काठमाडौं। बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ सम्म पोखरामा हुने भएको छ।
देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ।
गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरको सहआयोजनमा गरिँदै छ। पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन्। पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने बताए।
‘बाह्रखरी गल्फ र पोखरा महानगरलाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै हुने देखिएको छ। पर्यटन प्रवर्द्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो’, मेयर आचार्यले भने।’
बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले अहिलेको संकट समयमा पनि निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताए।
विगतका चार संस्करणमा जस्तै एनसेल यो संस्करणमा पनि प्रमुख प्रायोजकका रुपमा बाह्रखरी गल्फसँग आबद्ध भएको छ। हरेक वर्ष अर्बौं कर तिरेर सबैभन्दा बढी राजस्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी ३ खर्बभन्दा बढी राजस्व तिरिसकेको छ। प्रत्यक्ष, अप्रत्यक्ष रुपमा २५ हजार बढीलाई रोजगारीको अवसर दिएको छ।
एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले जिम्मेवार कर्पोरेट नागरिकका रुपमा देशको सामाजिक, आर्थिक विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भनेर हेर्नु सबैको दायित्व बताइन् । एनसेलले यही कुरालाई मनन गर्दै बाह्रखरीसँग कार्यक्रमका लागि सहकार्य गर्दै आएको उनको भनाइ छ।
यसको विशेष महत्त्व भनेको गल्फ मात्र नभई देशको समसामयिक आर्थिक, सामाजिक विषयमा छलफल गर्दै विकासका लागि मार्ग देखाउनु रहेको उनले औंल्याइन्।
कार्यक्रमअन्तर्गत चैत १ मा पोखराको हलनचोकदेखि विजयपुर–मझेरीपाटनसम्म साइकल ¥याली आयोजना गरिनेछ। यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको छ।
चैत २ मा देशका विभिन्न स्थानबाट ३०० बढी कर्पोरेट पाहुना पोखरा पुग्नेछन्। उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्ववर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधि तथा वरिष्ठ पत्रकार एवं सम्पादक रहनेछन्।
चैत २ मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावना विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन्।
चैत ३ मा बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ। त्यसै दिन बिहान ९ बजे पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया गरिनेछ।
देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ मा दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन्। चैत ३ मा अपराह्न सम्पूर्ण कार्यक्रमको समापन हिमालयन गल्फ कोर्स, मझेरीपाटन, पोखरामा हुनेछ।
प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ। अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन्।
पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन्। देशभरका पाहुनालाई पोखराका २० भन्दा बढी होटलमा बसोबास गराउने तयारी भइसकेको आयोजकको भनाइ छ।