काठमाडौं। तत्कालीन सेञ्चुरी बैंकमाथि नियामकको फितलो नियमन तथा सुपरीवेक्षणको सिकार प्रभु बैंक बनेको छ। सेञ्चुरी बैंकले गैरकानुनी तबरबाट प्रवाह गरेको कर्जा बिग्रँदा ‘प्रोभिजन’ मात्रै गराएर छोड्दा अहिले त्यसको दोष प्रभुमाथि आइपुगेको हो।
सेञ्चुरी कमर्सियल बैंकले २०७७ मा देउराली सहकारी संस्थाका सञ्चालक र पदाधिकारीको नाममा रहेका पूजा मार्केटिङ, पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरीलाई कुल २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा दिएको थियो।
बैंकले कर्जा दिएको पूजा मार्केटिङ र अन्नपूर्ण डिष्टिलरीको सञ्चालक देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई हुन्, भने पूजा ट्रेडिङ एन्ड मार्केटिङ र थ्री ब्रदर्स मार्केटिङको सञ्चालक चौलागाईकी श्रीमती पुजा खत्री चौलागाई हुन्। थ्री ब्रदर्स मार्केटिङमा देउराली सहकारी कै अर्को सञ्चालक राजेन्द्र खत्रीको लगानी छ। खत्री पुजा खत्रीको आफन्त हुन्।
रबिन्द्र चौलागाई, पुजा खत्री र राजेन्द्र खत्रीले सेञ्चुरी बैंकबाट काठमाडौं, भक्तपूर, ललितपूर, काभ्रेपलाञ्चोक, सुनसरी र झापाबाट विभिन्न १८ स्थानका व्यक्तिगत कम्पनीको नाममा रहेको घर जग्गा धितो राखेर कर्जा लिएका थिए।
बैंकले धितो मूल्यंकनभन्दा ४६.८६ प्रतिशत बढी कर्जा दिएको थियो। बैंकले यी ४ वटा कम्पनीलाई दिएको २ अर्ब ११ करोड ६५ लाख रुपैयाँमा ९९ करोड १९ लाख रुपैयाँ ‘ओभर भ्यालुलेसन’ रहेको निक्र्योल नियामक नेपाल राष्ट्र बैंकले २ वर्ष अघि नै गरेको थियो।
केन्द्रीय बैंकको स्थलगत सुपरीवेक्षणको क्रममा सेञ्चुरीले दिएको कर्जा धितो क्षमताभन्दा बहिर रहेको उल्लेख कर्जामा शत प्रतिशत प्रोभिजन गरी धितो थप गर्न तथा कर्जा असुल गर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले ऋणीलाई कर्जा तिर्न ताकेता लगाउँदै धितो लिलामीको प्रक्रिया समेत अघि बढाएको हो।
तर, राष्ट्र बैंकले आफ्नो अधिकार क्षेत्रमा रहेको प्रक्रिया समयमै नपुर्याउँदा सेञ्चुरीलाई गाभेको प्रभु बैंक अहिले समस्याको खाडलमा फरेको छ।
२०७९ सालमा भएको राष्ट्र बैंकको सुपरिवेक्षणले सेञ्चुरी बैंकद्वारा प्रवाहित कर्जा ‘मिस युज’ भएको उल्लेख गरेको थियो। २ वर्षअघि सेञ्चुरीले गैर कानुनी रुपमा प्रवाह गरेको कर्जामा प्रभु बैंकलाई शत प्रतिशत प्रोभिजन गर्न भनेको राष्ट्र बैंक स्रोतले बतायो।
‘धितो मूल्यांकनभन्दा बढी कर्जा प्रवाह भएको भटेपछि राष्ट्र बैंकले उक्त कर्जामा अतिरिक्त प्रोभिजन गराएको थियो, सुपरीवेक्षण प्रतिवेदनमा देउराली सहकारीसँग सम्बन्धित कर्जाको मिस युज भनिएको थियो,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘राष्ट्र बैंकले प्रोभिजन गराउनेदेखि बाहेक सञ्चालकहरुले कर्जा दुरुपयोग गरेको विषयमा दफा १०० बमोजिम गर्ने अन्य कारवाही पनि गरेको हो। तर, बैंकिङ कसुरको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा पत्रचार गर्ने विकल्पमा भने नगएको पक्कै हो।’
सहकारीका सञ्चालकले कर्जा दुरुपयोग गरेको निक्र्योल गरिसकेको राष्ट्र बैंकले प्रहरी अनुसन्धानको लागि तत्कालै सिआइबीमा पत्रचार नगर्दा खोटा बसेको समस्या पुनः बल्झिँदा प्रभु बैंकका कर्मचारी प्रहरीको थुनामा परेको देखिन्छ।
कुल ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको, ९ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पुँजी भएको सेञ्चुरी बैंकले देउराली सहकारीका अध्यक्ष चौलागाई र उनको परिवारको नाममा २ अर्ब बढी कर्जा दिँदा समेत प्रहरी छानबिनमा नपठाउनु आफैमा शंकाको विषय प्रष्ट हुन्छ।
सहकारी विभागको छानबिनमा घटना छताछुल्ल, चौलागाईंको बयानमा बैंक कर्मचारी पक्राउ
