काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्डलाई ६ विकेटले हराएको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डलाई नेपालले १२० रनमा अल आउट गरेको हो। नेदरल्यान्डले दिएको १२१ रनको लक्ष्य नेपालले १५.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
जितसँगै नेपालले सिरिजको फाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ। नेपाल र नेदरल्यान्डको समान ४÷४ अंक भएको छ।
आइतबार हुने खेलमा नेदरल्यान्डले नामिबियालाई हराउन सके नेपाल फाइनल पुग्नेछ। नेदरल्यान्ड पराजित भए रन रेटका आधारमा फाइनल खेल्ने टिमको टुंगो लाग्नेछ।
आजको नेदरल्यान्डविरुद्धको खेलमा नेपालका लागि कुशल मल्ल २ र दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर नट आउट भए। त्यसअघि कप्तान रोहित पौडेलले ४६ रनको योगदान गरे।
१४.३ ओभरमा भिभियन किंग्माबाट आउट हुनुअघि उनले ३४ बलमा ३ चौका र एक छक्का प्रहार गरे। आर्यन दत्तबाट बोल्ड हुनुअघि गुल्सन झाले ३८ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।
यसअघि ओपनर कुशल भूर्तेल र आशिफ शेख तेस्रो ओभरमा आउट भएका थिए। ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका भिभियन किंग्माले भान देर गंग्टेनबाट क्याच आउट गराए। किंग्माले पाँचौं बलमा आशिफलाई बोल्ड गरेका थिए।
८ बल खेलेका कुशलले १ चौका र १ छक्का प्रहार गरी १२ रन बनाउँदा ८ बल खेलेका आशिफले १ चौका प्रहार गरी ८ रन जोडेका थिए।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो।