काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि)लाई सफ्ट लोन (सहुलियत ब्याजमा कर्जा) दिन आधा दर्जन मुलुकले चासो देखाएका छन्। नयाँ जहाज खरिद गर्न र हालको आन्तरिक ऋण महंगो भएका कारण निगमले १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण सस्तो ब्याजमा लिने निर्णय यसअघि नै गरेको थियो। सोहीअनुसार निगमले गत माघ ११ गते ग्लोबल टेन्डर गरेको थियो। ग्लोबल टेन्डरमा आधा दर्जन मुलुकले चासो देखाएका निगमका अधिकारीहरुले बताएका छन्।
निगमको फाइनान्स विभागका अनुसार हालसम्म जापान, भारत,चीन, बेलायत र दुबईलगायत मुलुकले सहुलियत ब्याजमा ऋण दिन चासो दिएका छन्। ‘अहिलेसम्म आधा दर्जन मुलुकबाट प्रतिनिधिहरु आएर चासो राखेका छन्,’ विभागका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘औपचारिक रुपमा भने प्रस्ताव आइसकेको छैन।’ निगमले आउँदो मार्च ७ तारिखसम्म आवेदन दिन सक्ने म्याद राखेर ग्लोबल टेन्डर गरेको थियो। सोहीअनुसार सस्तो ब्याजमा ऋणका लागि चासो राख्नेको संख्या बढ्न सक्ने ती अधिकारीको भनाइ छ।
निगमले १ देखि ३ प्रतिशतसम्मको २५ वर्षका लागि ऋण दिन टेन्डरमा आह्वा गरेको हो। निगमले दुई थान ‘न्यारोबडी’ र दुई थान ‘वाइडबडी‘ जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको सावाँ ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको बताएको छ।
अहिले भएको ऋणको ब्याज दर १०.२५ प्रतिशत र १०.५० प्रतिशत रहेको निगमको भनाइ छ। यसअघि उक्त ब्याजदर ११ प्रतिशत रहेको थियो। अर्बौं रुपैयाँको ब्याज महँगोमा तिर्दा आम्दानी बचाउन नसकेको निष्कर्ष निगमको छ। अहिले खुलाएको टेन्डरअनुसार सहुलियत ब्याज दरमा ऋण दिन चाहने स्वदेशी तथा विदेशी वित्तीय संस्थाले प्रस्ताव गर्न सक्नेछन्। ऋणको सुरक्षणका लागि निगमले भौतिक सम्पत्ति, जहाज, परियोजना वा ऋणदाताले माग गरेअनुसारका धितो राख्नेछ। सरकारी स्वामित्वको निकाय भएकाले सरकार पनि जमानी बस्न सक्नेछ। निगमसँग अहिले अन्तर्राष्ट्रियतर्फ चारवटा मात्र जहाज छन।
निगमले लिन लागेको ऋण भने नितान्त व्यावसायिक हुनेछ। बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा गराएर ऋण लिने चलन विदेशमा छ।
निगमले यो खालको ऋण लिने संस्था नेपालमै पहिलो हुनेछ। अहिलेसम्म वैदेशिक ऋण लगानीमा परियोजना निर्माण भइरहेका छन्। ती परियोजनामा दुई देशबीच आपसी सम्झदारीमा ब्याजदर निर्धारण भइरहेको छ। तर, निगमले लिन लागेको ऋण भने नितान्त व्यावसायिक हुनेछ। बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा गराएर ऋण लिने चलन विदेशमा छ।
मुलुकको कन्ट्रिरेटिङ (साख) निर्धारण नभएको र डलर जोखिम बेहोर्ने हेजिङ फन्डमा अस्पष्टता देखिएको छ। मुलुकको साख निर्धारण र हेजिङ फन्डको विषय प्रष्ट नहुँदा विदेशी लगानी ल्याउन समस्या परेको लगानीकर्ताले बताउँदै आएका छन्। निगमले अन्तर्राष्ट्रिय उडान भर्ने तीनवटा एयरबस (ठूला जहाज) किन्ने योजना बनाएको छ।