देउराली सहकारीका अध्यक्ष चौलागाईले बचतकर्तासँग २ साढे अर्ब रुपैयाँ र सेञ्चुरी बैंक सहित अन्य ४ बैंकसँग करिब पौने ४ अर्ब रुपैयाँ कर्जा लिएर घर–जग्गा व्यवसायमा लगानी गरेका थिए। घर जग्गा व्यवसायमा मन्दी आएसँगै उनले बचतकार्ताको पैसा फिर्ता गर्न नसकेपछि सहकारी विभागमा गत असारमा उजुरी परेको थियो। उजुरीको आधारमा सहकारी विभागले छानबिन गर्दा सहकारीसँग बचतकर्तालाई फिर्ता दिने पैसा मौज्दात नभएपछि समस्या ग्रस्त घोषणा गरेको हो।
समस्या ग्रस्त सहकारी देउरालीको विषयमा सहकारी विभागले छानबिनको लागि सआईबीलाई पत्रचार गरेको विभागका प्रवक्ता टोलराज उपाध्ययाले बताए।
‘आर्थिक हिनामिना भएको उजुरीको आधारमा सहकारीमाथि छानबिन गर्न विभागको हेटौडा शाखाले लेखेर पठाएको थियो,’ विभागका प्रवक्ता उपाध्ययाले क्यापिटल नेपाललाई भने, ‘सआईबीले सहकारीको आर्थिक कारोबारमा संलग्न व्यक्ति र संस्थाहरुलाई छानबिन सुरु गरेको हो।’
सीआईबीले गत असोजमा नै देउराली सहकारीका तीन सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। जसमा सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं, ऋण उपसमितिका संयोजक राजेन्द्र खत्री र वरिष्ठ प्रबन्धक दीपक केसीलाई सिआइबीले पक्राउ गरेको थियो। सिआइबीले अनुसन्धानमा कर्जा अपचलन हुने थाहा हुँदा हुँदै मूल्यांकनभन्दा अत्यधिक कर्जा दिने सेञ्चुरी बैंक मंसिरमै अनुसन्धानको दायरामा परेको थियो।
ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको देउराली सहकारीका अध्यक्ष चालगाईकै बयानको आधारमा २०७९ पुसमा सेञ्चुरी आफुमा गाभेको प्रभु बैंकका ५ जना कर्मचारीहरु २०८० फागुन १५ गते बिहान प्रक्राउ परेका हुन्। साथै, तत्कालिन सेञ्चुरी बैंक र प्रभु बैंकका गरी ५ जना कर्मचारीलाई समेत सिआइबीले अनुसन्धानको लागि थुनमा राखेको छ।
देउराली सहकारीमा बैंकको लगानी
देउराली सहकारीका सञ्चालकहरुलाई तत्कालीन सेञ्चुरी बैंकबाहेक माछापुच्छ्रे, तत्कालीन मेगाले कर्जा दिएको छ। सकारीलाई सेञ्चरीले २ अर्ब ११ करोड, तत्कालीन मेगा बैंकले पौने १ अर्ब, माछापुच्छ्रेले १८ करोड रुपैयाँ कर्जा दिएको थियो।
राष्ट्र बैंकको सुपरीवेक्षकीय अनुसन्धानमा सेञ्चुरी बैंक सहितका उल्लेखित बैंकद्वारा देउराली सहकारीलाई प्रवाहित कर्जा उच्च जोखिम रहेको कर्जा हो। यी बैंकहरुले गत वर्षमा नै शत प्रतिशत प्रोभिजन गरेर कर्जा असुलीको लागि आवश्यक प्रकृया शुरु गरेका छन्।
सेञ्चुरी बैंक दिएको कर्जाको विवरण
तत्कालीन सेञ्चुरी बैंकले देउराली सहकारीका सञ्चालक र उनका नाममा रहेको कम्पनीलाई कुल २ अर्ब बढी कर्जा दिएको हो। जसमा ब्याज ६६ करोड ९१ लाख रुपैयाँ बढी पुगेको छ। जसको असुलीको भार अब सेञ्चुरी गाभेको प्रभुमा पुगेको हो। प्रभु बैंकले सहकारीबाट साँवा ब्याजसहित कुल २ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिन्छ।
क्यापिटल नेपाललाई प्राप्त तथ्यांकअनुसार सेञ्चुरी बैंकले चौलागाईंलाई पहिलो पटक १ लाख ५२ हजार, दोस्रो पटक २१ लाख ९९ हजार गरी २३ लाख ५१ हजार रुपैयाँ कर्जा दिएको छ।
यस्तै चौलागाईं र उनका परिवारको नाममा भएको कम्पनी थ्री ब्रदर्सको नाममा पहिलो पटक ३२ लाख ७९ हजार र दोस्रो पटक ३ करोड २७ लाख रुपैयाँ, दोस्रो पटक ३ करोड ७० लाख, तेस्रो पटक ३ करोड २७ लाख र चौथो पटक ३७ करोड रुपैयाँ गरी कुल ४४ करोड रुपैयाँ बढी कर्जा दिएको छ। साथै, पूजा ट्रेडिङलाई पहिलो पटक ७० करोड र दोस्रो पटक ५ करोड ९० लाख ७६ करोड रुपैयाँ, पूजा मार्केटिङलाई पहिलो पटक ४८ करोड ५८ लाख र दोस्रो पटक ७० करोड रुपैयाँ गरी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ र अन्नपूर्ण डिस्टिलरीको नाममा १४ करोड ६२ लाख रुपैयाँ कर्जा दिएको हो।