‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन’
’जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’
स्व. गायिका तारादेवीको आवाजमा सजिएको यो कालजयी गीतका शब्दले धेरै मानिसको जीवनमा मेल खाइरहेको हुन्छ। जीवनको सुरुआतमा धेरै सोच राखिएको हुन्छ। त्यस्ता सबै सोच पूरा हुन्छ भन्ने पनि हुँदैन। जे सोचिन्छ, त्यो नभएर जीवनदेखि हार खानेहरुको संख्या पनि समाजमा धेरै छ। आफूले जस्तो भोग्यो, त्यही खाले जीवन जिउन सकिन्छ भन्ने उदाहरण पनि प्रशस्तै छन्।
भोगाइलाई सिकाइ र संघर्षलाई सफलतासँग दाजेर हिँड्न सक्नेहरु अवश्य पनि सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति हुन, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सन्तोष कोइराला। कोइराला हाल दोस्रो कार्यकालका लागि माछापुच्छ्रे बैंकको सिइओको रुपमा कार्यरत छन्।
जसरी दोस्रो पटक सिइओको रुपमा कार्यभार सम्हालन सहज भयो, त्यति सहज उनका विगत भने थिएनन्। कोइरालाका विगतका घटना केलाउँदै जाने हो भने कहालीलाग्दो छ। तर, उनले आफ्नो लक्ष्य र उद्देश्य प्राप्ति गर्न विगतका अप्ठ्यारा यात्रालाई सहज रुपमा लिएर दुःख र पीडाको पहाड छिचोल्दै सर्वोच्च शिखर चुम्न सफल भएका छन्। अर्थात्, बैंकमा जुनियर पोस्टबाट काम सुरु गरेर सबैभन्दा उच्च तह प्रमुख कार्यकारी अधिकृत(सिइओ) बन्न सफल भएका छन्। त्यो पनि दुईपल्ट।
२०४६ देखि २०४८ सम्म आइएस्सी सकाएपछि पुल्चोक इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरे। त्यसबेलासम्म उनले भविष्यमा इन्जिनियर नै बन्ने अठोटसहित आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका थिए।
जीवनमा आइपरेका हरेक असफलता र असहजतालाई पार लगाउँदै आफ्नो कर्ममा निष्ठावान भएर लागेका सिइओ कोइराला उमेरले ५१औं वर्षमा हिँड्दै छन्। उमेर जति बढ्दै गयो, आफ्नो जिम्मेवारीलाई उति नै गहन रुपमा लिँदै आएका छन्। सायद, आफ्नो जीवनमा भोगेका अनेकन बाधालाई ठूलो रुपमा लिएका भए अहिले यो ठाउँमा हुँदैन थिए होलान्, कोइराला। हुन त, उनले सुरुआती दिन अर्थात् अध्ययनको प्रारम्भिक चरणमा भविष्यमा गएर यही बन्छु र यस्तो काम गर्छु भन्ने सोच राखेका थिएनन्। उनका धेरै योजना बीचमै गएर ब्रेक भएका घटना बग्रेल्ती छन्।
००००
डेढ दशकको बैंकिङ करियरमै सिइओ
बैंकिङ क्षेत्रमा प्रवेश गर्ने जोकोहीको लक्ष्य सिइओ बन्ने नै हो। तर, सबै कर्मचारी सिइओ बन्दैनन्। हजारौं कर्मचारीबाट एक जनाले सिइओ बन्ने अवसर पाउँछन्। तीमध्येका भाग्यमानी कर्मचारी हुन्, सिइओ कोइराला। उनले सन् २००० बाट बैंक अफ काठमाण्डूमा असिन्टेन्ट (सहायक) को रुपमा काम सुरु गरेका थिए। साढे ४ वर्षसम्म काम गर्दा पनि बढुवा नभएपछि सन् २००४ को डिसेम्बरदेखि सानिमा विकास बैंकमा आबद्ध भएका थिए। त्यहाँ रहँदारहँदै सानिमा वाणिज्य बैंक बन्यो। करिब साढे ९ वर्ष सानिमामा बिताएपछि सन् २०१४ मा सिनियर म्यानेजरको रुपमा माछापुच्छ्रे बैंकमा प्रवेश गरे। अहिले आफ्नो चार वर्षे प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कार्यकाल सकाएर पुनः दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।
