काठमाडौं। लकडाउन समय अनु मिश्र पनि फुर्सदिली भइन्। सधैं विद्यार्थीमाझ घेरिरहने उनी पहिलो पटक यति लामो समय आफ्नो परिवारलाई दिन पाएकी थिइन्। केही समय त परिवारसँग समय बिताउँदा रमाइलै भयो तर लकडाउन लम्बिँदै जाँदा उनलाई बेचैन हुन थाल्यो।
एक दिन उनले आफ्ना श्रीमान सुर्य अर्याललाई कपडाको व्यवसाय गर्ने आइडिया सुनाइन्। सुर्यले पनि उनको योजना मन पराए। ‘मैले छोरीका लागि कपडा किन्न जाँदा राम्रो गुणस्तरको नपाउने र महंगो भएको महसुस गरेकी थिएँ। यो व्यवसायमा सम्भावना त देखेको थिए, तर कलेज र घरको कामले मेलोमेसो मिलिरहेको थिएन। लकडाउनले मलाई व्यवसायबारे सोच्न बाध्य बनायो,’ उनले भनिन्।
श्रीमानले पनि साथ दिएपछि उनले कपडाको विषयमा रिसर्च गर्न थालिन्। कस्तो कपडा ल्याउने, कुन डिजाइन बनाउने, कसरी बेच्ने, मूल्य कति राख्ने आदि विषयमा बुझिन्। र, लकडाउन मत्थर भएपछि उनले सुरु गरिन् ‘आभ्या क्र्याफ्ट एण्ड अपेरलर्स’।
उनले राम्रो गुणस्तरको कपडा मगाउँथिन् र गार्मेन्टमा लगेर विभिन्न आइटमका पहिरन बनाउँथिन्। आफ्नो उत्पादनको प्रचार गर्न उनले सामाजिक सञ्जालको साथ लिइन्। सामाजिक सञ्जालमा कपडाको फोटो राखेर बुस्ट गरिन्। व्यवसायको प्रचार गर्न उनका श्रीमान आइटी इन्जिनयर भएकाले पनि उनलाई धेरै सहज भयो। बिस्तारै अर्डर पनि आउन थाले।
ग्राहकसम्म कपडा पुर्याउन उनले एउटा डेलिभरी कम्पनीसँग सहकार्य पनि गरेकी थिइन्। उक्त कम्पनीले कपडा पुर्याएबापत उपत्यका भरी एक सय रुपैयाँ र देशको अन्य जिल्लामा १ सय ५० रुपैयाँ शुल्क लिन्छ।
आभ्या क्र्याफ्ट एण्ड अपेरल्र्समा विशेषतः बच्चा र महिलाले लगाउने कपडा उपलब्ध छ। अनुले क्याजुअल वयेरहरुलाई फोकस गरिरहेकी छिन्। हाल उनको स्टोरमा नाइट ड्रेस, कफ्तान, टप्स, फ्रक, पैजामा, शर्ट, हुडी, जगरलगायत उपलब्ध छ। त्यस्तै बजारमा चलेको ट्रेन्डअनुसार सबै प्रकारको कपडा बनाइने उनी बताउँछिन्।
अनुले आफ्नो उत्पादन प्रचार गर्न सामाजिक सञ्जालको साथ लिइन्। सामाजिक सञ्जालमा कपडाको फोटो राखेर बुस्ट गरिन्। व्यवसायको प्रचार गर्न उनका श्रीमान् आइटी इन्जिनयर भएकाले पनि धेरै सहज भयो। विस्तारै अर्डर पनि आउन थाले।
सन् २०२१ को सेप्टेम्बरमा ५ लाख रुपैयाँमा सुरु गरेको उनको व्यवसायले प्रत्यक्ष रुपमै ६ जनाले रोजगारी पाइरहेका छन्। वार्षिक ४० देखि ५० लाखको कारोबार गर्ने उनको व्यवसायमा हालसम्म करिब ५० लाख लगानी भइसकेको छ। व्यवसाय रफ्तारमा अघि बढे पनि उनले कलेज पढाउने काम भने छोडेकी छैनन्।
पारिवारिक पृष्ठभुमि व्यापारिक भए पनि अनुले व्यापार गर्छु भन्ने सोचेकी थिइनन्। घर र माइतीको बलियो आर्थिक अवस्था भएकाले पनि उनलाई काम गर्नुपर्ने त्यति ठूलो बाध्यता पनि थिएन। व्यवसाय गरेपछि भने आफूले अमेरिकामा लिएको डिग्रीको सदुपयोग भएको उनी बताउँछिन्।
१६ वर्ष पहिले अनु प्लस टु सकेर उच्च शिक्षका लागि अमेरिका पुगेकी थिइन्। ५ वर्ष अमेरिका बसाइपछि एमबिए सकेर नेपाल फर्किएपछि उनलाई पढाइअनुसार काम पाउनै मुस्किल भयो।
