काठमाडौं। मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य सूचीकृत कम्पनीको सूची सार्वजनिक गरेको छ। नेप्सेले आज सार्वजनिक गरेको सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनी मार्जिन कारोबारका लागि योग्य देखिएका हुन्।
नेप्सेले कारोबारयोग्य भनेर सार्वजनिक गरेमध्ये १९ वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन्। यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ।
जलविद्युत् लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्यमा सूचीकृत भएका छन्।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीको सूची सार्वजनिक गरेको हो।
म्युचुअल फन्ड र डिबेञ्चर बाहेक २०७९ पुस मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २७१ वटा छ। नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ।
यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ। सोहीअनुसार नेप्सेले सूची सार्वजनिक गरेको हो । नेप्सेले हरेक वर्ष मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनी छनोट गरे पनि मार्जिन सुविधा कार्यान्वयनमा आउन सकेको छैन।
‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार लाभांश वितरण, कम्पनीको नाफा लगायत अन्य वित्तीय विवरण बलिया भएका कम्पनी मात्रै योग्य हुने गर्दछन्।
कार्यविधिअनुसार सेयरधनीले यस्तो सुविधा प्रयोग गर्न कम्पनीको १० हजारभन्दा बढी सेयरधनी हुनुपर्ने, चुक्ता पुँजीभन्दा बढी नेटवर्थ भएको हुनुपर्ने र विगत दुई वर्षयता सेयरधनीलाई १० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको हुनुपर्ने व्यवस्था छ। त्यस्तै, दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिन सेयर कारोबार भएको हुनुपर्ने, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको हुनुपर्ने उल्लेख छ।
मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने काम हो। सामान्य अर्थमा पुँजी बजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने सुविधा नै मार्जिन कारोबार हो।
मार्जिन कारोबारयोग्य कम्पनीको सूची