काठमाडौं। भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि काठमाडौं उपत्यकालगायत तरकारी बजारको माग भारतीय प्याजले नै धानिरहेको छ। भारतले गत मंसिर २२ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि काठमाडौं उपत्यकाका थोक तथा खुद्रा बजारमा भारतबाटै आयात भइरहेको प्याज बिक्री भइरहेको हो। भारतले प्रतिबन्ध लगाएपछि पनि कालीमाटी तरकारी बजारमा मात्रै दैनिक औसत ८० टन प्याज आइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्यांक छ। समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार भारतीय व्यवसायी र नेपाली व्यवसायीको सम्बन्धको माध्यमबाट कालीमाटीमा प्याज आइरहेको छ। ‘हाम्रा व्यापारीहरुको सम्बन्ध भारतीय व्यापारीहरुसँग भएका कारण प्याज आपूर्तिमा समस्या छैन,’ उनले भने।
दुई देशबीच भएको खुला सीमाका कारण प्याज आयात गर्न सकिएको व्यवसायी बताउँछन्। नेपाल कृषि उपज आलुप्याज आयात तथा थोक विक्रेता सघंका महासचिव प्रकाश गजुरेलले खुला सीमाको सदुपयोग गरेर नेपाली उपभोक्तालाई प्याज उपभोग गराउ सकिएको बताए। ‘भारतीय व्यापारीले नेपाली बजारमै ल्याइदिएको प्याज किनेर बेच्छौं,’ उनले भने।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार अहिले कालीमाटी बजारमा नेपाली प्याज छैन। शतप्रतिसत प्याज भारतबाटै आयात भएर आपूर्ति भइरहेको छ।
राजस्वमा असर
प्याज आयातमा सरकारले बेवास्ता गर्दा उपभोक्तालाई राहत भएको छ। तर सोबापत सरकारले पाउने राजस्व गुमाइरहेको छ।
यस विषयमा भन्सारका अधिकारी पनि जानकार छन्। तर थाहा नपाए झैं गर्नुपरेको उनीहरुको भनाइ छ। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भारत सरकारले भन्सारबाट प्याज आउन नदिएको तर नेपाली बजारमा भारतीय प्याज नै खपत भइरहेको स्वीकार गरे। तर, कडाइ गरेमा नेपाली बजारमा प्याजको अभाव हुने र चरम मूल्य बढ्ने भएकाले छाडिएको उनको भनाइ छ। ‘कडाई गरेमा प्याजको अभाव हुन्छ र मूल्य वृद्धि हुन्छ,’ उनले भने।
यसअघि भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत अगस्ट (भदौ)देखि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो। संसारकै दोस्रो ठूलो प्याज उत्पादक भारतमा अगस्ट महिनामा एक दशकयताकै सुक्खायाम लागेकाले प्याज उत्पादन घटेपछि सो निर्णय गरिएको थियो।
बजार माग धान्न समस्या भएपछि चर्को महंगीबाट प्रताडित उपभोक्तालाई राहत दिन भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो। निर्यातमा थप भन्सार लगाएपछि निर्यात निरुत्साहित भई आन्तरिक बजारमा प्याज आपूर्ति सहज हुने बुझाइअनुसार उक्त निर्णय गरिएको थियो। तत्कालका लागि तीन महिनालाई उक्त निर्णय गरिएको थियो। तर तीन महिना नपुग्दै भारत सरकारले अर्को निर्णय गरेर गत मंसिर २२ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध नै लगाएको छ। आगामी चैतसम्म प्याज निर्यातमा प्रतिबन्ध रहने भारत सरकारले बताएको छ।