काठमाडौं। ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रकसिद्धि प्रालिले आयोजना गरेको ‘एक्स्पो नेपाल २०२४’ उद्घाटन भएको छ।
कार्यक्रममा प्रमुख अतिथि ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गरे। उनले दूतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम ल्याउने बताए।
नेपाली दूतावासको निमन्त्रणामा विभिन्न २० बढी देशका राजदूत सहभागी कार्यक्रममा स्वागत गर्दै ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल र ब्राजिलको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धबारे चर्चा गरेका थिए। उनले एक्स्पो नेपाल २०२४ ले ब्राजिलियनलाई नेपालसँग जोड्न सहज हुने बताए।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले ब्राजिलमा रहेको दूतावासको सक्रियतामा आयोजना भएको एस्पोले ब्राजिलियनलाई नेपाल घुम्नैपर्ने देश हो भनेर प्रचार गर्ने र दूरीको हिसाबले नेपाल टाढा भए पनि ब्राजिलजस्तो ठूलो अर्थतन्त्र भएको देशलाई नेपालमा जोड्न दूतावाले गरेको प्रयास सकारात्मक रहेको धारणा व्यक्त गरे।
त्यसैगरी नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशीले ब्राजिलियनलाई भौगोलिक र प्राकृतिक हिसाबले समेत मिल्दोजुल्दो नेपालमा निर्धक्क भएर घुम्न र लगानी गर्न आग्रह गरे।
नेपालका विविध क्षेत्रबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको ‘एक्सो नेपाल २०२४’ मा नेपाली व्यवसायीका २२ स्टल सहभागी छन्।
स्टलमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेज, नेपाली खानाका परिकार, नेपाली गलैंचा, नेपाली कला–संस्कृति झल्काउने काठका सामग्री प्रदर्शनीमा राखिएको छ।
कार्यक्रममा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो, ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको संघीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघ अध्यक्षलगायत उपस्थित थिए।