काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन समझदारी भएको छ। परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष पवनकुमार अग्रवालले सम्झौतामा हस्ताक्षर गरे।
कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले सहकार्यको मुख्य उद्देश्य दुवै देशबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताए।
परिसंघले विदेशी लगानीकर्ता तथा व्यवसायीसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेर विभिन्न द्विदेशीय तथा अन्तर्राष्ट्रिय चेम्बरसँग सहकार्य गर्दै आएको बताउँदै अग्रवालले यो सहकार्य दुवै संस्थाले आफ्नो देशको हितमा लगानी भित्र्याउन, नेपालको निर्यात सम्भावना बढाउन तथा नेपाल–युएईबीच व्यवसाय प्रवर्द्धन गर्न उपयुक्त हुने विश्वास व्यक्त गरे।
नेपाल–युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष पवनकुमार अग्रवालले चेम्बरको उद्देश्य यससँग जोडिएका उद्योगी व्यवसायीसँग सहकार्य गरी दुई देशबीच व्यावसायिक सम्बन्ध बढाउनु रहेको जानकारी दिए।
परिसंघसँगको सहकार्यले लगानी प्रवर्द्धन, नेपालका वस्तु तथा सेवा निर्यात प्रवर्द्धन वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे।
परिसंघ उपाध्यक्ष हेमराज ढकालले नेपालमा धेरै सम्भावना भए पनि त्यसलाई पुँजीकरण गर्न नसकिएको भन्दै त्यसका लागि नेपाललाई ठूलो लगानी आवश्यक रहेको बताए।
विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली तथा व्यावसायिक संघ–संस्थासँग समन्वय गरी नेपालमा वैदेशिक लगानी आकर्षित गर्न, नेपाली उत्पादनलाई विदेशी बजारमा पहुँच विस्तारमा मद्दत गर्नेलगायत उद्देश्यअनुरुप परिसंघले नेपाली डायस्पोरा समन्वय समिति बनाएर काम गरिरहेको जानकारी गराउँदै यो समझदारीले उक्त कार्यमा थप मद्दत पुग्ने बताए।