सोच, आइडिया र योजना कुनै पनि व्यवसायको पहिलो आधार हो। विश्वमा स्थापित उद्यम तथा व्यवसाय कोही न कोही व्यक्तिको परिकल्पना र आइडियाबाट विकसित भएर आएका हुन्। मानिसले बनाएको व्यावसायिक सोच नै भोलिका दिनमा सफल व्यवसायका रुपमा स्थापित हुन्छन्।
उद्यमको विकास र विस्तारका लागि मानिसमा नयाँ–नयाँ किसिमका व्यावसायिक सोचको विकास हुनु र त्यस्ता सोचले प्रोत्साहन पाउनु जरुरी हुन्छ। क्यापिटल नेपालले विभिन्न नयाँ व्यावसायिक तथा उद्यमी सोच, सिर्जनात्मक आइडिया, रोजगारी सिर्जना हुन सक्ने र स्रोत–साधन उपयोग हुँदै मुलुकलाई आर्थिक रुपमा टेवा पुर्याउने योजना र त्यस्ता पेसालाई प्रोत्साहन गर्दै आएको छ।
यही मेसोमा हामीले विद्यार्थीत्रय आयुसी सिंह, पूजा जोशी र गणेश आचार्यको व्यावसायिक आइडिया ‘उपन्हा’लाई समेटेका छौं। ‘उपन्हा’ आयुसी, पूजा र गणेश तीन जनाको व्यावसायिक आइडिया हो। यो महिलाले लगाउने उपयुक्त किसिमका जुत्ता, हिल तथा फ्ल्याट निर्माण सम्बद्ध छ।
दैनिक जीवनमा लगाइने जुत्ता तथा हिलले पारेको समस्या समाधान गर्ने उद्देश्यसहित उनीहरुले परिवर्तनीय हिल उत्पादन गर्ने योजना बनाएका छन्। नमुनाको रुपमा यस्ता सामग्री बनाइसकेका उनीहरुले एउटै स्यान्डलमा फ्ल्याट र हिल दुवै पालैपालो परिवर्तन गरेर लगाउन सक्ने किसिमको छ।
आयुसी, पूजा र गणेश शंखरदेव क्याम्पसमा बिबिए सातौं सेमेस्टरमा अध्ययनरत छन्। अहिलेको नेपाली बजार मागलाई अध्ययन गर्दै सोहीअनुसारको महिलालक्षित जुत्ता, हिल, फ्ल्याट उत्पादन गर्ने योजना उनीहरुको छ।
उपन्हाले हाल १६ देखि ४०–४५ उमेरका महिलालाई आफ्नो प्रमुख ग्राहक बनाउने उद्देश्य राखेर काम गरिरहेको छ। बढी मात्रामा यही उमेर समूहका मानिसले यस्ता परिवर्तीय हिल तथा जुत्ता प्रयोग गर्ने भएकाले केही संख्या उत्पादन गरेर बजारमा पठाउने योजना उपन्हाको छ। त्यसपछि बजार प्रतिक्रियाअनुसार थप योजना बनाउने सोचमा उनीहरु छन्।
पछिल्लो समय फरक–फरक किसिम र नयाँ डिजाइनका जुत्ता तथा हिल लगाउने प्रचलन बढ्दो छ। जुत्ता, चप्पल तथा हिल उत्पादनमा प्रयोग भएका नयाँ–नयाँ प्रविधिले पनि यो उद्योगमा रौनक ल्याएको छ।
हुन त, नेपाली बजारमा धेरै थरीका हिल उत्पादन हुने गर्छन्। नयाँ ब्रान्डका उत्पादन भए पनि परिवर्तनीय हिल भने हालसम्म उत्पादन भएको पाइँदैन। अन्तर्राष्ट्रिय बजारमा परिवर्तनीय हिल उत्पादन हुने गरे पनि नेपाली ग्राहकले उपभोग गर्न पाएको अवस्था छैन। यसर्थ, नेपालमा यस्ता किसिमका जुत्ताले बजार पाउने सम्भावना बढ्ता छ।
