लमजुङ। पहाडी र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ।
सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासों गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ देखि आइतबार बिहान १० बजेसम्म सडक बन्द हुने भएको हो।
सडकको ढलान भत्किएर जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्म यातायात पूर्ण रुपमा ठप्प हुने जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गरेर बताएको छ।
डुम्रे–बेंसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुंगा निस्किएकाले मर्मत गर्न लागिएको जानकारी दिए।
सवारी साधन सञ्चालनमा धेरै समस्या हुन थालेपछि उक्त ठाउँमा सामान्य मर्मत हुने भए पनि वैकल्पिक सडक नहुँदा सडकै बन्द गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले दानाक्युमा सडक जीर्ण हुँदा दुर्घटना जोखिम धेरै रहेको जानकारी दिए। उनले विशेषगरी पालिकाका नागरिक र मनाङबासीलाई सो सडकका कारण धेरै दुःख भइरहे पनि समाधान हुन नसकेको बताए।
उक्त स्थानमा रहेको काठेपुल २०७७ असारमा आएको बाढीले बगाएपछि पुनः पटक–पटक राखिए पनि जोखिम हुँदै आएपछि २०७८ फागुनदेखि चैत ५ सम्म बेंसीसहर–चामे सडक बन्द गरेर कल्भर्ट राखिएको थियो।
यतिबेला उक्त कल्भर्ट राखिएको वरिपरि तथा ढलान गरिएको भागमा ढुंगा खसेर भत्किनुका साथै सडक जीर्ण भएको डुम्रे–बेंसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।
मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेंसीसहर चामे सडक निर्माण अघि बढाएको थियो।
नेपाली सेनाले २०६९ मा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो। उक्त सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ।–रासस