२०८० मंसिर २१ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८५२.७७ अंक माथि थियो। मंसिर २२ गते नेपाल राष्ट्र कैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भयो। पहिलो समीक्षाले नीतिगत दर र सेयर धितो कर्जाको जोखिम भार घटाउनेलगायत केही कठोर नीतिहरु खुकुलो बनाएपछि नेप्से निरन्तरजस्तो बढेर माघ ३ गते २२१५ बिन्दुसम्म पुगेर २१६३ अंकमा रोकियो। त्यसबेला सेयर बजारमा सकारात्मक ‘भाइभ्स’ आएकाले लगानीकर्ताहरु बजार बढ्नेमा विश्वस्त थिए र मौद्रिक नीतिको मध्यावधि समीक्षाको पर्खाइमा थिए।
मौद्रिक नीतिको मध्यावधि समीक्षापछि अझ नीतिहरु खुकुलो हुने र त्यसले ललगानीकर्ताको आत्मविश्वास जागृत हुने अपेक्षा गरिएको थियो। नीतिगत दर घट्ने र त्यसले ब्याजदर घटाउन थप मद्दत गर्ने, सेयर धितो ऋणको भार अझै घट्ने र सेयर धितो रकमको सीमा खुला हुने अपेक्षामा लगानीकर्ता थिए। तर, जब माघ २९ गते मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा आयो तब लगानीकर्ता निराश देखिए किनभने अर्धवार्षिक समीक्षाले लगानीकर्ताको कुनै पनि विषयमा बोलेन।
गभर्नर महाप्रसाद अधिकारीको एक–दुई वर्ष सेयरधनीहरु बैंक जोगाउन लाग्नुस लाभांसको अपेक्षा नगर्नुस भनिदिएका अभिव्यक्ति, बैंक अनियमिततामा बैंकर पक्राउ, मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छूटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासोजस्ता कारणले सेयर बजार थप अन्यौलग्रस्त बनेको छ।
अर्धवार्षिक समीक्षापछि घट्न थालेको सेयर बजार सूचक बिचबिचमा बढ्ने कोसिस गरे पनि निरन्तर साइडवेजमा गयो र फागुन १७ गते बिहीबार १९७२.०९ बिन्दुमा झरेको छ। यसबीचमा सूचकमात्रै झरेको छैन, कारोबार रकम पनि खुम्चिँदो छ। नेप्से २२०० पुग्दा ९ अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम अहिले खुम्चिएर कतिपय दिन २ अर्बभन्दा कम छ।
मैद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि निरास लगानीकर्ता वित्तीय बजारमा पछिल्ला दिनमा घटेका घट्नाक्रमबाट झनै त्रासमा छन्। पछिल्लो समय बैंकहरु डुब्छन् भनेर चलाइएको हल्ला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु सार्वजनिक मञ्चमा बसेर आगामी वर्ष झनै लाभांस दिन नसकिने भनिदिएका अभिव्यक्ति, गभर्नर महाप्रसाद अधिकारीको एक–दुई वर्ष सेयरधनीहरु बैंक जोगाउन लाग्नुस लाभांसको अपेक्षा नगर्नुस भनिदिएका अभिव्यक्ति, बैंक अनियमिततामा बैंकर पक्राउ, मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छूटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासोजस्ता कारणले सेयर बजार थप अन्यौलग्रस्त बनेको छ।
फागुन १५ गते तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओ (हाल प्रभु बैंकका डिसिइओ) मनोज न्यौपानेसहित करिब दर्जन व्यक्तिलाई ऋण प्रवाहमा अनियमितता गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि सेयर बजार थप झरेको छ।
सेयर लगानीकर्ता छोटेलाल रौनियार पछिल्लो सयम बैंकका केही सिइओहरु परिवेश नसुध्रिए अर्को वर्ष पनि लाभांस दिन नसकिने र गभर्नरले बैंक बचाउनुस् लाभांसको अपेक्षा नगर्नुस् भनि सार्वजनिक मञ्चबाट बोल्दै हिँड्दा लगानीकर्ताको आत्मबल कमजोर भएको ठान्छन्। ‘अर्को वर्षको रणनीतिका विषयमा नियामक र संस्था चलाउनेहरु अहिले नै बोलेर हिँड्दा लगानीकर्ताको मनोबल गिरेको छ’ रौनियार भन्छन्, ‘कहिले बैंक डुब्यो भन्या छ, कहिले बैंकर पक्राउ भन्या छ, कहिले बैंक चलाउनेहरु नै पेन डाउन गर्छौं भन्दै हिड्दाको असर पुँजी बजारमा परेको छ।’