‘नेपाली बजारमा अहिलेसम्म परिवर्तनीय हिल आएको छैन। कि फ्ल्याटै छ, कि त हिल आएको छ। हामी कतै जाँदा एउटा हिल लगाएर र अर्को झोलामा बोकेर हिँड्नुपर्ने बाध्यता छ,’ उपन्हाकी आयुसी भनिन्, ‘यसरी दुईटा बोक्नुभन्दा एउटैबाट दुवैको सुविधा लिन सक्ने अवस्था हामीले बनाउन खोजेका हौं।’
सुरुआती चरणमा महिलाका लागि मात्र बनाउने सोच बनाएका उनीहरुले पछि महिला÷पुरुष दुवैका लागि धेरै थरीका हिल, चप्पल उत्पादन गर्ने योजना बनाएका छन्। सिंहका अनुसार उपन्हाको यो आइडियालाई व्यावसायिक रुपमा अघि बढाउन आइडिया स्टुडियोले समेत सहयोग गरेको छ।
यसैलाई लक्षित गरेर आर्थिक रुपमा पनि नेपाली ग्राहकले धान्न सक्ने हिल बनाउने योजना रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा उत्पादन हुने हिल नेपालमा महँगो हुने गरेको छ। विदेशी हिलको न्यूनतम मूल्य ३५३ डलरबाट सुरु हुन्छ, जुन नेपालीका लागि महँगो हो।
त्यसैले सबै हैसियतका नेपालीले प्रयोग गर्न सक्ने हिल उत्पादन गर्ने योजना उपन्हाको छ।
आयुसी एक दिन हिल जुत्ता लगाएर कलेज कार्यक्रममा गएकी थिइन्। आफूले लगाएको हिलले अप्ठेरो भएपछि यस्तो किसिमको हिल बनाउन पाए पनि हुने भन्ने सोच उनमा पलायो। पछि त्यही सोचलाई व्यवहारमा उतार्न साथीहरुसँग सल्लाह गरिन् र व्यावसायिक रुपमा अघि बढाउने निर्णयमा पुगिन्।
सुरुआती चरणमा महिलाका लागि मात्र बनाउने सोच बनाएका उनीहरुले पछि महिला/पुरुष दुवैका लागि धेरै थरीका हिल, चप्पल उत्पादन गर्ने योजना बनाएका छन्।
सोही निर्णयअनुसार उनीहरुले आइडिया स्टुडियो नेपालको कलेज आइडिया हन्ट २०२३ मा यो आइडिया र आफूले बनाएको नमुना (प्रोटोटाइप) हिल प्रस्तुत गरे। उक्त कलेज आइडिया हन्टमा उनीहरुको यो आइडिया उत्कृष्ट १० भित्र पर्न सफल भयो। अब आफूले बनाएका सामाग्रीलाई बजारमा लगेर ग्राहकको प्रतिक्रिया लिने प्रक्रियामा उनीहरु छन्।
सुरुआती चरणमा महिलाका लागि मात्र बनाउने सोच बनाएका उनीहरुले पछि महिला/पुरुष दुवैका लागि धेरै थरीका हिल, चप्पल उत्पादन गर्ने योजना बनाएका छन्। सिंहका अनुसार उपन्हाको यो आइडियालाई व्यावसायिक रुपमा अघि बढाउन आइडिया स्टुडियोले समेत सहयोग गरेको छ।
हाल आवश्यक कच्चा पदार्थको विषय, सुरुआती लागत, बजार पुग्दा कायम हुने मूल्य, कामदार, उद्योग आदिको विषयमा अध्ययन गर्दै योजना बनाइरहेको सिंहले जानकारी दिइन्। उपन्हाले हिलमा प्रयोग हुने कच्चा पदार्थ नेपालकै प्रयोग गर्ने र स्वदेशमा नपाए विदेशबाट ल्याउने योजना बनाएको छ।