काठमाडौं। सन् सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालयअन्तर्गतको स्टडी ग्रुप फर बैंकिङ एन्ड इन्स्योरेन्स पोखराबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन सम्झौता भएको छ।
सन् नलेज पार्टनरसिप कार्यक्रमअन्तर्गत भएको सम्झौतामा सन् सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकायका विद्यार्थीलाई वर्षैभरि सेयर बजार र यसका विभिन्न पक्षसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ।
साथै, प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षका साथै धितोपत्रको दोस्रो बजारअन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिम दिनेछ।
सम्झौताअन्तरगत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश संकायका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ।
पोखरा विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालको समुपस्थितिमा सम्पन्न कार्यक्रममा पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिङ एन्ड इन्स्योरेन्सका अध्यक्ष स्वस्तिका क्षेत्री र सन् सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सम्झौतामा हस्ताक्षर गरेका थिए।
सम्झौतापछि सन् सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकायअन्तर्गत बिबिए र बिबिएबिआईका विद्यार्थीलाई पोखरा विश्वविद्यालयमा एकदिने वित्तीय साक्षरता तथा सेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको आयोजना पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिङ एन्ड इन्स्योरेन्सले आयोजना गरेको थियो भने प्राविधिक सहयोग तथा तालिम प्रशिक्षक व्यवस्थापन सन् सेक्युरिटिजले गरेको थियो।
कार्यक्रमअन्तर्गत सन् सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्राविधिक विश्लेषक सुशील भट्टराई तथा सैयम वज्राचार्यले तालिम दिएका थिए। तालिममा सेयर बजारको वर्तमान अवस्था, सेयर बजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, सेयर बजारमा लगानी गर्ने समय र तरिकालगायत विषयमा तालिम दिइएको थियो।
कार्यक्रममा बिबिए तथा बिबिएबिआईमा अध्ययनरत करिब ७० विद्यार्थी तथा शिक्षक सहभागी रहेको पोखरा विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालले बताए।