नुवाकोट। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासले गति लिन सुरु गरेको बताएका छन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्ज्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न सुरु भएको बताएका हुन्।
उनले भने, ‘सबैको पालो आउँछ। अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ। यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौं। हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ। नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं।’
विगतमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना संक्रमणलगायत कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह सुरु गरेको उनको भनाइ थियो।
‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ। राजस्व करिब १० प्रतिशतले वृद्धि भएको छ। पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटक आगमन अझ बढ्नेछ,’ मन्त्री महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पुर्याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ। उत्पादन र रोजगारी बढेपछि राजस्व बढ्छ। राजस्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ। बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ।’
देशको अर्थतन्त्र सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गराउन केन्द्रित रहने महतले जानकारी दिए।
‘सम्पत्ति त क्षति हुन सक्छ तर पढेको कुरा कसैले खोस्न सक्दैन। सीप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ। रोजगारी प्राप्त गर्न सकिन्छ। त्यसकारण पढाइलाई प्राथमिकता राख्न अभिभावकसँग अनुरोध गर्छु,’ अर्थमन्त्री महतले भने।
बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री महतले अभिभावकलाई आग्रह गरे। उनले स्कुलमा मिहिनेत गरेर पढाइ दिन शिक्षकलाई आग्रह गर्दै महतले भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ। इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन्। शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष्य हुनुपर्छ।’
आगामी बैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गरिने उनले बताए। ‘असारमा हुने विश्व बैंकको ठूलो सम्मेलन पनि नेपालमै आयोजना गर्न लागेका छौं। देश सकारात्मकतर्फ अघि बढेको छ। केही हुन्छ भन्ने भावनालाई जनताको बीच लैजानुपर्छ। भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ,’ उनले भने।
बेलकोट भञ्ज्याङ माविको स्वर्ण जयन्ती अवसरमा उनले विद्यालयको लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँ विकासका लागि सडकसहितको पूर्वाधार विकासमा मागअनुसार प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए।