काठमाडौं। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभालाई सम्बोधन गर्दै अर्थतन्त्रमा सुधार आएको दाबी गरे। प्रधानमन्त्री दाहालले विदेशी मुद्राको सञ्चिति बढेको, बैंकमा लगानीयोग्य रकम (तरलता) बढेको र ब्याजदर घटेकोजस्ता तर्क दिएर अर्थतन्त्रमा सुधार आएकाले लगानीको वातावरण बन्दै गएको बताए। अर्थमन्त्री डा. प्रकाशरण महतले पनि सेयरबजार माथि उठ्दै गएको, घरजग्गा कारोबारमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको र विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै आएका छन्। अहिले केही समूहले नियोजित प्रहार गर्न अर्थतन्त्र संकटमा रहेको र लगानीको वाातावरण बिग्रिदै गएको आरोप लगाएको महतको दाबी छ।
प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महत हरेक दिनजसो गर्ने सम्बोधन र भेटघाटमा गत वर्षको तुलनामा प्रमुख सूचकहरु सुध्रिँदै गएकाले अर्थतन्त्रले लय समाएको बताउन चुक्दैनन्। खासगरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालू आर्थिक वर्षको ६ महिना (पुससम्म) को तथ्यांकलाई टेकेर अर्थतन्त्रमा सुधार आइरहेको दुहाई दिइरहँदा निजी क्षेत्र भने त्रासमा छ। उल्टै निजी क्षेत्रले सरकारले नै लगानीको वातावरण विगारेको, उद्योगी/व्यवसायीको मनोबल गिराएको आरोप लगाइरहेका छन्।
सरकार र निजी क्षेत्र एकापसमा आश्वस्त नभइरहेका बेला अर्थतन्त्रका मूल परिसूचकहरु भने आसलाग्दा छैनन्। अर्थतन्त्र लयमा फर्किएको अभास दिने राजस्व असुलिमा सुधार छैन। यद्यपि राजस्व असुलि घट्नुलाई सरकारले विद्युतीय गाडी प्रोत्साहन प्रमुख कारण भन्दै आएको छ। आयात/निर्यातमा पनि सुधार छैन। मुलुकमा आन्तरिक उत्पादनको आधारसिला खडा नभएका बेला आयात घट्नुले अर्थतन्त्र चलायमान भएको छैन भन्ने देखाउँछ। विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा सकारात्मक वृद्धिले र आयात खुम्चिएका कारण विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव परेको भुल्नु हुँदैन।
सरकारका विभिन्न गतिविधिका कारण अर्थतन्त्रको ‘व्यारोमिटर’ मानिने सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) खस्किरहेको छ। बुधबार नेप्से २०००.७७ विन्दुमा छ। राष्ट्र बैंकका अनुसार पुससम्म विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँबराबर छ। त्यस्तै, वित्तीय क्षेत्रमा तरलता १ खर्ब रुपैयाँभन्दा बढी छ।
सिजि होल्डिङ्सका अध्यक्ष अरुण चौधरी र भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहितलाई पक्राउ गर्नुलाई निजी क्षेत्रले लगानीको वातावरण बिगारेको अर्थमा बुझेका छन्। लगानी सम्मेलन घोषणा गरेपछि नै औद्यागिक क्षेत्रहरुमा बिनाजानकारी ८ देखि १२ घण्टासम्म दैनिक बिजुली काटेको घटनाले निजी क्षेत्र चिन्तित छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सरकारले डलर सञ्चिति र बैंकमा तरलता धेरै हुनुलाई मात्र अर्थतन्त्र सुधारको सूचकको रुपमा हेरिरहेको बताउँछन्। ‘आयात घटेको छ। उत्पादित वस्तुको माग घटेको छ। उद्योग व्यवसायहरु २० देखि ३० प्रतिशत क्षमतामा चलेका छन्’ अग्रवालले भने, ‘निर्माण व्यवसायीको अर्बौ रुपैयाँ भुक्तानी नहुँदा सिमेन्ट र रड लगायतको उधारो रकम उठ्न मुस्किल भइरहेका बेला अर्थतन्त्र सुध्रियो। लगानीको वातावरण सुध्रियो भन्नु गलत छ।’ उद्योग व्यवसाय पूर्णरुपमा संचालन हुन नसकेको अहिलेको अवस्थामा लगानी थप्ने र नयाँ लगानी गर्ने स्थिति नरहेको अग्रवालले बताए।
सिजि होल्डिङ्सका अध्यक्ष अरुण चौधरी र भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहितलाई पक्राउ गर्नुलाई निजी क्षेत्रले लगानीको वातावरण बिगारेको अर्थमा बुझेका छन्। लगानी सम्मेलन घोषणा गरेपछि नै औद्यागिक क्षेत्रहरुमा बिनाजानकारी ८ देखि १२ घण्टासम्म दैनिक बिजुली काटेको घटनाले निजी क्षेत्र चिन्तित छ। तर, अर्थतन्त्रमा सुधार आएको भन्दै सरकारले वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन घोषणा गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य सरकारी बोली र व्यवहारमा धेरै नै फरक रहेको बताउँछन्। ‘सरकार एकातिर अर्थतन्त्र सुधार आएको र लगानीको वातावरण बनेको भनिरहेको छ। अर्कोतिर सञ्चालित उद्योगहरुले पर्याप्त बिजुली पाइरहेका छैनन्। सेयर बजार र घरजग्गाको कारोबार चलायमान भइरहेको छैन’ उपाध्यक्ष वैद्यले भने, ‘सरकारले लगानीकर्ताको विश्वास जित्नु आवश्यक छ। लगानीकर्ताको मनोबल उकासिएन भने विदेशी विनिमय सञ्चिति बढेर वा बैंकमा अधिक तरलता भएर वा ब्याज घटेर मात्रै लगानी वातावरण सुध्रिँदैन।’
उता, सौरभ समूहका अध्यक्ष एवंम सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपाने सरकारका पछिल्ला हर्कतले उद्योगी व्यवसायीको मात्र हैन, उपभोक्ताको समेत आत्माविश्वास गुमाएको बताउँछन्। ‘सरकारले उपभोक्ताको आत्माविश्वास बढाउने खालका कुनै नीति ल्याएको छैन,‘ अध्यक्ष न्यौपानेले भने ‘बैंकमा ऋण लिने मान्छे नै नगएपछि ब्याज घट्नु स्वभाविक हो, त्यसलाई सरकारले उपलब्धीको रुपमा लिनु गलत हो।’ बजारमा मन्दि छाएका कारण धेरै घर, अर्पाटमेन्ट (विल्डिङ)हरु खाली हुँदै गइरहेको छ। नयाँ घर बनाउने चरण ठप्प प्रायः छ। निर्माणजन्य गतिविधि सुस्त हुँदा सिमेन्ट र रडलगायत विभिन्न निर्माणजन्य सामग्रीको व्यापार ३० देखि ४० प्रतिशतमा खुम्चिएको छ। मन्दी अघि विकराल बनेको उधारो समस्या समाधान गर्नै नसक्ने अवस्थामा पुगेको अध्यक्ष न्यौपाने बताउँछन्।
सिटिजन बैंकका अध्यक्ष एवंम लोमस ग्रुपका निर्देशक प्रवलजंग पाण्डेले हरेक क्षेत्रमा मन्दिको असर देखिँदा सरोकारवाला संस्थाहरुबाट पहल नहुनु निकै चिन्ताको विषय भएको बताए। सरकार र निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि गम्भीर समीक्षा गरी लगानीकर्ताहरुमा उत्साह थप्दै जानुपर्ने पाण्डेले बताए।