्रममा बैंकहरुले कायम गरेको कर्जाको गुणस्तर विश्लेषण गरी प्रोभिजन थपघट गर्न सक्दछ। यसै विषयमा नियामक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निरीक्षणकै क्रममा हामीले गरेको प्रोभिजनमा पनि सामान्य थप गर्न सुझाएको मात्र हो जुन प्रतिशतको हिसाबले ४.९ प्रतिशत भए पनि खुद रकमका हिसाबले नगन्य मात्र हो। कतिपय ठाउँमा हामीले गरेको प्रोभिज असुली पश्चात घटेको पनि छ। त्यसैले यति सानो रकमको विषयमा सुझाउनु भनेकै पु्रडेन्ट भएर होइन र? यसमा चुक्ने चुकाउने भन्ने प्रश्नै हुँदैन।
प्राथमिक पुँजीको दबाबमा अधिकांश बैंकहरु छन्, यसले गर्दा नयाँ व्यवसाय विस्तारमा ब्रेक लागेको छ। पुँजीकोष बढाएर व्यवसायिक सहजता अपनाउन एभरेष्टले कसरी काम गरेको छ?
हालको मात्र अवस्थालाई यदि हर्ने हो भने व्यवसायिक लक्ष्य प्राप्त गर्न हामीलाई पुँजीको दबाब छैन र पुँजीको कारणले व्यवसाय विस्तारमा ब्रेक लागेको छैन। तर पनि बैंकहरु देशको वर्तमान आर्थिक स्थिति तथा नियामक निकायले नै समय समयमा तोकिदिए अनुरुप पुँजी कायम गरीमात्र अगाडी बढ्न सक्छन्। त्यसैले बैंकहरु आफ्नो आन्तरिक आवश्यकता (इन्ट्रनल एप्पिटाइट) अनुसारको रणनीति बनाई अगाडी बढ्ने हो हामी पनि सोहीअनुसार अगाडी बढिरहेका छौं। दोस्रो त्रैमाससम्म आइपुग्दा प्राथमिक पुँजी र जोखिम भारित सम्पत्तिको अनुपात १०.६१ प्रतिशत पुगेको छ। एभरेष्टको यो अनुपात बैंकिङ क्षेत्रको औषत जोखिम भारित सम्पत्तिको अनुपातभन्दा बढी हो। यसो भन्दैमा ढुक्क रहने भन्ने चाँही होइन र हामी तुलनात्मक रुपमा कम जोखिमभार हुने व्यवसायिक क्षेत्रमा ध्यान दिइरहेका छौं। साथसाथै कुन प्रकारको क्यापिटल प्लानमा जाने भन्ने विषयमा छलफलमै छौं।
अग्राधिकार सेयर जारी गर्ने पहिलो बैंकका रुपमा परिचित एभरेष्टले फेरि अग्राधिकार सेयर ल्याउने तयारी गरेको हो? अग्राधिकार सेयरको सबल र दुर्बल पक्ष के रहेछ?
पुँजी विस्तारको योजनाबिना कुनै पनि व्यवसाय वृद्धिको योजना अधुरो रहन्छ। त्यसैले पनि पनि बैंकहरुलाई स्रोत र उपयोगको बिषयमा समय समयमा योजना बनाई कार्य गर्नुपर्ने हुन्छ। हामी पनि पुँजी विस्तार गर्ने सोचमा छौं तर के र कुन प्रकारको क्यापिटल इन्स्टुमेन्टमा जाने भन्ने एकीन भइसकेको छैन। हो, हामीहरु अग्राधिकार सेयर जारी गर्ने पहिलो बैंकको रुपमा परिचित छौ उक्त समयमा त्यो बैंकको लागि उपयोगी सिद्ध पनि भयो तर हाम्रासामू अन्य विकल्पहरु पनि छन् र हामी त्यसैको तयारीमा छौ। यसमा सबल अथवा दुर्बल पक्षभन्दा पनि कुन समयमा कस्तो किसिमको उपकरण उपयुक्त हुन्छ भन्ने कुराले महत्त्व राख्दछ।
व्यावसायिक वृद्धिमा एभरेष्ट जहिल्यै मध्यम वर्गमा पर्छ। त्यसको असर नाफामा पनि देखिन्छ। एभरेष्ट नम्बर एक बैंक बन्ने सपना बुन्नु भएको छैन?
निश्चित रुपमा व्यवसाय वृद्धि सम्बन्धि सबैका आआफ्ना लक्ष्य हुन्छन्। हाम्रो पनि आफ्नै खालको मौलिक लक्ष्य छ र सोको प्राप्तिको दिशामा अगाडी बढ्दै छौं। यसमा हामीलाई सम्पूर्ण स्टेक होल्डरको साथ सहयोग र विश्वास छ। हामी सुरु देखि नै आक्रामक रुपमा व्यवसाय विस्तार हुनु पर्दछ भन्ने विषयको पछि मात्र नलागि व्यवसाय विस्तार दिगो राख्नु पर्दछ भन्ने मान्यता राख्ने बैंकहरुमध्ये पर्छौं। त्यसैले पनि यहाँले मध्यम वर्गमा पर्छ भन्नु भाको होला तर वर्ग निर्धारण केको आधारमा गरिएको भन्ने स्पष्ट नभएसम्म केही भन्न सकिने कुरा हुँदैन। जहाँसम्म नम्बर वान बन्ने भन्ने कुरा छ, केमा नम्बर वान ? व्यवसायको आकारको हिसाबमा ? वा प्रतिफलको हिसाब वा गुणस्तरको हिसाबमा ? हामी यस्ता धेरै कुरामा नम्बर वान नै छौं। तर पनि हामी नम्बर वान हुने दौड मा छैनौं। हामी हाम्रो मान्यताअनुसार दिगो दरिलो र विश्वासिलो बैंकको रुपमा स्थापित गर्ने लक्षमा दृढ छौं।