काठमाडौं। सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन हाँडीगाउँबाट ‘हावाको कुरा गरौं’ अभियान सुरु भएको छ।
काठमाडौं महानगरले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो।
अभियानमा सवारीसाधन प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजानेलगायत क्रियाकलाप हुनेछन्। यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयको आयमा टेवा पु¥याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवर्द्धन गरिनेछ।
यस्ता क्रियाकलापबाट काठमाडौंका सम्पदाको संरक्षण र प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुग्ने र मौलिकपन र जीवन्तता पुनःस्थापना हुने अपेक्षा गरिएको छ।
यसअघि पनि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका थिए। सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सीप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपि लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यवादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ।
कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ।
यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुग्नुका साथै स्थानीयको अपनत्व वृद्धि भएको छ।
काठमाडौंको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ। यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।