काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटा बैंक बिगार्न अर्को बैंक नै सक्रिय भइरहेको आरोप लगाएका छन्। त्यसैको पहलस्वरुप पछिल्लो समय बैंक बिग्रेको र फेल भएको हल्ला चलाइएको उनले बताए।
सोमबार राजधानीमा बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा सहभागी गभर्नर अधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन्।
गभर्नर अधिकारीले एउटै संस्था (बैंक) ले अर्को सोही प्रकृतिको संस्थालाई फेलियर बनाउँदा एउटालाई खाने बाघले अर्कोलाई पनि खान्छ भन्ने बुझ्नुपर्ने औंल्याए। उनले ऋणीको क्षमताभन्दा बढी कर्जा दिएसँगै चालू पुँजी कर्जाले बाँधिँदा कर्जाको साँवाब्याज भुक्तानीमा समस्या देखिएको बताए।
केही समयअघिको ओभर फाइनान्सिनले अहिले बैंक र ऋणी दुवैलाई समस्या भएको उनको भनाइ छ। उनले भने, ‘सहकारीमा समस्या आउँदा सहकारीका साना बचतकर्ताले बैंकको कर्जाको समयमै साँवाब्याज तिर्न नसकेका हुन्। समस्या देखिएका र भएका सहकारीलाई सरकारले नै व्यवस्थापन गर्नुपर्छ।’
निर्माण क्षेत्रमा सरकारले दिनुपर्ने भुक्तानी रोकिँदा यो क्षेत्रका गतिविधि प्रभावित भएको र बैंकको रि–पेमेन्टमा समस्या आएको उनले जनाए। ‘अहिले बैंकहरुमा एनपिएलको रियल पिक्चर आएको हो। चालू पुँजी कर्जाले बैंकहरुलाई ऋण तिर्न र ऋण दिने प्रवित्तिलाई रोक्यो। त्यसले गर्दा बैंकहरुमा रियल एनपिए देखिएको हो। तथापि नेट एनपिए कमै छ, १.१३ प्रतिशत’, गभर्नर अधिकारीले भने।
बैंक तथा वित्तीय संस्थालाई स्वस्थ बनाइराख्न यसबीचमा नियमनकारी निकाय (राष्ट्र बैंक)ले ल्याएका विभिन्न प्रावधानमा धेरै विरोध र टिप्पणी गरिएकामा गभर्नर अधिकारीले असन्तुष्टि जनाए।
‘सिडी रेसियो प्रावधानको विरोध धेरै भए तर त्यसको पालनाले एनआइसी एसिया बैंकका लागि कति लाभदायक भएको थियो, यो कुरा त्यहाँका सिइओलाई थाहा होला।’
बैंक फेल नहुने होइन तर फेल हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा के असर पर्छ भनेर मसिनो गरी हेर्नुपर्नेमा उनले जोड दिए। ‘नेपालका कुनै पनि बैंक फेल हुने अवस्थामा छैनन्। फेल भए राष्ट्र बैंकले निक्षेपकर्ताको पैसा डुब्न दिँदैन’, उनले भने।