काठमाडौं। ब्रिटिस काउन्सिल नेपालले सातौं ‘एजुकेसन सिम्पोसियम’ आयोजना गरेको छ। काठमाडौं शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम (संगोष्ठी) आयोजना गरिएको थियो।
वार्षिक संगोष्ठी विगतका वर्षजसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दामा छलफलका लागि उल्लेखनीय मञ्च सावित भएको काउन्सिलले जनाएको छ। समावेशी शिक्षा, कलामार्फत सृजनशील शिक्षाको मूल्यांकनका लागि शिक्षणका अभ्यासमा प्रविधिको समायोजनलगायत विविध विषयमा सिम्पोसियममा परिचर्चा भएका थिए।
यो वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) मा उल्लेख भएअनुरूपको ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकको निरन्तर पेसागत विकास’ (सीपीडी)’ मा केन्द्रित थियो।
शिक्षक र शिक्षकका प्रशिक्षकको निरन्तर पेसागत विकास (सीपीडी)सम्बन्धी ब्रिटिस काउन्सिलको दृष्टिकोण, विश्वव्यापी बुझाइ तथा शिक्षण र शिक्षकको विकासमा रहेको विज्ञतामा आधारित रहेको छ।
ब्रिटिस काउन्सिलको उद्देश्य विश्वभर नै उच्च स्तरको ’सीपीडी’ उपलब्ध गराउने, शिक्षकको अभ्यास अभिवृद्धि गराउँदै तिनको सिकाइलाई सफल बनाउन योगदान दिने हो।
’विद्यालय शिक्षा क्षेत्र योजना’ ले गुणस्तरीय विद्यालय शिक्षा र हरेक बालबालिकाका लागि न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न शिक्षकको विकास तत्कालै आवश्यक भएको संगोष्ठीमा सहभागीले धारणा व्यक्त गरेका थिए।
सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलबारे छलफल भएको थियो।
यस क्रममा सिम्पोसियममा सेन्टर फर एजुकेसन एन्ड ह्युमन रिसोर्स डेभलपमेन्टको सहकार्यमा तयार गरेका अनुसन्धान कृति ‘नेपालमा सेवारत शिक्षकका प्रशिक्षकका अभ्यास, दृष्टिकोण र पेसागत आवश्यकता’ तथा शिक्षक तालिम पाठ्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सार्वजनिक गरिएको थियो।
‘शिक्षाका लागि विश्वव्यापी साझेदारी (जीपीई)’ लगायत कार्यक्रममार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकांक हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको छ। नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाडौंमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको ‘विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी)’ कार्यान्वयनमा सघाउन प्रतिबद्ध छ,’ नेपालका लागि बेलायती राजदूत रोब फेनले भने।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन मुख्य सहयोगीका रूपमा ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको बताए। शैक्षिक स्तर र अभ्यास सुधारका लागि बेलायतका विद्यालय र संस्थाहरूसँग पेसागत साझेदारी स्थापित गर्न संयुक्त प्रयास पनि भएको उनको भनाइ छ।
ब्रिटिस काउन्सिल नेपालको कन्ट्री निर्देशक शाहिदा म्याक्डोगलले सन् २०३० सम्ममा मध्य आय भएको देशमा स्तरोन्नति हुने लक्ष्य लिएको नेपालले शैक्षिक सुधारको महत्त्वलाई राम्ररी बुझेको बताइन्।
बलियो शैक्षिक प्रणालीले मानिसलाई व्यक्तिगत सफलताका लागि आवश्यक सिप र ज्ञानयुक्त त बनाउनुका साथै देशको आर्थिक वृद्धिदर र सामाजिक विकासका लागि उत्प्रेरकको रूपमा पनि काम गर्ने उनको भनाइ छ।