‘मलाई अमेरिकाको विश्वविद्यालयबाट डिग्री लिने बच्चै देखिको रहर थियो तर त्यही बसेर सेटल हुने कहिल्यै रहर पलाएन। त्यसकारण परिवारको इच्छा त्यही सेटल होस् भन्ने रहे पनि म फर्किए,’ उनले भनिन्। आफूले भनेजस्तो काम नपाएपछि उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नाकोत्तर गरिन्।
‘मेरो पढाई एउटा र काम अर्को भयो। त्यसमा म असन्तुष्ट भएपछि नेपालमा पनि डिग्री लिने सोच बनाएको थिए,’ उनले भनिन्।
सानैदेखि पढ्ने र आफूले पढेको कुरा अरुलाई सिकाउने रुचि भएकी उनले अर्थशास्त्रमा स्नाकोत्तर गरेपछि कलेजमा पढाउने अवसर पाइन्। योसँगै उनीसँग एमबीए र इकोनोमीका दुई मास्टर डिग्री भए। अध्यापनसँगै उनले विभिन्न आर्टिकल पनि लेख्न थालिन्। उनले नेपाल राष्ट्र बैंकको इकोनोमी रिभ्यूमा र सेबोनको जर्नलमा पनि आर्टिकल लेख्ने अवसर पाइन्।
अहिले उनले आफ्नै कपडाको स्टोर सञ्चालनमा ल्याएपछि भने उनले अमेरिकाको डिग्री सदुपयोग भएको महसुस गरेकी छिन्। ‘सानै भए पनि यो व्यवसायले मलाई सन्तुष्टी दिएको छ। मैले अमेरिकामा जे पढे त्यो प्राक्टिकल्ली गर्न पाएको छु,’ उनले भनिन्।
उनको स्टोरबाट कपडा किन्नेहरु दोहोर्याएर किन्न आउने गरेको उनको भनाइ छ। ‘मैले ग्राहकको फिडब्याकलाई निकै ध्यान दिन्छु। कपडामा सानो केही कमीकमजोरी भयो भने पनि साटिदिन्छु कि पैसा फिर्ता दिन्छु। त्यसैले ग्रहकको विश्वास पनि बढिरहेको छ,’ अनुले भनिन्।
यो व्यवसाय गर्न उनले कतिपय कठिनाइ पनि भोग्नुपरेको छ। राम्रो फिनिसिङ गर्ने गार्मेन्ट भेट्नै मूस्किल रहेको उनको भनाइ छ। त्यस्तै पसल नभई अनलाईनबाटै कारोबार गर्नुपर्ने हुनाले ग्राहकको विश्वास जित्न समय लागेको उनी बताउँछिन्।
‘अनलाईनबाटै व्यापार गर्ने भएकाले ग्राहकले छिट्टै विश्वास गरिहाल्नु हुँन्न। त्यसकारण विभिन्न प्रर्दशनीहरुमा स्टल राख्ने गरेको छु। हाम्रो स्टलमा आउनेले त्यो बेलामा नकिने पनि कपडा हेर्नुहुन्छ र आवश्यक समयमा मगाउनुहुन्छ,’ अनुले भनिन्।
अनलानबाट सामान बेच्न केही कठिन भए पनि उनले पसल खोल्ने सोच भने बनाएकी छैनन्। हाल उनीसँग ५० भेराइटीका पहिरन भएको र अरु २२÷२५ वटा भेराईटी थप्ने तयारी रहेको उनले बताइन्। .
उनले आफ्नो उत्पादन नेपाल मात्र नभई विदेशमा पनि निर्यात गर्ने सोच बनाएकी छिन्। ‘म अमेरिकामा रहँदा नेपालको उत्पादन बिरलै भेटे। ‘मेड इन नेपाल’ सामान संसार भरी जाओस भन्ने मेरो सपना हो। त्यसमा थोरै भए पनि म योगदान दिन चाहान्छु। पहिलो चरणमा म मेरो सामान अमेरिका निर्यात गर्ने तयारीमा छु,’ उनले भनिन्।
लगनशील भएर कुनै पनि काम गर्दा सफल भइने उनी बताउँछिन्। ‘व्यापारको बारेमा सोच्दा रमाइलो लाग्छ तर त्यो भित्र आफ्नै चुनौतीहरु छन्। ती चुनौतीको बारेमा राम्रोसँग बुझेर त्यसको समाधान खोजेर काम गरियो भने असफल भइदैन,’ उनले भनिन्।