काठमाडौं। सुजुकीका दुईपांग्रे सवारीसाधन नेपालमै एसेम्बल थालिएको छ। हाल कम्पनीले परीक्षणको रुपमा केही मोडल एसेम्बल थालेको हो। विशाल ग्रूप अन्तरर्गतको ग्लोबल अटोमोबाइल कम्पनीले ६० करोड लगानीमा मोटरसाइकल र स्कुटर एसेम्बल प्लान्ट स्थापना गरेको हो। वीरगञ्जको विन्दबासिनीमा ४ विगाह क्षेत्रफलमा रहेको प्लान्टमा वार्षिक २० देखि २५ हजार सवारीसाधन एसेम्बल गर्नसक्ने क्षमताको प्लान्ट बनाइएको छ।
पूर्णक्षमतामा काम हुँदा प्लान्टमा ७० देखि १ सय जनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीले बताएको छ। आवश्यकताका आधारमा प्लान्ट स्थापना गरिएको भिजी अटोमोबाइल्स प्रालीका महाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए। ‘अरु केही ब्राण्डले पनि एसेम्बल प्लान्ट बनाइसकेका छन्। हामी अग्रणी ब्राण्ड भएकाले पनि पछि पर्नु हुँदैन भन्ने मान्यता हो,’ उनले क्यापिटल नेपालसगँ भने।
उनका अनुसार हाल एभेनिस स्कुटर एसेम्बल भइरहेको छ। वर्गम्यान, जिक्सरलगायत एसेम्बल योजना रहेको उनले बताए। ‘हामीले हाम्रा स्टाफलाई काममा पोख्त बनाउन एसेम्बल गरिरहेका हौं। एउटा एसेम्बल हुन्छ, त्यसका केही कमजोरी देखिए फेरि खोल्ने र फेरि एसेम्बल गर्ने काम भइरहेको हो,’ उनले भने, ‘यसो गर्नाले पछि फुल फेजमा एसेम्बल हुँदा समस्या आउँदैन।’
यहाँ एसेम्बल गरिएका मोटरसाइकल र स्कुटर सुजुकीका जापानी प्रतिनिधिले स्वीकृत गरेपछि मात्र मास प्रोडक्सनमा जाने उनले जानकारी दिए।
सरकारले एसेम्बल प्लान्टलाई गरेको प्रोत्साहनका कारण पनि कम्पनीले एसेम्बल प्लान्ट बनाउने निणर्य गरेको उनले बताए। ‘एसेम्बल प्लान्टलाई भन्सार छूट छ। त्यो छूट हामीले ट्रेडिङ गर्दा पाउँदैनौं,’ उनले भने, ‘यही सवारीसाधन उत्पादन गर्न पाइयो भने केही व्यक्तिलाई रोजगारी पनि दिन पाइयो र सरकारबाट हुने छूटको लाभ पनि लिन पाइयो।’
नेपालमा एसेम्बल भएको मोटरसाइकलको मूल्य घट्ने÷नघट्नेबारे अहिले निश्चित नभएको उनको भनाइ छ। ‘अहिले नेपालमा एसेम्बल भइरहेका ब्राण्डहरुले मूल्य घटाएका छैनन्। मूल्य घटाउनुपर्छ भन्ने कुनै नीतिगत व्यवस्था पनि छैन। त्यसकारण कुनै नीतिगत व्यवस्था नभएसम्म मूल्य घट्ने सम्भावना देखिँदैन,’ उनले भने। यसअघि नेपालमा बजाज, टिभिएस, यामाहा, रोयल इन्फिल्डलगायतले पनि एसेम्बल गर्दै आएका छन्।