काठमाडौं। नेपाल र बंगलादेशको व्यापारिक घराना सिजी र रनर ग्रुपले बंगलादेशमा बिवाइडीको सिल भित्र्याएका छन्। डायनामिक र इन्टेलिजेन्स सेडानको रुपमा रहेको बिवाइडी सिललाई बंगलादेशमा भव्य इभेन्टमा सार्वजनिक गरिएको हो।
बिवाइडी बंगलादेशका लागि सिजी रनर आधिकारिक बिक्रेता हो। कम्पनीले बंगलादेशमा सिलको प्रिमियम र पर्फमेन्स दुई भेरियन्ट सार्वजनिक गरेको हो। कम्पनीले ढाकाको तेजगाउँमा सोरुमसमेत सञ्चालनमा ल्याएको छ।
कार्यक्रममा रनर ग्रुपका अध्यक्ष हफिजुर रहमान खानले बंगलादेशमा बिवाइडी सार्वजनिक गर्न पाउँदा हर्षित भएको बताए। ‘हामी २०४१ सम्म स्मार्ट बंगलादेशको अभियानमा छौं, यसले यो अभियानलाई पनि सहयोग पुग्छ,’ उनले भने। २०३० मा इभी प्रयोगको व्यापकता बढ्ने र यसले इभीमैत्री सहर र देश हुने उनले बताए। ‘यसअघि नै हामी अटोमोबाइलमा छौं, हामी दुई र चारपांग्रेमा पायोनियर छौं। सिजी रनर मिलेर बिवाइडी बंगलादेशमा ल्याएको छ। यसले बंगलादेशमा नयाँ आयाम थप्छ,’ उनले भने।
सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी विश्वका ३० देशमा फैलिएको बताउँदै सिजी सार्कको सानो मुलुकबाट विश्वव्यापी बनिरहेको बताए। सिजी परिवारका लागि बंगलादेश दोस्रो घर भएको र पहिला नै कम्पनीको एफएमसीजी उद्योग रहेको बताउँदै अहिले उनले रनर ग्रुपसँग मिलेर विश्वको ठूलो र नम्बर एक बिवाइडी गाडीका लागि साझेदार भएको उनले जानकारी दिए। ‘नेपालमा इभीका लागि धेरै नीतिगत प्रक्रियामा प्रगति गरिरहेको छ। कोप २८ मा जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता गरेका कारण पनि नेपाल यसमा अगाडि बढेको छ’, उनले भने। बंगलादेशमा पनि इभीमैत्री काम अगाडि बढिरहेको उनको भनाइ छ।
बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर झाङ जीले विश्वको नम्बर वान ब्रान्ड बिवाइडी टेक्नोलोजी र इन्नोभेसनको मिश्रण भएको बताए। ‘संसारका ६ महादेशका ७० देशको ४ सय सहरमा बिवाइडीको उपस्थिति रहेको छ। यसले संसारभरको अटो पारखीको मन जितेको छ’, उनले भने।
बिवाइडी सिलमा सार्प हेडल्याम्प क्लस्टर, स्मार्ट डोर ह्यान्डल, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, फर्वार्ड डिपिङ बनोट, स्पोर्टी अलोय ह्वील, सर्ट ओभर ह्यांग्स, बुमराङ आकारको एलईडी डीआरएल लाइटलगायत फिचर्स छन्।
१०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोडका अप्सन, त्यस्तै १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको विथ एचयूडी, फ्ल्याट–बटम स्टेरिङ ह्वील, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स यसमा पाउन सकिन्छ। सिल डायनामिक र इन्टेलिजेन्ट सेडान भएकाले उच्च प्रविधि सुविधासहित आकर्षक र बाहिरी बनावटलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ।
सिलमा ४०२ लिटरको ठूलो स्पेस र सामान राख्न ५३ लिटरको फ्रंक सुविधा छ। बिवाइडी सिलमा ८.१ इन्चको पावरट्रेन जडान गरिएको छ भने इको, नर्मल, स्पोर्ट र स्नो गरी चार ड्राइभिङ संकेत राखिएकाले ड्राइभिङको समय मौसम र विभिन्न स्थितिको जानकारी लिन सकिने कम्पनीले जनाएको छ। बिवाइडी सिलको अगाडिका सिटमा भेन्टिलेसन, तताउने फंग्सन, पछाडिका सिटमा आरामका लागि डिजाइन गरिएका कोण, उचित सुरक्षा र उत्कृष्ट ध्वनि, तातो र इन्सुलेसनका लागि गाडी अगाडिको ढोका लेमिनेटेड गिलासले डबल सुरक्षा दिइएको कम्पनीले बताएको छ।