पढाइमा अब्बल तर, असफल
भोजपुरमा जन्मिएका कोइरालाको स्कुले जीवन झापाको चन्द्रगढीमा बितेको थियो। कक्षा ५ सम्म भोजपुरको सिद्धेश्वर उच्च माविमा अध्ययन गरेका कोइराला जागिरे बुबाको सरुवा भएसँगै त्यहाँबाट अन्यत्र जानुपरेको थियो। उनका बुबा गाउँ पञ्चायतमा जागिरे थिए। त्यही बेला उनले आफ्नो परिवारलाई झापाको भद्रपुरमा ल्याए। झापाको चन्द्रगढीमै बसाइँ सरेपछि कोइरालाले वीरेन्द्र माध्यमिक विद्यालयमा आफ्नो पढाइ अगाडि बढाए। विसं २०४५ मा प्रथम श्रेणीमा एसएसली पास गरेका कोइराला उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको अमृत साइन्स क्याम्पस लैनचौरमा अध्ययनका लागि आए। २०४६ देखि २०४८ सम्म आइएस्सी सकाएपछि पुल्चोक इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ अध्ययनका लागि प्रवेश परीक्षाको तयारी गरे। त्यसबेलासम्म उनले भविष्यमा इन्जिनियर नै बन्ने अठोटसहित आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका थिए।
तर, उनले सोचेको र आँटेजस्तो सबै चीज पूरा हुन नसक्दा इन्जिनियर बन्ने यात्रामा ब्रेक लाग्यो। त्यो ब्रेक अरु कसैले लगाएका भने होइनन्। परीक्षाको तयारी भइरहेकै बेला घरबाट बुबाले सन्तोषलाई भाइको व्रतबन्धको तयारी भइरहेको छ, घर आउनू भन्ने खबर पाए। त्यसपछि उनी झापा लागे। जब उनी झापा पुगे, त्यो बेला मन बदले– अब इन्जिनियरिङ अध्ययन नगर्ने। झापाकै मेची क्याम्पसमा बीकम अध्ययन गर्ने प्रस्ताव बुबासमक्ष राखे। बुबाको अनुमतिपछि झापामै कमर्स विषय अध्ययन सुरु गरे।
त्यो बेला बुबाले कुनै असहमति नजनाएपछि इन्जिनियरिङको यात्रालाई ब्रेक लगाएर बीकम अध्ययन सुरु गरेको उनी सुनाउँछन्।
कोइरालाले बीकममा मेची अञ्चल टपेका थिए। सोही क्रममा उनी एमबीए अध्ययनका लागि पुनः काठमाडौं आएर शंकरदेव क्याम्पसमा भर्ना भए। दसैंका बेला घर जाँदा मेची क्याम्पसमा भेटघाटका लागि पुगे। त्यो बेला उनका शिक्षकले तिमीजस्तो मान्छेले कहाँ एमबीए पढेर बसेको? तिमी त सीए पढ्नुपर्ने व्यक्ति हो भने। जब शिक्षकले सीए अध्ययन गर्न सुझाए, त्यसपछि सन्तोष हौसिएर एमबीए अध्ययन छाडेर सीए पढ्न भारतको चेन्नाई गए। त्यो बेला नेपालमा सीए अध्ययन हुँदैन थियो। कोइराला त्यसपछि इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया, चेन्नाईमा भर्ना भए। तर, विडम्बना भन्नुपर्छ, अध्ययनको सिलसिला चलिरहेका बेला एक वर्षपछि नराम्रोसँग उनी बिरामी परे। परीक्षा आउन दुई महिना मात्र बाँकी रहँदा उनलाई एक्कासि ज्वरोले सताउन थाल्यो। उपचारका लागि त्यहीँको अस्पताल भर्ना हुँदा ब्ल्याक(कालो) जन्डिस भएको थाहा पाए।
