काठमाडौं। युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसाय प्रवर्द्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नेपाली युवा उद्यमी फोरम र साउथ एसिया लिडरसिप इन इन्टरप्रेनरसिपको सहकार्यमा आज आयोजित राष्ट्रिय नीति संवाद कार्यक्रमका वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासका लागि ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिनुपर्ने, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्ने, नवप्रवर्तन र उद्यमशीलता विकासमा विदेशी लगानी प्रोत्साहन गर्नेलगायत आवश्यकता औंल्याएका हुन्।
नीति संवाद कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्यालले सरकारले नवप्रवर्तन र युवा उद्यमशीलताका विकासको नीति लिएको भए पनि त्यसमा केही कानुनी र व्यावहारिक अस्पष्टता रहेको बताए।
उनले भने, ‘सोह्रौं आवधिक योजना, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, वार्षिक बजेटमा यो विषय महत्त्वका साथ राखिनेछ । औद्योगिक व्यवसाय ऐनलाई संशोधन गरेर उद्यमशीलता तथा नवप्रवर्तन व्यवसायलाई पनि समेट्नुपर्ने सुझाव आएको छ।’
उद्यमशीलता के हो र यसलाई मुलुकको अर्थतन्त्रलाई कसरी योगदान गर्छ भनेर तीनवटै तहका सरकारले बुझ्न र त्यस्ता व्यवसायलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ। युवा उद्यमशीलता तथा नवप्रवर्तन विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्ने तथा यस क्षेत्रमा देखिएका समस्यालाई कानुनको दायरामा ल्याउन आवश्यक रहेको धारणा पनि सचिव अर्यालले व्यक्त गरे।
नेपाली युवा उद्यमी फोरमका वरिष्ठ उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले नेपालमा उद्यमशीलता विकासका लागि नीति निर्माणमा पर्याप्त बहस पैरवी हुन नसकेको बताए।
ठूलो संख्यामा रोजगारी सिर्जना गरेर युवाहरु बिदेसिने क्रम रोक्न उद्यमशीलतामैत्री कानुनी र व्यवहारगत संरचना तयार पारिनुपर्ने उनले सुझाए।
उद्यमीले सरकारबाट के चाहन्छन् भन्ने कुरालाई गम्भीर रुपमा लिन सके उद्यमशीलता विकास गर्न सकिने धारणा उद्यमी आभूषण ज्योति कंसाकारले व्यक्त गरे।
स्टार्टअप इकोसिस्टम’ निर्माण, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन, नवप्रवर्तन र उद्यमशीलता विकासमा विदेशी लगानी प्रोत्साहनलगायतका काममा सरकारले सहयोग र सहजीकरण गर्नुपर्ने उनले बताए।