२०५० भदौमा बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण) बाट बिमा सर्भेयरको लाइसेन्स (अनुमति) लिएका मोहन पुरुष ढकालले केही समय पर्यटक पथ प्रदर्शक (टुरिस्ट गाइड) को काम पनि गरे। तर, त्यसबाट सन्तुष्ट नभएपछि फेरि बिमा क्षेत्रमै फर्किए। अहिले बिमा सर्भेयरको रुपमा काम गरिरहेका छन्। हालै भएको सर्भेयर संघको निर्वाचनबाट दोस्रो पटक अध्यक्ष चुनिएका ढकाललाई क्यापिटल नेपालका पदम भुजेल र कमला भण्डारीले सोधेका ५ प्रश्न।
सर्भेयरले बिमा कम्पनीसँग मिलेर बीमितलाई पीडित बनाएको आरोप छ। यस्तो स्थिति कसरी आयो ?
सर्भेयरलाई नियुक्त गर्ने प्रणाली जुन हो, त्यो प्रणालीअनुसार हामी इन्योरेन्स कम्पनीमा लिस्टिङ हुन्छौं। अनि, क्षति भएपछि मूल्यांकनका लागि इन्योरेन्स कम्पनीले आफ्नो लिस्टिङ भएको सर्भेयरमध्येबाट आफूलाई उचित लागेको सर्भेयरलाई पठाउँछ। अतः सर्भेयरले बजारमा राम्रो छवि राख्यो भने भोलि उसबारे गुनासो आउँदैन। इन्योरेन्स कम्पनीले २ वटा कामको ठाउँमा ४ वटा काम दिन्छ। त्यसबारे गुनासो गरिए काम नदिन वा कम गर्न पनि सक्छ। त्यसैले यो कुरा सर्भेयरसँग जोडिएको हो। कम्पनी र सर्भेयर मिलेर बीमितलाई दुःख दिए भन्ने कुरा वास्तविक होइन।
उदाहरणका लागि तपाईंको कुनै एउटा सम्पत्तिको बिमा १ लाख रुपैयाँ दाबी गर्नुप¥यो। हामीले हिसाब गर्दा पनि १ लाख नै हुन्छ। तपाईं एकदमै असल मान्छे। तपाईंको १ लाख खर्च भएको छ। १ लाख नै माग्नुहुन्छ। अब सर्भेयरले दिँदा १ लाखभन्दा कम हुन्छ किनभने बिमाका कतिपय आधार छन्।
आजका दिनमा तपाईंले गाडी किन्नुभयो। तपाईंको गाडी ६ महिनाभित्रको छ। पूरै इन्योरेन्स हुन्छ, काटिनुपर्ने छैन। तर, तपाईंले जुन सामान फेर्नुभयो, फेरिएको सामानको भौतिक उपस्थित भयो। त्यो भौतिक वस्तु कबाडीलाई नै बेचियो भने किलोको भरमा लिएर जान्छ। त्यसलाई हामीले ‘कन्डिसन’ हेरेर ‘रिकन्डिसन’ हुन सक्ने खाललाई १० प्रतिशत काट्छौं।
.अब १ लाखमा १० प्रतिशत हामीले काटेपछि तपाईंहरूको हातमा ९० हजार मात्र पर्छ। यसमा बीमितले सर्भेयरबाट ठगिएको गुनासा गर्ने गरेका हुन्। यो वास्तविक होइन। सर्भेयरले कागजपत्र र सरकारको नियम देखाएर तपाईंको यो कारणले काटिएको हो भनेर बताउनुपर्छ। १ लाखमा १० हजार मात्र फरक हुन्छ। तर, १ करोडमा भयो भने १० लाख फरक पर्छ। १० हजार रुपैयाँ छाड्न सकिन्छ तर १० लाख रुपैयाँ छोड्न सकिँदैन। त्यसैले बीमितले पत्रकारलाई यस्तो भयो, उस्तो भयो, इन्योरेन्स कम्पनीबाट पठाएको मान्छेले हामीलाई पैसा काट्यो। कारण बताएन भन्ने सुनिँदै आएको छ। यसप्रति ख्याल गर्नुपर्छ। सर्भेयर छान्ने अधिकार वा मौका बिमाकर्तालाई पनि दिनुप¥यो भन्ने मेरो व्यक्तिगत सोच हो। हाम्रो संस्थामा पनि यो कुरा निस्केको छ। यसो गरियो भने बजारमा हामीबाट बदमासी भयो भन्ने जति पनि गुनासा छन्, कम भएर जान्छ।
दाबी भुक्तानीमा सर्भेयरका कारण ढिलाइ हुने गरेको भन्ने विषय समय–समयमा उठ्ने गरेको छ, वास्तविकता के हो ?