त्यसपछि लामो उपचार गर्नुपर्छ भन्ने डाक्टरको सुझाएकै कारण आफ्नो परीक्षा छाडेर नेपाल फर्किएको उनी स्मरण गर्छन्। त्यो बेला करिब १ वर्ष पूर्ण रुपमा आराम गर्नुपर्ने सुझाव डाक्टरले दिएका थिए। स्वास्थ्यमा पूर्ण सुधार आएपछि नेपालबाटै परीक्षा दिने बाटो उनले रोजे। त्यो बेला भारतीय दूतावासबाट सीएका लागि परीक्षा लिने व्यवस्था थियो। त्यसका लागि अनिवार्य प्रवेश परीक्षा पास गर्नुपथ्र्यो। तर, सन्तोषले प्रवेश परीक्षा उत्तीर्ण गर्न सकेनन्। अन्ततः आफ्नो सीए बन्ने सपनालाई त्यागे।
सीए बन्ने सपनालाई त्यागे पनि उनले हार खाएनन्। आफ्ना भाइ त्रिभुवन विश्वविद्यालय अध्ययनका लागि काठमाडौं आउने भएपछि उनी पनि सँगै आए। पढाइको हुटहुटी उनले त्यागेका थिएनन्। सन्तोषले पढाइलाई मात्र प्राथमिकता दिँदा सफल नभएपछि जागिर खाने सुर कसे। अडिट फर्ममा केही समय काम गरे। त्यसअघि झापा बस्दा निजी स्कुलमा अध्यापन गरिसकेका थिए।
एमए (मास्टर) मा राम्रोसँग पढ्न सहयोग गर्ने उद्देश्यले सन्तोषले केही समय होस्टलमा वार्डेनको कामसमेत गरे। केही समय काम गरेपछि उनी सन्तुष्ट हुन सकेनन्। पढाइमा अब्बल हुँदाहुँदै पनि स्वास्थ्य र आफ्नै कारणले बीचमै छाड्नुपर्दा जीवनमा सोचेजस्तो केही नभएको चिन्ताले मानसिक रुपमा केही विक्षिप्त बन्न पुगे। त्यही बेला उनलाई केही समयअघि मेची क्याम्पसकै शिक्षकले एमबीए अध्ययन सकाएर लेक्चर बन्न फर्किआउन गरेको आग्रहलाई झट्ट सम्झिए। अन्तिममा क्याम्पसमा अध्यापन भए पनि पढाइलाई निरन्तरता दिनुपर्छ भन्ने सोच राखेर त्रिभुवन विश्वविद्यालयमा निजीबाट फाराम भरेर परीक्षा दिए।
एमबीएको पहिलो परीक्षामा उनले त्रिभुवन विश्वविद्यालय टपे। उत्तीर्णसम्म हुने अपेक्षा गरेका सन्तोषमा विश्वविद्यालय टपेपछि गोल्डमेडलिस्ट बन्ने सपना पलायो। दोस्रो वर्षको परीक्षामा गोल्डमेडलको सपना लिँदै जागिर छाडेर अध्ययनलाई मात्र फोकस गरिरहेका बेला साथीले अकस्मात निजीबाट अध्ययन गरेकाले सो अवसर नपाउने व्यवस्था रहेको सुनाए। जब उनले यो खबर थाहा पाए, त्यसपछि स्तब्ध भए। तैपनि उनले हार मानेनन् र आफ्नो अध्ययनलाई अगाडि बढाए। कलेज पढाउनकै लागि गोल्डमेडल आवश्यक नपर्ने हुँदा अध्ययनलाई निरन्तरता दिइरहे।
बैंक अफ काठमाण्डूमा प्रवेश कथा
त्रिविमा अध्ययनकै क्रममा सन् १९९९ मा उनले बैंक अफ काठमाण्डूमा जागिर खुलेको जानकारी पाए। कल्पनासमेत नगरेको क्षेत्रमा जागिर खुलेपछि उनी आफ्नो नयाँ यात्रामा लाग्ने निधो गरे। हुन त, त्यो बेला उनका मामाका छोरा बैंकमा जागिरे भइसकेका थिए। कोइरालाले उनीहरुबाटै बैंकको जागिरको विषयमा जानकारी लिएपछि फाराम भर्न गए।
