काठमाडौं। वायुसेवा सञ्चालक संघको अध्यक्षमा समिट एयरका एकाउन्टेबल म्यानेजर मनोज कार्की सर्वसम्मत चयन भएका छन्। हालको समितिमा महासचिव रहेका कार्की अध्यक्षमा चयन भएका हुन्।
यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमानुरु शेर्पा र उपाध्यक्षमा श्री एयरलाइन्सका प्रवत्ता अनिल मानन्धर, महासचिवमा यति एयरलाइन्सका एकाउन्टेवल म्यानेजर सुभास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका प्रवक्ता रुपेश जोशी निर्वाचीत भएका छन्।
यद्यपि नयाँ समितिको औपचारिक रुपमा घोषणा गरिएको छैन। बिहीबार हुने संघको २३औं साधारण सभाको पूर्वसन्ध्यामा बुधबार सर्वसम्मत नेतृत्व चयन गरिएको हो। २ वर्षे कार्यकालका लागि चयन हुने पदाधिकारी र कार्यसमितिका लागि बुधबार नै सर्वसम्मत चयन गरिएको संघले जानकारी दिएको छ।
यसअघिका साधारण सभामा पनि एक दिन अघि नै नयाँ कार्यसमिति चयन गर्ने परम्परालाई यो पटक पनि निरन्तरता दिइएको संघको भनाइ छ।
संघका एक सदस्यका अनुसार अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन गरिएका छन्। तर, उनीहरुको पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन। ‘बिहीबार बेलुका मात्र नाम सार्वजनिक गर्ने सहमति भएको छ,’ ती सदस्यले भने।
हालका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीबीच लामो समयदेखि विवाद उत्पन्न भएका कारण संघभित्र अध्यक्ष थापालाई राजीनामा गराएर नयाँ नेतृत्व चयन गर्ने गृहकार्य भएको थियो। तर पनि सफल हुन सकेको थिएन।
संघभित्र नयाँ नेतृत्व आउँदा प्राधिकरणसँग समन्वय गर्न सक्ने खालको व्यक्तिको खोजी गर्ने क्रममा कार्कीलाई सर्वसम्मत गरिएको एक पदाधिकारीले बताए। साधारणसभा बिहीबार ५ बजेका लागि तय गरिएको छ।