काठमाडौं। पर्यटन व्यवसायी तथा पर्वतारोही ल्हाक्पा सोनाम शेर्पाले हिमालको छोरा (हिम्बु) नामक आत्मकथा विमोचन गरेका छन्।
३३ वटा शिर्षकमा लेखक शेर्पाले आफ्नो जीवनीमा आधारित विविध संस्मरणहरु प्रकाशित गरेका छन्। उनले नेपालको पर्यटन क्षेत्रमा विताएको ५० वर्षको अवधिमा भोग्नु परेका उतारचढावहरु पुस्तकमा प्रकाशित गरिएको छ। आइतबार साँझ राजधानीमा पुस्तकको विमोचन गरिएको छ।
पुस्तक विमोचन कार्यक्रममा सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सगरमाथा आरोहण अभियानका एक मात्र जीवित सदस्य कान्छा शेर्पा, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य, अमेरिकाका लागि भुतपुर्व राजदुत डाक्टर अर्जुन कार्कि, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शार्पा आदिको उपस्थिति थियो।
यस्तै, विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी दक्षिण एशियाकै पहिलो आरोही बन्न सफल मिङमा शेर्पा र एसियाकै पहिलो महिला अन्तराष्ट्रिय माउन्टेन गाईड दावा याङ्जुङ शेर्पाले संयुक्त रुपमा विमोचन गरेका थिए।
लेखक शेर्पाकी जेठि छोरी तथा स्पेनका लागि नेपालकी पूर्व राजदूत दावाफुटी शेर्पाले स्वागत गरेकी थिइन्। पुस्तकको सम्पादक साहित्यकार युवराज नयांघरे, प्रोफेसर महेश पौडेलले समीक्षा गरेका थिए।
सोलुखुम्बुको पाङगोमा गाँउमा जन्मिएका लेखक शेर्पाले १३ वर्षको उमेरमा घरबाट भागेर काठमाडौं आइ मेस ब्वाईको हैसियतले पर्यटन क्षेत्रमा काम सुरु गरेका थिए।
त्यसपछि अन्य कार्य गर्दै फ्रान्समा स्की सम्बन्धी काम गरेका उनले सन् १९८८ मा थामसेर्कु ट्रेकिङ स्थापना गरेका थिए।उक्त कम्पनीले १६ वर्षसम्म नेपालको उत्कृष्ट ट्रेकिङ कम्पनीको पुरस्कार पाएको थियो।
उनि यति एयरलाईन्स र तारा एयरका संस्थापक हुन। उनको कम्पनीले विभिन्न जिल्लामा होटल संचालन गर्दै आएका छन्। लेखक शेर्पाले सन् १९८७ मा पहिलो पटक थामसेर्कु हिमालको आरोहण गरेका थिए।
त्यसपछि अन्य हिमाल चढेका उनले ६० वर्षको उमेरपछि विश्वका सातवटा महादेशमा रहेका सबै उच्च हिमालको सफल आरोहण गरेका थिए। उनले सेभेन समिटको अनुभव सबिस्तार पुस्तकमा उल्लेख गरेका छन्।
लेखक शेर्पाले आगामी दिनमा सास ट्रष्ट मार्फत सामाजिक सेवामा क्रियाशील हुदै जाने लक्ष्य राखेका उनले बताए। हिम्बु पुस्तक बिक्रिबाट संकलित भएको रकम सास ट्रस्टद्वारा संचालन गरिने सामाजिक सेवामा खर्च गर्ने जनाएको छ।
उनले पुस्तक विक्रिबाट प्राप्त रकम मध्य जन्मगाउँको संस्था ह्यम्बु ठमिछो किदुक खरिखोला, हिमाली क्षेत्रको मन्दिर त्रिपुरा सुन्दरी डोल्पा र घुन्सा फाउन्डेशन ताप्लेजुङलाई एक लाखको दरले प्रदान गर्ने समेत उनले घोषणा गरेका छन्।