हामीले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ। प्रतिवेदन बनाउने भनेको विवरणसहितको कागजपत्र हो। पीडितले कागजपत्र लिन ढिलाइ हुन्छ। त्यसमा उनीहरूका विभिन्न कारण हुन्छन्। जस्तो, कोही बिरामी भयो अथवा हस्पिटलमा गयो भने ६ महिनासम्म हार्ड फेर्नलाई लाग्छ। अथवा उसको दिमागमा जुन समस्या थियो, त्यो विस्तारै हट्दै जान्छ। अर्काे कुरा, बिर्सिने समस्या हुन्छ। जब हामीले कागजपत्र हेरिसकेपछि यो कागज आएन भन्ने एउटा फलोअप गरिसकेपछि सम्झिने।
हामीले बिमालाई आधारभूत कागज पाएको १५ दिनभित्र रिपोर्ट बुझाउनुपर्छ। त्यो रिपोर्ट ‘पेन्डिङ’ हुँदैन। कुनै रिपोर्ट कागज पूरा नभई कम्पनीमा पठाइए इन्योरेन्समा रोकिन्छ। सर्भेयरले पठाइसक्यो, इन्योरेन्स कम्पनीले गर्दा मैले भुक्तानी पाइनँ भन्ने गलत बुझाइ छ। यसलाई हटाउन जसले व्यापार व्यवसाय, सर्भेन्ट लिन्छन्, जो अभिकर्ता हुन्, उनीहरूले व्यापार लिँदा त्यो विषय बीमितलाई बताउन सक्छन्।
तर, आज बताएको कुरा ९ महिनापछि घटना हुँदा बिमाकर्ताले बिर्सिन्छ। यस विषयमा अलिकति जनचेतना नपुगेको हो कि जस्तो लाग्छ। यसमा व्यापार, व्यवसाय, नियामकले मात्र गर्ने होइन, सर्भेयरले पनि ख्याल गर्नुपर्छ। ढिलो हुनुको कारण सर्भेयरलाई ठीक समयमा विवरण ‘डकुमेन्ट’ नआउनु हो। ठीक समय डकुमेन्ट आयो भने उसले रिपोर्ट बुझाएर आफ्नो पारिश्रमिक लिन्छ।
नेपालको परिवेशमा सर्भेयरको उपलब्धता कस्तो छ? बजारमा अस्वस्थ प्रतिस्पर्धा छ भन्ने कुरा पनि सुनिन्छ। यसलाई नजिकबाट हेरिरहनु भएकाले खास अवस्था कस्तो छ ?
यस विषयमा संघमा पनि कुरा भइरहन्छ। हामीले पनि सुनेका छौं। यो क्षेत्रमा मभन्दा पुराना र नयाँ पनि क्रियाशील हुनुहुन्छ। भारी त्यहीअनुसारको बोक्नुपर्छ, जति आफूले बोक्न सकिन्छ। सर्भेयर बिमा बुझेको, यो क्षेत्रमा घुलेर ग्राहकसँग कुरा गर्न जान्ने, सम्झाउन सक्ने खालको छान्नुपर्छ। जो नयाँ आएका छन्, उनीहरूले ‘इन्टन’ गर्नुपर्छ। सबै क्षेत्रमा पहिला सिक्ने अनि काम गर्ने हो। यसमा हामी लागिरहेका छौं। यो विषयमा सरोकारवाला निकायसँग बिमा क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न, बिमाको क्षेत्रको दायरा बढाएर नागरिकको विश्वास आर्जन गर्न सबै कम्पनीका सिइओ, सर्भेयर गम्भीर छन्।
बिमा प्राधिकरणले समय–समयमा हामीलाई सचेतना कार्यक्रम पनि चलाउँदै आएको छ। पहिला सर्भेयरको कमी थियो। सर्भेयरलाई धेरै काम भयो भनेर बिमा प्राधिकरणले परीक्षा लिने थाल्यो। यो प्रक्रिया सुरु भएपछि थुप्रो भइदिए। ‘युज प्रोडक्सन’ भयो, तर त्यसको नियन्त्रण कम भयो। नियन्त्रण कम भएको कारणले बजारमा केही कमजोरी देखिएका हुन्।
सर्भेयरले कतिपय कम्पनी र कर्मचारीसँगको मिलेमतोमा अभिकर्ताको काम पनि गरेको तथा आफन्तबाट यस्तो कुरा गरिरहेको विषय आइरहन्छन्। यसलाई कसरी हेर्नुहुन्छ ?
