क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचार:
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित रतुवा र दीपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना अभियोगमा ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले फागुन ३ मा विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रुपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरीलगायत छन्। मुद्दामा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहितका नेता, कर्मचारीलाई विपक्षी बनाइएको छ।
१४ केजी सुन तस्करी प्रकरणमा डिल्लीबजारस्थित प्लाटिन कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन्। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा छानबिन र अनुसन्धान गर्ने क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले गुरुङलाई सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो। गत मंसिर २१ मा भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो।
तत्कालीन सेञ्चुरीका बैंकका दुई पूर्वसीईओ क्रमशः मनोज न्यौपाने र तुल्सीराम गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ऋण हिनामिना आरोपमा पक्राउ गरेको छ। न्यौपाने हाल प्रभु बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्। तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता गरेको भेटिएपछि सीआईबीले तत्कालीन सेञ्चुरीका ५ र प्रभु बैंकका ५ कर्मचारीलाई पक्राउ गरेको हो। तत्कालीन सेञ्चुरी बैंकका पूर्वकर्मचारीमा पूर्वसीईओ गौतमसहित सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनिल बस्नेत र प्रभु बैंकका बहालवाला कर्मचारीमा डिसिइओ न्यौपाने रहेका छन्। यस्तै, चिप क्रेडिट म्यानेजर दिलीप बराल, रिस्क अधिकृत, दीपेश प्रधान, चिप क्रेडिट अधिकृत राजेश भण्डारी र म्यानेजर रमन श्रेष्ठलाई सीआईबीले फागुन १५ मा राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सरकारले तीन महिनाअगावै प्रि–बजेट (बजेटका सिद्धान्त र प्राथमिकता) छलफल सुरु गरेको छ। फागुन १४ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस गरेका हुन्। यसअघि विनियोजन विधेयक प्रस्तुत हुनु १५ दिनअघि सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्मा पेस गथ्र्यो। प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० लाई समय निर्धारण गरिएको छ। जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३३.७४ अंकको गिरावट आएको छ। अघिल्लो साता २००५.८३ बिन्दुमा रहेको नेप्से यो साता कारोबारको अन्तिम दिन बिहीबार १९७२.०९ बिन्दुमा समेटिएको हो। सेयर बजारमा यो साता कुल ११ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता ११ अर्ब ९९ करोडको कारोबार भएको थियो।
सरकारले तीन महिनाअगावै प्रि–बजेट (बजेटका सिद्धान्त र प्राथमिकता) छलफल सुरु गरेको छ। फागुन १४ मा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस गरेका हुन्।
काठमाडौं महानगरले आफूले ओगटेका सरहदभित्रका सार्वजनिक स्थललाई सुन्दर बनाउन भित्ते चित्र कोर्ने भएको छ। यसका लागि काठमाडौं महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएको छ। सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन र स्थानमा प्रतिष्ठानले २०८१ जेठ सकिँदासम्म भित्ते चित्र बनाउनेछ।
नेपाल वायुसेवा निगमलाई सहुलियत ब्याजमा कर्जा दिन आधा दर्जन मुलुकले चासो देखाएका छन्। नयाँ जहाज खरिद गर्न र हालको आन्तरिक ऋण महँगो भएका कारण निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण सस्तो ब्याजमा लिने निर्णय यसअघि नै गरेको थियो। सोहीअनुसार निगमले गत माघ ११ मा आउँदो मार्च ७ तारिखसम्म आवेदन दिन सक्ने म्याद राखेर ग्लोबल टेन्डर गरेको थियो। निगमले १ देखि ३ प्रतिशतसम्मको २५ वर्षका लागि ऋण दिन टेन्डरमा आह्वान गरेको थियो।
निगमले दुई थान ‘न्यारोबडी’ र दुई थान ‘वाइडबडी‘ जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको सावाँ ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको बताएको छ।
आफ्ना माग पूरा गराउन निषेधित क्षेत्र संघीय संसद् भवनभित्रै प्रवेश गरेर प्रदर्शनमा उत्रिएपछि पक्राउ परेका लघुवित्त पीडितहरुलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ। प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा फागुन १४ मा नयाँ बानेश्वरस्थित संसद् भवनबाट ४८ जना महिला र एक पुरुषलाई पक्राउ गरेको थियो।
विश्व बैंकको कार्यकारी निर्देशक सम्मिलित बोर्ड बैठकले नेपालका दुई परियोजनामा २६ अर्ब ४० करोड रुपैयाँ (२० करोड अमेरिकी डलर) ऋण लगानी गर्ने भएको छ। विश्व बैंकका अनुसार कुल सहयोगमध्ये १३ अर्ब २० करोड ऋण नेपालको राजस्व संकलनमा सुधार ल्याउन, ऋण व्यवस्थापनमा पारदर्शिता अभिवृद्धिलगायतका प्रयोग हुनेछ। यो रकम प्रत्यक्ष वैदेशिक लगानी प्रक्रिया स्वचालित बनाउनमा समेत प्रयोग हुने बताइएको छ। विश्व बैंकले १३ अर्ब २० करोड रुपैयाँ ऋण प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रममा खर्चिइने जनाएको छ।
निजी क्षेत्रका वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) को अध्यक्षमा मनोज कार्की चयन भएका छन्। फागु्न १७ को संघको २३औं साधारणसभाले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। संघका निवर्तमान महासचिव कार्की समिट एयरका प्रबन्ध निर्देशक हुन्। यस्तै, प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, दोस्रो उपाध्यक्षमा निमा नुरु शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर, महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी, कोषाध्यक्षमा रुपेश जोशीलगायत अन्य सदस्य चयन भएका छन्।
भरतपुर महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि फागुन १७ मा टेन्डर आह्वान गरेको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रंगशालाको बाँकी कामका लागि महानगरले टेन्डर खुला गरेको हो। १ अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रंगशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको महानगरका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले बताए।
.प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजीगत खर्च हुन नसक्दा विकास निर्माण प्रभावित भएको भन्दै मन्त्री र सचिवहरूसँग असन्तुष्टि जनाएका छन्। चालू आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सात महिने समीक्षाका क्रममा प्रधानमन्त्री दाहालले फागुन १७ मा विकासे मन्त्रालयहरूको प्रगति कमजोर रहँदा पुँजी निर्माण हुन नसकेको बताएका हुन्। मन्त्रालय आफैंले लक्ष्य निर्धारण गर्ने तर कार्यान्वयन हुन नसक्ने अवस्था हुनुको पछाडि कार्य सम्पादन कमजोर भएको ठानिने उनको भनाइ छ। चालू आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि सार्वजनिक खर्च ४२ प्रतिशत मात्र हुनु सन्तोषजनक नभएको प्रधानमन्त्री दाहालको टिप्पणी थियो।