चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन्।
शुक्रबार चितवनमा ‘घुमौँ भरतपुर’ नारासहित सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौती सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन्।
उनले भने, ‘१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानक स्थापित भएका छन्। भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति काम भएका छन्, यी देशका लागि महत्त्वपूर्ण उपलब्धि हुन्।’
दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए।
नेपालको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत र रोजगारीको क्षेत्रमा ६.९ प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनमा २०२३ मा एक लाख ९० हजार चार सय ५८ जना पर्यटक आगमन भएको जानकारी पाएको बताए।
भ्रमण वर्ष कोसेढुंगा सावित हुन्छ
प्रधानमन्त्री प्रचण्डले राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
‘भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने।
पछिल्लो सात वर्षमा भरतपुर महानगरले विकास मोडलमा सिंगो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए।
प्रधानमन्त्रीले गौरवका आयोजना चक्रपथ, ६ लेनको सडक, तटबन्धन, सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले भरतपुरले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने दाबी गरे।–रासस