भोजपुर। भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन्। यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन्। बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषि उपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन्।
मुख्यरुपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित कृषिबाली उत्पादनमा यो कार्यक्रमले सहयोग गर्दै आएको छ। वन तथा वातावरण मन्त्रालय, सिप्रेड, इसीमोड संस्था र रामप्रसादराई गाउँपालिकाको साझेदारीमा नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत अर्गानिक खेतीलाई पहिलो प्राथमिकतामा राखेर यहाँ काम अघि बढाइएको हो। किसानलाई विषदीरहित अर्गानिक उत्पादनमा जोड्न रामप्रसादराई गाउँपालिकाको वडा नं १, ३, ४ र वडा नं ६ मा अर्गानिक खेती विस्तार थालिएको छ।
अर्गानिक खेती विस्तारको लागि ५ वटा नमूना कृषि सिकाइ केन्द्र निर्माण गरिएको छ। सिकाइ केन्द्रमा वडा नं. १ मा ४० रोपनीमा र वडा नं ६ मा १५ रोपनी गरी ५५ रोपनी क्षेत्रमा विभिन्न बाली लगाएर किसानलाई अर्गानिक उत्पादनको लागि आवश्यक ज्ञान दिँदै आएको सिप्रेड, इसीमोडका प्राविधिक मोतीमान लिम्बूले जानकारी दिए। सिकाइ केन्द्रमा नमूना तरकारी खेती भइरहेको उनको भनाइ छ। 'किसानलाई अर्गानिक उत्पादनमा जोड्न विभिन्न स्थानमा सिकाई केन्द्र स्थापना गरेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ,' उनले भने, 'हाम्रो लक्ष्य किसानलाई अर्गानिक उत्पादनमा जोडेर आत्मनिर्भर बनाउनु हो। यो कार्यक्रम सञ्चालनमा आएपछि यहाँका धेरै किसान अर्गानिक खेती प्रणालीमा जोडिएको अवस्था छ।'
जलवायु अनुकूलनका प्रविधि सिकाएर अर्गानिक र स्वास्थ्यकर कृषि उत्पादनमा प्रोत्साहन गरिएको उनको भनाइ छ। कृषि कार्यक्रमअन्तर्गत हरित गृह (ग्रिनहाउस) निर्माण, झोल मल उत्पादनको विषयमा किसानलाई अभ्यासमूलक सिकाइमा आबद्ध गराइएको उनको भनाइ छ। विगतका वर्षबाट वडा नं २ खेनामा नेपाल जलवायु नमूना गाउँ घोषणा गरेर आवश्यक काम भइरहेको छ। यो गाउँमा भइरहेको कामलाई निरन्तरता दिँदै अन्य वडामा पनि विस्तार थालिएको हो। यो कार्यक्रम कोशी प्रदेशमा भोजपुरको रामप्रसादराई गाउँपालिकामा मात्र सञ्चालन भइरहेको जनाइएको छ। जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत कृषिलगायत अन्य वातावरण संरक्षणसम्बन्धी कार्य गर्नको लागि यो वर्ष एक करोड ५० लाख रुपैयाँ बजेट रहेको गाउँपालिकाले जनाएको छ। यो बजेटबाट जलवायु परिवर्तनलाई ध्यानमा राख्दै कृषिसँगै, मुहान संरक्षण, पैदलमार्ग निर्माण, हरित गृह (ग्रिन हाउस) निर्माण, पर्यटकीय क्षेत्रको विकासमा समेत काम भइरहेको छ।
बर्सेनि खतीयोग्य जमिन बाँझिदै गइरहेकाले बाँझो जमिनको सदुपयोग गर्दै किसानलाई अर्गानिक र व्यावसायिक खेती प्रविधिमा जोड्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। यो कार्यक्रम लागू भएपछि धेरै किसान व्यावसायिक अर्गानिक कृषि उत्पादनमा जुटेको अध्यक्ष राईको भनाइ छ। उत्पादित वस्तुको बजारीकरणमा किसानलाई आवश्यक सहयोग गर्दै उत्पादनको आधारमा प्रोत्साहन गर्ने उनको भनाइ छ। रासस