त्यतिमात्रै होइन धितोपत्र दलाल व्यवसायीको कमिसन घटाउने विषय, एसएमइप्लेट फर्म, नेप्से ३० जस्ता सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने कुनै पनि विषय कार्यान्वयनमा जान सकेको छैन। त्यतिमात्र होइन पछिल्लो समय जनस्तरलाई लागेको घरजग्गाको सीमा बैंक तथा वित्तीय संस्थालाई पनि लागू हुने आशय बाहिर आइरहेको छ। ‘राष्ट्र बैंक र बैंकसँग १८ खर्ब अर्थात् नेपालको वार्षिक बजेटभन्दा बढी रकम वित्तीय प्रणालीमा छ। तर, ऋणीहरु ऋण लिने चाहेमा महँगो ब्याज तिर्नुपर्ने बाध्यतामा भएकाले ऋण लिन चाहेका छैनन्,’ रौनियार भन्छन्, ‘राष्ट्र बैंकको नीति दिगो हुन सकेन। अर्थमन्त्री र प्रधानमन्त्रीबीच जुहारी चलेको छ। नियामक निकायबीच समन्वय छैन। लगानीकर्ता झन् भन्यो झन् निरास भएका छन्।’
तरलता (लिक्वीडीटी) सहज हुँदा सेयर बजार बढ्छ भन्ने यसअघिका दृष्टान्तहरु पनि यसपटक लागू भएका छैनन्। ऋणको ब्याजदर एकल अंकमा आउँछ भनेको पनि लामो समय भइसक्यो तर, ब्याज दर घट्ला भन्दा झन् बढ्ने पो हो कि भन्ने लगानीकर्तामा चिन्ता छ। पुँजी कोषको कठिनताका कारण बैंकहरु थप लगानी बढाउन सक्ने अवस्थामा छैनन्। यसले गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण असुलीका क्रममा धितोको रुपमा प्रयोग भएको घरजग्गा आफ्नो नाममा ल्याउन नपाएको र निस्क्रिय सम्पत्तिको रुपमा बैंकको नाममा भएको घरजग्गा बिक्री गर्न पनि नपाउने अवस्था सिर्जना भएको छ। यसले वित्तीय क्षेत्रको आम्दानीमा गम्भीर धक्का लाग्ने मात्र होइन ऋण असुली नै प्रभावित हुने अवस्था छ।
लगानीकर्ता देब गुरागाईं पुँजीकरणको हिसाबले सबैभन्दा ठूलो हिस्सा भएको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिले सेयर बजारलाई नराम्रो असर पुर्याएको ठान्छन्। ‘पछिल्लो पटक बैंकले ऋण प्रवाह गर्दाका विषय सतहमाआएका छन्। बैंकरहरु पक्राउ परेका छन्,’ गुरागाईं भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाका सूचक बलिया छैनन्, वितरणयोग्य नाफा घट्दै गएको छ। निस्क्रिय कर्जा (एनपिएल) र निस्क्रिय सम्पत्ति (एनबिए) बढेको छ, निस्क्रिय कर्जाको हिस्सा बढ्दै जाँदा वित्तीय संस्था आफै कमजोर हुँदै गएको असर सेयर बजारमा देखिएको छ।’ गुरागाईंका अनुसार बजार घट्ने क्रम कति समय चल्छ भन्ने आँकलन गर्न नसकिने अवस्था भए पनि धेरै लामो समय यस्तै अवस्थामा रहने छैन।
लगानीकर्तालाई ठेस पुर्याएका १२ कारण
- मौद्रिक नीतिको मध्यावधि समिक्षाले लगानीकर्ताको माग सम्बोधन नगरेको
- बैंक तथा वित्तीय संस्था डुब्ने हल्ला र ऋण तिर्नुपर्दैन भन्दै उत्श्रृङ्खल गतिविधि गर्ने समूह खुलेआम हिँडिरहेको अवस्था
- बैंकरहरु पक्राउ र पेन डाउनसम्म गर्नुपर्ने अवस्था आउने बैंकरहरुको उद्घोष
- पुँजीकोष दबाबले बैंकहरु ऋण लगानी गर्न नसक्ने अवस्था
- एक–दुई वर्ष सेयरधनीहरु बैंक जोगाउन लाग्नुस् लाभांसको अपेक्षा नगर्नुस् भनि गभर्नर दिएका सार्वजनिक अभिव्यक्ति
- अर्को वर्ष लाभांस दिन नसकिने बैंक तथा वित्तीय संस्थाका सिइओहरुहरुको सार्वजनिक अभिव्यक्ति
- ब्रोकर कमिसन, एसएमइ प्लेटफर्म र नेप्से ३० मा सरकारी मौनता
- बैंक तथा वित्तीय संस्थाको बढ्दो निस्क्रिय कर्जा र निस्क्रिय सम्पत्ति
- ब्याजदर एकल अंकमा आउने अपेक्षा गर्दागर्दै बढ्ने पो हो कि भन्ने चिन्ता
- प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच जुहारी
- मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छुटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासो
- धितोको रुपमा प्रयोग भएको घरजग्गा बैंक तथा वित्तीय संस्थालाई सकार्न र विक्री गर्न पर्दै गएको अप्ठ्यारो