त्यो बेला असिस्टेन्ट(सहायक)का लागि आवेदन दिए। संयोग भन्नुपर्छ, परीक्षामा सोधिएका सबै प्रश्नको उत्तर मिलाउन सफल भए। परीक्षामा पास भएपछि अन्तर्वार्ताअघि कम्प्युटर परीक्षा लिइने जानकारी बैंकबाट पाए। तर, उनले त्यो बेला कम्प्युटरसम्बन्धी कुनै ज्ञान लिएका थिएनन्। एकातिर बैंकबाट ७ दिनपछि कम्प्युटरको टेस्ट दिन बोलाइएपछि उनी फेरि तनावमा परे। त्यही बेला चेन्नाईमा भेटेका राम गौतमको बागबजारमा कम्प्युटर तालिम केन्द्र भएको थाहा पाउनासाथ उनी त्यहाँ पुगे।
रामसँग ‘बैंकमा जागिर मिल्लाजस्तो छ। मलाई ७ दिनमा कम्प्युटर सिकाइदिनुप¥यो भन्ने प्रस्ताव राखेपछि कोइरालाले निःशुल्क दिनैभरि सिक्ने अवसर पाए। त्यो बेलासम्म किबोर्ड नै नछोएका कोइरालाले दिनरात मिहिनेत गरेर केही सिक्न सफल भए। बैंकमा कम्प्युटरमा समेत पास भएपछि अन्तर्वार्ताका लागि उनलाई खबर गरियो। त्यो बेला हाल डेपुटी सिइओ सरोज थापासमेत त्यहाँ सँगै अन्तर्वार्ताका लागि आएका थिए।
अन्तर्वार्ताका क्रममा सबै प्रश्नको उत्तर दिएपछि प्रश्नकर्ता विवेक ढुंगाना (हाल क्यानडा बस्ने)ले बैंकका लागि चाहिएको पदमा भन्दा बढी योग्य भएकाले दोस्रो चरणमा खुल्ने परीक्षामा सहभागी हुन आग्रह गरे। ढुंगानाले कोइरालालाई यो पदमा जागिर नखान सुझाए। ढुंगानाको सुझावपछि सन्तोष अक्क न बक्क भए। उनले आफूले जसरी पनि जागिर खाने अडान लिए। त्यसपछि बल्ल छनोटमा परेको खबर उनले पाए।
००००
हार नखानु नै सफलताको सूत्र
जिन्दगीमा असफलता धेरै हुन्छन् र भोगिन्छन् पनि। तर, त्यो असफलताबाट निरास नभई उत्साह र जाँगर लिएर अगाडि बढ्ने मान्छे एक दिन अवश्य सफलताको सिँढी चढेरै छाड्छ। बैंकर सन्तोषले जीवनमा धेरै पटक हार बेहोरे। तैपनि उनले हिम्मत हारेनन्। सफलताका लागि चालेको कदमलाई सही गन्तव्यमा लैजान गरेको निरन्तरको प्रयासमा हारलाई पराजित गरेका सन्तोषको
उदाहरण साँच्चिकै लोभलाग्दो छ।
शिक्षक, अडिट फर्मको जागिरे, होस्टल वार्डेनदेखि बैंकको सहायक कर्मचारी भएर काम गर्दा उनले कहिल्यै पनि आफ्नो जीवनदेखि हार खाएनन्। उनलाई लाग्थ्यो, एक दिन अवश्य सफलता मिल्छ। उनले सोहीअनुसारको मिहिनेत पनि गरे। निरन्तरको पराजयलाई पराजित गरेकै परिणाम अहिले माछापुच्छ्रे बैंकमा दोस्रो पटक सिइओमा नियुक्त भएका छन्। जिन्दगीमा जहिल्यै सकारात्मक सोच राखियो सफलताले पछ्याउँछ भन्ने धारणा उनको छ।
परिवारका सातै जना पिएचडी होल्डर
कोइरालाको परिवारमा सात जना जति पिएचडी होल्डर छन्। पारिवारिक माहोलै अध्ययनमा होमिने भएकाले उनलाई कुनै पनि विषय पढ्न असहज भएन। अध्ययनका क्रममा धेरै पटक असफल हुँदा पनि उनले कहिल्यै हार खाएनन्। पारिवारिक माहोल हेर्दा उनी प्रोफेसर हुनुपर्ने हो। तर, उनले आफ्नो पारिवारिक पृष्ठभूमिलाई बदलेर बैंकिङ क्षेत्र रोजेका छन्। उनले सफलताको शिखरसमेत चुमिइसकेका छन्। मध्यमवर्गीय परिवारमा हुर्किएका कोइरालासँग खान–बस्न पुग्ने तर धेरै खर्च गर्न सक्ने क्षमता थिएन। २०५६ मा जागिर सुरु गरेपछि उनले विवाह गरे।
