काठमाडौं। ९ महिनाअघि औपचारिक रुपमा सुरु भएको चारतारे होटल बाराही काठमाडौंले क्षमता विस्तार गर्ने भएको छ। बाराही ग्रुपले काठमाडौंमा सञ्चालन गरेको पहिलो चारतारे होटलले क्षमता विस्तार गरी २० वटा कोठा थप्न लागेको हो। होटलका हाल ८० कोठा छन्।
बाराही काठमाडौंका कार्यकारी निर्देशक विप्लव पौडेलका अनुसार ग्राहक मागअनुसार थप २० कोठा थप्ने काम सुरु गरिएको हो। आगामी जुलाई( २०८१)को असारभित्र सञ्चालनमा ल्याउने गरी कोठा थप गर्ने काम भइरहेको उनले बताए।
खासगरी होटलले कम्प्लेक्ससहितको अवधारणा राखेको थियो। तर,पछिल्लो समय कम्प्लेक्सको व्यापार काठमाडौंमा खस्किँदै गएकाले त्यसका लागि राखिएको ३ तलामध्ये २ तलामा डिलक्स रुम बनाउन लागिएको उनको भनाइ छ।
१ तला अहिलेका लागि कम्प्लेक्सकै रुपमा राखिएको बताउँदै कहिलेबाट सञ्चालनमा आउने भन्नेबारे उनले बताएनन्।
‘पर्यटन क्षेत्रले विस्तारै लय समाइरहेको बेला कम्प्लेक्सभन्दा कोठा थप्दानै राम्रो हुने सोचका साथ थप गर्ने निधोमा पुगिएको हो,’ निर्देशक पौडेलले भने, ‘पछि ठाउँ खाली गराउनुभन्दा अहिले नै थप्दा उपयुक्त होला भन्ने लागेर काम अगाडि बढाएका हौं।’
योसँगै बाराही काठमाडौंको कोठा १०० वटा पुग्नेछ। काठमाडौंको ठमेल नजिकै केशरमलमा सञ्चालित काठमाडौं बाराहीले छोटो समयमा धेरै चर्चा पाइरहेको छ। पोखराबाट उदाएको बाराही ग्रुपको काठमाडौंमा यो पहिलो होटल हो। फोर स्टार स्ट्यान्डर्ड होटलमा आठवटा सुइट र ७२ वटा डिलक्स रुम गरी ८० वटा रुम छन्।
होटलमा कफी सप, रेस्टुरेन्ट, बार, प्राइभेट डाइनिङ हल छन्। होटलको सातौं तलामा ‘इन्फिनिटी स्वीमिङ पुल‘ छ। होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
सपिङ कम्प्लेक्ससहितको होटल निर्माण गर्न करिब १ अर्ब ४० करोड रुपैयाँ खर्चिएको र २० वटा कोठा थप्दा लगानी बढ्ने निर्देशक पौडेलले बताए।
चार दशकअघि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरु गरेका थिए, सोही होटलमा पछि सुविधा थप गरी होटल बाराही नामकरण गरिएको हो।
बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लजसमेत सञ्चालनमा छन्। हाल पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ।