काठमाडौं। सेयर मूल्यमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड (बिएनएल)ले आफ्नो सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेड (बिएनटी)लाई पछि पारेको छ।
हरेक कारोबारमा सर्किट लेबल वृद्धि गराउँदै बोटलर्स बालाजुले आफ्नो सहायक कम्पनी बोटलर्स तराईलाई पछि पारेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार फागुन १३ गते आइतबारमा आइपुग्दा बोटलर्स बालाजुको सेयर मूल्य १४ हजार ७५६.७० रुपैयाँ प्रतिकित्तामा पुगेको छ। उता बोटलर्स तराईको सेयर मूल्य भने १३ हजार ६०० रुपैयाँ प्रतिकित्तामा सीमित छ।
केही समय अघिसम्म दुई हजार रुपैयाँ प्रतिकित्ता भन्दा तल मूल्य रहेको बोटलर्स बालाजुको सेयर मूल्य लगातार बढिरहेको थियो। बोटलर्स बालाजुको सेयर मूल्य लगातार बढेर उछिन्न लागेपछि तराईको सेयर मूल्य पनि बढाउने प्रयास गरियो। तर, त्यो प्रयासलाई पनि उछिन्दै बोटलर्स बालाजुले आफ्नो सेयर मूल्य १४ हजार माथि पुर्याउन सफल भएको हो।
फागुन ८ गते मंगलबार बोटलर्स तराईको सेयर मूल्य ११ हजार ९९५.२ रुपैयाँ प्रतिकित्तामा बन्द भएको थियो। यसभन्दा अगाडि लामो समयसम्म नगन्य मात्रामा घटबढ हुँदै आएको बोटलर्स तराईको सेयर मूल्यलाई बोटलर्स बालाजुले भेट्ने भएपछि बढाउन थालियो।
फागुन ९ गते यस कम्पनीको सेयर मूल्य १३ हजार १९४ रुपैयाँ प्रतिकित्ता पुर्याउँदा फागुन १० गते बिहीबार १३ हजार ९ सय ५० रुपैयाँ प्रतिकित्तामा पुर्याइयो।
यसरी वृद्धि गर्दा पनि बोटलर्स बालाजुले नै उछिनेपछि फागुन १३ गते अर्थात् पछिल्लो कारोबार दिन आइतबार भने बोटलर्स तराईको सेयर मूल्य २.५१ प्रतिशत घटेर १३ हजार ६०० रुपैयाँ प्रतिकित्तामा बन्द भएको छ।
अर्कोतर्फ, बोटलर्स बालाजुको सेयर मूल्य वृद्धिले भने फागुन १३ गते आइबार पनि निरन्तरता पाएको छ। नेप्से सूचक २६.८१ अंकले घटेर १९७९.०२ को बिन्दुमा झर्दा बोटलर्स बालाजुको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको हो।
२०७३ कात्तिक १७ गते बोटलर्स बालाजुको सेयर प्रतिकित्ता १ हजार ६६० रुपैयाँमा किनबेच भएको थियो। यसपछि बढ्दै आएर २०८० फागुन ३ गते बिहीबार बोटलर्स बालाजुको सेयर मूल्य ९ हजार ३११ रुपैयाँ ८० पैसामा कारोबार भयो।
यसपछि फागुन ६ गते आइतबार बढेर १० हजार २४२.९० रुपैयाँ प्रतिकित्ता, फागुन ८ गते मंगलबार ११ हजार २६७.१० रुपैयाँ, फागुन ९ गते बुधबार १२ हजार ३९३.८० रुपैयाँ, फागुन १० गते बिहीबार १३ हजार ४१५.२० रुपैयाँ हुँदै फागुन १३ गते आइतबारसम्म आइपुग्दा १४ हजार ७५६.७० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको हो। लगतार ‘सर्किट’ लागेर (१० प्रतिशत)ले बढ्दै आएकाले बोटलर्स बालाजुको सेयर मूल्य अझै माथि पुग्ने देखिन्छ।
बोटलर्स नेपाल बालाजुमा कोकाकोला साउथ वेस्ट एसिया होल्डिङको ७६.१६ प्रतिशत, गोर्खा बु्रअरी प्रालिको २२ प्रतिशत र सर्वसाधारण सेयरधनीको १.८४ प्रतिशत सेयर हिस्सा छ। तर, त्यही बोटलर्स नेपालकै स्वामित्व रहेको बोटलर्स तराईमा बोटलर्स नेपालको ९०.७८ प्रतिशत हिस्सा छ भने ९.२२ प्रतिशत हिस्सा सर्वसाधारणको छ।
माउ कम्पनीको भन्दा सहायक कम्पनीको सेयर मूल्य बढी भएपछि बोटलर्स तराईलाई पछि पार्न बोटलर्स बालाजुको सेयर मूल्यमा सर्किट लगाइएको हो। बोटलर्स बालाजुको सेयर मूल्य लगातार बढेपछि बोटलर्स तराईको सेयर मूल्य बढाउने खेल पनि भयो।
तर, बोटलर्स तराईमा सर्वसाधारणको हिस्सा तुलनात्मक रुपमा बढी अर्थात् ९.२२ प्रतिशत रहेकाले बोटलर्स बालाजुअनुसार सहजै मूल्य बढाउन सम्भव भएन। यसले गर्दा बोटलर्स तराईको सेयर मूल्य बढाउने खेलमा ब्रेक लागेको देखिन्छ।
विशेषगरी सर्वसाधारणको हिस्सा थोरै भएको कम्पनीको सेयर थोरै व्यक्तिको हातमा हुने भएकाले उनीहरुको चाहनाअनुरुप मूल्य घटबढ गरिँदै आएको छ। सर्वसाधारणको सेयर स्वामित्व कम रहेका कम्पनीहरुको सेयर मूल्य बढाउने/घटाउने काम सेयर होल्डरले मिलेमतोमा गर्न सक्छन्। बोटलर्स बालाजु र बोटलर्स तराईको सेयर मूल्यका सन्दर्भमा पनि यस्तै देखिएको हो।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासको विवरणअनुसार बोटलर्स तराईले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। गत वर्षको यसै अवधिमा यो कम्पनी १५ करोड ३२ लाख नाफामा थियो। यस्तै, बोटलर्स बालाजुले ६ महिनामा १५ करोड १५ लाख रुपैयाँ खुद घाटा बेहोरेको छ। गत वर्ष कम्पनीले २९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।