श्रीमती पनि एमए टपर तर, खाइनन् जागिर
पढाइमा तीक्ष्ण हुँदाहुँदै पनि कोइरालाकी श्रीमती निशा पोखरेलले जागिर खाइनन्। कुनै पनि पुरुषको सफलताका पछाडि श्रीमतीको ठूलो हात र साथ रहन्छ भन्ने उदाहरण कोइराला दम्पतीमा देखिएको छ। बैंकमा जागिर खाएपछि धेरै समय खट्नुपर्ने र परिवारलाई समय दिन नसक्ने स्थिति आउने भएपछि निशाले जागिर नखाई घरपरिवारको टेको बनिन्। ‘श्रीमतीले त्यो लेबलको त्याग नगरेको भए म यो स्थानसम्म आउन सहज हुने थिएन,’ सिईओ कोइरालाले भने। यद्यपि श्रीमतीले ग्रामीण विकासमा डिग्री गरेकाले आइएनजिओमा काम गर्ने चाहनासमेत त्यागेर परिवारलाई समय दिएको कोइराला सुनाउँछन्। बीचमा उनले माइक्रोबायोलोजीसमेत गरिन्।
केही समयपछि दुई छोरी हुर्काएर हायर पर्चेज कम्पनीमा एक महिना जागिर खाए पनि उनले निरन्तरता दिइनन्। ‘अहिले आफ्नो जागिरे यात्रा नै टुंग्याएकी छन्। छोरीहरुको पढाइ पनि अब्बल छ। त्यसको सम्पूर्ण श्रेय श्रीमती निशालाई नै जान्छ’, सिइओ कोइरालाले भने।
सिइओ बन्ने सोचेकै थिएनन्
कोइरालाले जागिर सुरु गरिरहँदा कुनै बेला बैंकको सिइओ बन्छु भन्ने सोचेका थिएनन्। त्यो बेला बैंकका सिइओलाई भेट्न त परै जाओस्, देख्नसमेत मुस्किल पथ्र्यो। अहिले सबै सिइओले आफ्ना कर्मचारीलाई सहजै भेट दिन्छन्। बैंक अफ काठमाण्डूमा चार वर्ष जागिर खाँदा सिइओलाई दुईपल्ट भेटेको सम्झिन्छन्, उनी। जतिबेला बिओकेको प्रमुख कार्यकारी अधिकृत राधेश पन्त थिए।
माछापुच्छ्र बैंक अब डिजिटाइजेसन
माछापुच्छ्रे बलियो बैंक भइसकेको सन्देश स्थापित भइसकेको कोइराला दाबी गर्छन्। अब बैंकलाई डिजिटाइजेसनमा अब्बल बनाउने योजनाका साथ अगाडि बढेको उनका भनाइ छ। अहिले डिजिटलका लागि बैंकसँग दक्ष टिम रहेकाले डिजिटाइज्मा लैजाने योजना उनले बनाएका छन्। माछापुच्छ्रे अहिले नै पेपरलेस बैंक भइसकेकाले अबको मिसन डिजिटाइजेसन रहेको हुँदा नयाँ–नयाँ प्रविधि भित्र्याउने योजना बनाएको कोइराला बताउँछन्। फाइनान्सियल र टेक्नोलोजीलाई सँगसँगै अब्बल बनाएर लैजाने गरी रोडम्याप बनाइसकेका छन्।
अवकाशपछि बैंकिङ क्षेत्र बाईबाई
माछापुच्छ्रे बैंक सिइओको कार्यकाल सकिएपछि सक्रिय रुपमा बैंकर बन्ने योजना अहिले नबनाएको कोइराला सुनाउँछन्। माछापुच्छ्रेमा दुई पटक सिइओ भएसँगै पुनः काम गर्न नमिल्ने भएपछि उनले बैंकिङ क्षेत्रमा क्रियाशील हुनुभन्दा अन्यत्र काम गर्ने योजना बनाएका छन्। यद्यपि, कोइराला अबको चार वर्षपछि कुन क्षेत्रमा जाने भन्ने योजना सार्वजनिक गर्न चाहन्नन्।