काठमाडौं। टाटाको टिगोर इभी र एक्सप्रेस टी एउटै वर्गको सेडान गाडी हो। टाटाले निजी प्रयोजनका लागि टिगोर र ट्याक्सी प्रयोजनका लागि एक्स प्रेस टी उत्पादन गरेको हो।
नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यी दुवै गाडी बिक्री वितरण गरिरहेको छ। नेपालमा २० वर्ष पुरानो ट्याक्सी सट्टाभर्ना गर्दा अनिवार्य विद्युतीय गाडी हुनुपर्ने भएपछि अहिले काठमाडौंका सडकमा बग्रेल्ती एक्सप्रेस टी देखिन थालेका छन्।
सरकारले बनाएको ट्याक्सी मापदण्ड (स्फेसिफिकेसन)अनुसारकै फिचर्स रहेकाले अहिले ट्याक्सी सेग्मेन्टमा एक्सप्रेस टीको वर्चस्व बढ्ता छ।
हाल नेपालमा एक्सप्रेस टीको मूल्य ३६ लाख ९९ हजार पर्छ भने टिगोरको ३५ लाख ९९ हजार रुपैयाँ पर्छ। अहिले ट्याक्सीको स्पेसिफिकेसन एक्सप्रेस टीसँग मात्र मिल्ने भएकाले कम्पनीले मूल्य महँगो बनाएको ट्याक्सी व्यवसायीको गुनासो छ।
आयातकर्ता सिप्रदी ट्रेडिङले भने सहुलियत मूल्यमै ट्याक्सी बेचिरहेको दाबी गरेको छ। एक्सप्रेस टी भारतमै महँगो भएकाले नेपालमा पनि बढी मूल्य पर्ने सिप्रदी ट्रेडिङका महाप्रबन्धक सावन्त सिजापति बताउँछन्।
‘भारतमा टिगोरको १३ लाख ५० हजार र एक्सप्रेस टीको १५ लाख ५० हजार छ। हामीले ल्याउँदै एक्सप्रेस टी महँगो भएकाले नेपालमा पनि महँगो परेको हो,’ उनले भने। त्यस्तै, ट्याक्सीलाई दिइने सेवा सुविधाका कारण पनि महँगो परेको उनले बताए।
‘ट्याक्सीमा हामीले एक वर्षको बिमा, १ वर्षको निःशुल्क सर्भिसिङ, मिटरलगायत विभिन्न एसेसरिज दिन्छौं। त्यो सुविधा टिगोरलाई हुँदैन,’ उनले भने। कम्पनीले कमर्सियल सेग्मेन्टमा टाटाले विद्युतीय ट्याक्सीका लागि उपयुक्त सेडान कार एक्सप्रेस टी नेपाल ल्याएको हो।
सरकारले विद्युतीय ट्याक्सी चलाउने योजना अनुसार आवश्यक ऐन निर्माण गरेसँगै टाटाले एक्सप्रेस टी मोडल नेपाल ल्याउने आन्तरिक तयारी सुरु गरेको थियो। सोहीअनुसार सिप्रदीले छुट्टै सोरुमदेखि सर्भिस नेटवर्क तयार पारेको सिप्रदीका महाप्रबन्धक सिजापतिको भनाइ छ।
टाटाले ट्याक्सीको रुपमा ल्याएको एक्सप्रेस टीमा ४९ किलोवाट क्षमताको मोटर र २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको छ। यसले १७० एनएम टर्क उत्पादन गर्छ। अटोमोटीभ नियामक संस्था एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३०६ किलोमिटर रेन्ज प्रदान गर्छ। ५ सिटे क्षमताको ट्याक्सीमा यात्रुले आरामदायी यात्रा गर्न सक्छन्।
एसी र डिसी दुवै चार्ज सपोर्ट गर्ने एक्सप्रेस टीलाई १५ एम्पायरको चार्जिङ पोर्टबाट करिब ९ घन्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने सिजापति बताउँछन्। इभी ट्याक्सीमा ह्वील एसिस्ट सिस्टमसँगै थप आकर्षक फिचर समावेश गरिएकाले नेपालमा रोजाइमा पर्दै गएको उनको बुझाइ छ।
कम्पनीले एक वर्षे इन्स्योरेन्स, १ वर्षका लागि रोड ट्याक्स निःशुल्क, गाडीको मूल्यमै ३ वर्षसम्मका लागि आवश्यक सर्भिसलगायत सेवा दिँदा पनि बिक्री संख्या बढिरहेको उनले बताए।