काठमाडौं। उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोसी प्रदेश र विराट व्यापार संघ नवनिर्वाचित कार्यसमितिको स्वागत गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यबद्धताको आग्रह गरेको छ।
भेटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हकहितका लागि स्थापित संस्थाहरु मिलेर अघि बढ्न र यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामूहिक पहल गर्नुपर्ने धारणा राखे।
हाल उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएकाले समस्या समाधानका लागि संस्थागत ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ छ।
अध्यक्ष सुरानाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकायबीच सकारात्मक सम्बन्ध विकास गर्न निजी क्षेत्रका संस्थाको भूमिका महत्त्वपूर्ण हुने दाबी गरे।
नेपाल उद्योग परिसंघ कोसी प्रदेश अध्यक्ष पवन शारडाले हाल उद्योग व्यवसायमा छाएको सुस्त गति अन्त्य गर्न औद्योगिक क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्था एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए। आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्या समाधानका लागि निजी क्षेत्रका संस्थाले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामूहिक रुपमा लगेर राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा अध्यक्ष शारडाले जोड दिए। .
विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले व्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले निकासको बाटो पहिल्याउने विषयमा संघ संस्थागत रुपमा तत्पर रहेको बताए। उनले समस्यै समस्याको भूमरीमा जेलिएका व्यावसायिक क्षेत्रबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सबलीकरणका लागि सामूहिक पहल गरी व्यावसायिक विकासको पक्षमा सकारात्मक वातावरण बनाउनुपर्ने जनाए।
कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोसी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यका साथै महिला उद्यमी सहभागी थिए।