काठमाडौं। होटल संघ नेपालले आउँदो मार्च ३ तारिखदेखि ६ तारिखसम्म सीताराम दर्शन तथा पर्यटन प्रबर्द्धन कार्यक्रमको तयारी पूरा भएको बताएको छ। उक्त कार्यक्रममा काठमाडौंलगायत देशैभरबाट ७० भन्दा बढी सदस्य होटलहरूले भाग लिने छन्।
नेपालको प्रचारप्रसार र पर्यटन प्रबर्द्धनका लागि परम्पराअनुसार जानकी मन्दिरमा पूजा अर्चना तथा आरती गरी प्रसाद सौगातका साथै अन्य उपहारसहित अयोध्या राम मन्दिरमा चढाइने छ। यस कार्यक्रमबाट नेपाल र भारतबीच सदियौंदेखि रहिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ हुने र भारतबाट धार्मिक पर्यटकहरू नेपाल भित्र्याउन मद्दत पुग्ने पनि होटल संघ नेपालको विश्वास छ।
लखनउमा हुने बीटुबी कार्यक्रममा स्थानीय तथा कानपुर र गोरखपुरका १ सय जनाभन्दा बढी प्रतिष्ठित टूर अपरेटरका साथै स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहनेछ। सोही अवसरमा आयोजना हुने कार्यक्रममा बर्दिया, नेपालगञ्ज, लुम्बिनी, वीरगन्ज, विराटनगर, पोखरा, चितवन र काठमाडौंसहति सातै प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको प्रस्तुतीकरण रहने होटल संघ नेपालले बताएको छ।
आउँदो गर्मीको छुट्टीमा धेरैभन्दा धेरै परिवारसहितको भारतीय पर्यटकहरुलाई नेपाल घुम्न आकर्षित गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको संघको भनाइ छ। सोही कार्यको प्रचारप्रसारका लागि होटल संघ नेपालले हिन्दी भाषामा आकर्षक पर्यटन परिचय पुस्तिका पनि प्रकाशित गरी वितरण गर्ने बताएको छ।
भारतको अयोध्यालाई आध्यात्मिक केन्द्रको रूपमा विकास गरिरहेको परिप्रेक्ष्यमा करोडौं पर्यटकहरू उक्त स्थानमा आउने हुँदा नेपाल सीमाभन्दा २ सय किमी आसपास मात्र टाढा भएको उक्त स्थानबाट केही प्रतिशत मात्र पर्यटक नेपाल आकर्षित गर्न सके पर्यटन उद्योगमा टेवा पुग्ने लक्ष्य राखिएको समेत संघले बताएको छ। यस कार्यक्रमलाई संघको वार्षिक क्यालेन्डरमा राखी प्रचारप्रसारका कार्यक्रम तय गरिने संघको विज्ञप्तिमा उल्लेख छ।
उपरोक्त कार्यक्रमबाट ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’जस्ता क्षेत्रीय पर्यटन प्रबद्र्धनका कार्यक्रमको सफलतामा प्रत्यक्ष योगदान पुग्न गई आउँदो गर्मी याममा भारतमा सञ्चालन गरिने ‘गर्मी से बेहाल चलो नेपाल’जस्ता कार्यक्रम पनि प्रभावकारी रहने संघले बताएको छ।