इलाम। इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजंघा हिमालको दृश्यले आकर्षित बनायो। ३ हजार १ सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन। 'हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिँदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्ष कति आनन्द,' उनले भने।
तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन्। हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बंगलादेशलगायत मुलुकबाट पर्यटक आउने गरेका छन्।
प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए। 'सडक बनेपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ,' उनले भने।
जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रबर्द्धनको काम सुरु गरेको छ। पर्यटकीयस्थललाई प्रबर्द्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए। ‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन्। उनले भने, 'त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ।' देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँकहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उनले बताए। रासस