यो कुरा बिमा कम्पनीले उठाउनुपर्ने हो। तपाईंले उठाउनुभएको विषयमा बजारमा दुई थरीका सर्भेयर छौं–‘सहमति र अनुमति’ पाएका मान्छे एउटा र सहमति भएको अनुमति नपाएको मान्छे अर्को। जस्तै, अभिकर्ता सहमति र अनुमति पाएका मान्छे भए। त्यसबापत उनीहरूले कमिसन पाउँछन्, सरकारले निर्धारित गरेको छ। त्यो अभिकर्ता भएका साथीहरूले लिने जसलाई हामीले ‘मार्केटिङ’ पनि भन्छौं।
अर्काे, मोहन पुरुषलाई मान्नुस् अथवा कसैलाई मान्नुस्। तपाईं अभिकर्ता होइन तर तपाईंलाई जानकारी भयो। तपाईंले आफ्नो साथीभाइलाई इन्स्योरेन्स गर भनेर बाटो देखाइदिनु भयो। ऊ इन्स्योरेन्स गर्न गयो र तपाईंले मैले ल्याएको व्यवसाय भनेर कमिसन खानुभयो भने त्यो गलत हो। यदि तपाईंले बिमा गर्नुपर्छ भनेर सुसूचित गरेर बिमा कम्पनीमा पठाइदिनुभयो भने त्यो कमिसन त्यहाँको मार्केटिङ अथवा अभिकर्ताले खानुलाई उनीहरूको बिजनेस बढेको रुपमा बुझ्नुपर्छ।
यसमा अलिकति खड्केको कुरा के भने मेरो मोटरसाइकल कुनै कम्पनीमा लगेर इन्स्योरेन्स गरें भने त्यसको निश्चित कमिसन मलाई दिन्छन्। त्यसलाई छुट भन्छौं। त्यही कुरा मैले अभिकर्तामार्फत लिएर गएँ भने मैले पाउने छुटभन्दा कम अभिकर्तालाई दिइन्छ। बीचमा ऋण दिने बैंकर्सहरूले यो मेरो मान्छे हो, बिमा गर भनेर कमिसन खाने बाटो बनाएको भन्ने पनि सुनिएको थियो। त्यसलाई अनुगमन गरेर बिमा प्राधिकरणले रोक्यो र अहिले एजेन्टमार्फत नै जान्छ।
सर्भेयरको योग्यता के हो? व्यक्तिगत वा संस्थागत कसरी अनुमति लिन सकिन्छ ?
मैले लाइसेन्स सर्भेयरलाई चार वर्गीकरणमा गरेका बेला लिएको थिएँ। एउटा ओभरसियर भएको, ५ वर्ष सरकारमा काम गरेर योग्य भएका मान्छे, अर्काे कुनै पनि संकायमा डिग्री वा इन्जिनियर भएका मान्छे, चार्टर्ड एकाउन्टेन्टमा डिग्री गरेका र चौथोमा बिमा इन्स्योरेन्स कम्पनीमा अफिसर भएर १० वर्ष बढी काम गरेको। यो बीचमा आएर परिमार्जन गर्दा ओभरसियरलाई हटाइयो।
२०६८ मा पनि यो कुरा आएको थियो। त्यसपछि २०७९ को नियममा चार्टर्ड एकाउन्टेन्ट, कुनै पनि विधाको इन्जिनियर, कुनै पनि इन्स्योरेन्स कम्पनीमा १० वर्ष बढी काम गरेका अधिकृत स्तरको हुनुपर्ने भनिएको छ। अहिले बिमा प्राधिकरणमा काम गरेका १० वर्षभन्दा माथिकालाई पनि बिमा सर्भेयर हुन पाउने सुविधा दिइएको छ।