काठमाडौं। वायुसेवा सञ्चालक संघप्रति आक्रामक सुनिँदै आएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी करिब दुई वर्षपछि नरम देखिएका छन्।खासगरी संघका निवर्तमान अध्यक्ष क्याप्टेन रामेश्वर थापाप्रति नकरात्मक देखिँदै आएका महानिर्देशक अधिकारी संघको आज सम्पन्न २३औं साधारणसभामा भने लचक देखिएका हुन्।
संघको साधारणसभामा शुभकामना दिँदै महानिर्देशक अधिकारीले नयाँ नेतृत्वसँग मिलेर जान प्राधिकरण नेतृत्व तयार रहेको प्रतिबद्धता जनाए। ‘सुरुमा प्राधिकरणबाट जारी नयाँ नीति–नियमले केही समय समस्या परे पनि अहिले त्यसको प्रतिफल राम्रो भइरहेको छ’, उनले भने, ‘केही नीति लागू गराउँदा संघ र प्राधिकरणबीच तिक्तता भए पनि अहिले त्यसको प्रतिफल राम्रो आइसकेको छ। अब मिलेर जानुपर्छ।’
संघलाई विमानस्थलमा चाहिएको सुविधा पूरा गर्न प्राधिकरण तयार रहेको उनले बताए। एनले भने, ‘वायु सेवा कम्पनीसँग सेवाशुल्क मात्र लिने हैन, तपाईंहरुले मागेका सुविधा पनि दिन तयार छौं’, महानिर्देशक अधिकारीले भने। प्राधिकरण नेतृत्व सम्हालेको दुई वर्ष पूरा हुँदासम्म संघबाट ल्याइएका दुई वटै माग पूरा गरिसकेको र अन्य विषयमा पनि सकारात्मक रहेको उनले बताए।
प्राधिकरणमा पदभार सम्हालेसँगै जहाजलाई काठमाडौं बाहिरबाट उडाउन दिएको निर्देशन हवाई सञ्चालकले अवज्ञा गरिने बताएपछि महानिर्देशक अधिकारी रिसाएका थिए।
प्राधिकरणको निर्णय लागू गराएर जहाज उडानै रोक्ने निर्णय संघले गरेपछि क्याप्टेन थापालाई थुनामा राख्ने चेतावनीसमेत उनले दिएका थिए। संघको मागमा प्राधिकरण टसमस नभएसँगै अन्ततः अहिले उपत्यका बाहिरबाट जहाज उडिरहेका छन्।
थापासँगको विवादकै कारण ६ महिनाअघि संघले आयोजना गरेको सेफ्टी क्याम्पमा समेत प्राधिकरणका तर्फबाट उनले उपस्थिति जनाएका थिएनन्।
क्याप्टेन थापाले पनि सकेसम्म महानिर्देशक अधिकारीलाई हटाउन शक्तिकेन्द्र धाएका थिए। केही महिनाअघि पर्यटनमन्त्री सुदन किरांँतीले सोधेको स्पष्टीकरणमा समेत क्याप्टेन थापाको हात रहेको भन्दै महानिर्देशक अधिकारी रुष्ट बनेका थिए।
अध्यक्ष थापाको महानिर्देशकसँग टकराव भएपछि एयरलाइन्स बिजनेसमै समस्या आएको भन्दै संघले तीन महिना अगाडि नै साधारणसभा गरेर नेतृत्व परिवर्तन गर्ने तयारीमा लागे पनि सफल हुन सकेको थिएन।