काठमाडौं। ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहँुचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी बैंकका सातै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवती सहभागी थिए।
मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा चार हजार बढी नागरिकलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।
बैंकले बागमती प्रदेश भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाँउपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका र ललितपुरको ललितपुर महानगरमा आयोजना गरेको विभिन्न कार्यक्रममा ७ सय बढी नागरिक सहभागी थिए।
त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, पर्वतको कुस्मा नगरपालिका र कास्कीको पोखरा महानगरको कार्यक्रममा ९ सय बढी स्थानीय सहभागी भएको बैंकले जनाएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको कपिलवस्तु नगरपालिका, वाणगंगा नगरपालिका, शिवराज नगरपालिका, दाङको घोराही उपमहानगर, गुल्मीको रेसुंगा नगरपालिका, इस्मा गाउँपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, पाल्पाको तानसेन नगरपालिका, प्युठानको प्युठान नगरपालिका, रोल्पाको परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, रुपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १ हजार ८ सय बढीको सहभागिता थियो।
साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बाजुराको बडीमालिका नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र कैलालीको धनगढी उपमहानगरको कार्यक्रममा साढे ७ बढी लक्षित वर्ग सहभागी भएको बैंकले जनाएको छ।
बैंकले हाल ३५५ शाखा, ३७८ एटीएम, २७५ शाखारहित इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।