काठमाडौं। कुनै समय थियो। विद्युतीय गाडीमा जति नै हत्ते हाले पनि १ रुपैयाँ छुट वा अन्य कुनै सहुलियत दिन व्यवसायी तयार थिएनन्। तर, अहिले परिस्थिति बदलिएको छ, विद्युतीय सवारीमै चरम प्रतिस्पर्धा बढेको छ।
न कुनै चाडपर्व, न त नयाँ वर्षको अवसर। तर, विद्युतीय गाडी बिक्रेताबीचको प्रतिस्पर्धाले ग्राहकलाई आकर्षित गर्न कुनै न कुनै स्किम ल्याउन विवश छन्।
सन् २०२३ मा नेपालमा आयात भएका सवारीसाधनमध्ये ७० प्रतिशत धेरै हिस्सा विद्युतीय सवारीको छ। २०२४ कै सुरुआती तथ्यांकले पनि विद्युतीय गाडीलाई नै प्रश्रय गरिरहेको देखिन्छ। त्यसैको परिणाम हुन सक्छ, विगतमा डिजेल/पेट्रोल गाडीमा दिइने स्किम र छुट सुविधा विद्युतीय गाडीमा पनि देखिन थालेको छ।
गत भदौमा भएको नाडा अटो सोमा पनि विद्युतीय सवारीसाधनमा ग्राहकको भिड देखिएपछि व्यवसायीले बिजुली गाडीको बिक्रीलाई प्राथमिकता दिएका छन्। बिजुली गाडीमा नाम कहलिएका एमजी, टाटा, निटा, बिवाइडी हुन्डाई, कियाजस्ता ब्रान्ड अहिले नेपालमा बढी चलेका छन्।
एमजी, हुन्डाई र निटाले एक्सचेन्ज अफरसँगै नगद छुट दिएर गाडी बिक्रीलाई प्रोत्साहन गरिरहेका छन् भने निटा र बिवाइडीले एक्सचेन्ज अफर ल्याएका छन्। त्यस्तै, टाटाले अर्को सातादेखि एक्सचेन्ज योजना ल्याउने तयारी गरेको छ।
तथापि पछिल्लो समय विद्युतीय सवारीको बुकिङ घटेको बताइन्छ। त्यसलाई कम्पनीहरुले अघि सारेको स्किमले पनि थोरै मद्दत गरेको छ। तर, वास्तविकता भने त्यस्तो होइन।
खासगरी नयाँ गाडी किन्न चाहनेले किनिसके। पहिलो डिजेल/पेट्रोलको सेकेन्ड हेन्ड गाडी चढेका तर फेर्न तयारी गरिरहेका सवारीधनी नयाँ के पाइन्छ भनेर खोजीमा छन्। त्यस्ता ग्राहकका बिक्रेताले एक्सचेन्ज अफर ल्याएको बिवाइडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन्। यो अफरले पुराना पेट्रोल गाडीलाई इभीसँग साटफेर गर्न अवसर मिल्ने उनी ठान्छिन्।
‘अहिले आफ्नो पुराना गाडीलाई इभीसँग एक्सचेन्ज गर्न चाहनेको संख्या बढिरहेको छ। पहिलो पटक गाडी किन्ने र त्यो इभी नै खरिद गर्न चाहनेले किनिसक्नुभयो। त्यसकारण एक्सचेन्ज अफर ल्याइएको हो। अफरले इभी बिक्री बढ्ने अपेक्षा छ,’ उनले भनिन्।पछिल्लो समय रिकन्डिसन गाडी खरिदमा फाइनान्सिङ पनि सहज भएकाले सबैजसो बिक्रेताले एक्सचेन्जमा जोड दिएको उनले बताइन्।
पछिल्लो समय आइसिई इन्जिनका गाडीबाट इभीमा सिफ्ट हुनेको संख्या बढिरहेकै कारण बिक्रेताले विभिन्न अफर ल्याएर ग्राहक तानिरहेको नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले बताउँछन्।
‘इभीमा खर्च कम हुने भएकाले अधिकांश ग्राहक बिजुली गाडीमा आकर्षित भइरहेका छन्। अहिले मान्छे खर्च घटाउन लागिपरेका छन्। ग्राहकको सोही आवश्यकता सम्बोधन गर्न बिक्रेताले छुट तथा अफर ल्याएका हुन्। अफरले गाडी बिक्री बढाउँछ,’ उनले भने। इभी आयातकर्ताले धेरै गाडी मौज्दात (स्टक)मा राखेका कारण पनि तिनलाई छिटो बिक्री गर्ने उद्देश्यले विभिन्न अफरसहितका योजना ल्याएको एक गाडी व्यवसायीको तर्क छ।
‘बजेटले इभीमा कर बढायो भने ग्राहकको रुचि इभीबाट हट्ने डरले बिक्रेताले गाडी बेच्नमा ध्यान दिइरहेका छन्। अहिले इभी व्यवसायीले धेरै गाडी स्टकमा राखेका छन्। बजेटले स्टकमा रहेका गाडीको मूल्यमा फरक नपारे पनि यसको रिसेल भ्यालु नहुँदा ग्राहक पुनः डिजेल÷पेट्रोल गाडीमै फर्किन्छन् कि भन्ने उनीहरुलाई डर छ,’ उनले भने।
हाल नेपालको अटो बजारमा विद्युतीय गाडीको वर्चस्व छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिना (साउन–माघ) सम्मको तथ्यांकअनुसार नेपालमा ६ हजार १ सय ५९ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन्।
उक्त तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा बढी हो। गत आर्थिक वर्षको साउनदेखि माघसम्म २ हजार ९ वटा विद्युतीय गाडी आयात भएका थिए।
आयात तथ्यांकले के देखाउँछ भने नेपालमा पर्यावरणीय सन्तुलनको हिसाबले पेट्रोल/डिजेल गाडीको विकल्पको रुपमा विद्युतीय सवारी प्रयोग बढ्दै गएको छ। इभी गाडी बिक्री बढेसँगै नेपाली अटो बजारमा यसको प्रभाव देखिन थालेको छ।