काठमाडौं। क्यापिटलनेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा अनियमितता भएको ठहर गर्दै १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सरकारका चार पूर्वसचिव, एक बहालवाला सहसचिव र तीन जना विदेशीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले फागुन ६ मा पूर्वसचिवहरु सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र मुकुन्दप्रसाद पौडेललगायत विरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।
सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा.चण्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ। फागुन ६ को मन्त्रिपरिषद् बैंठकले डा. भट्टलाई नियुक्त गरेको हो। सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो। निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले कार्यकाल नसकिँदै राजीनामा दिएपछि पद खाली थियो।
नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई सञ्चारमन्त्री रेखा शर्माले फागुन ८ मा सपथ खुवाएकी हुन्। सञ्चारमन्त्री शर्माका सल्लाहकारसमेत रहेका भण्डारीलाई पाँच वर्षे कार्यकालका लागि ६ फागुनको मन्त्रिपरिषद् बैठकले प्राधिकरण अध्यक्षमा नियुक्तिको निर्णय गरेको थियो।
सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत महसुल विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थपेको छ। फागुन ६ को मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको हो।
सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट बर्खास्त गरेको छ। फागुन ६ को मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो। पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले कार्यकारी निर्देशकबाट हटाइएको सरकारले बताएको हो।
काठमाडौं महानगरले वडा नम्बर ४ मा रहेको ललिता निवासको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघ–संस्थालाई निर्देशन दिएको छ। फागुन ९ मा सूचना जारी गर्दै महानगरले ललिता निवास क्षेत्रको सरकारी जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा किनबेच तथा नामसारी भएको मुद्दामा विशेष अदालतले सरकारको हुने फैसला फागुन ३ मा गरेको थियो।
मिटरब्याज पीडितहरु पुनः काठमाडौं आइपुगेका छन्। माघ १६ मा झापा र कञ्चनपुरबाट एउटै समय पैदल यात्रा थालेका उनीहरुले २२ दिन लगाएर काठमाडौं आएका हुन्। यसअघि चैत १२ मा मिटरब्याज पीडित बर्दिबासदेखि ११ दिन पैदलै हिडेर काठमाडौं आएका थिए। सरकारले मिटरब्याजविरुद्ध कानुन निर्माण र पीडितलाई न्याय दिलाउन जाँचबुझ आयोग गठन गरे उनीहरु विश्वस्त हुन सकेका छैनन्। कानुन र आयोग गठनमै असन्तुष्टि जनाइरहेका छन्।
सरकारले दूध तथा दुग्धजन्य उत्पादन आयातमा रोक लगाएपछि पाँचतारे तथा चेन होटलहरु समस्यामा परेका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आन्तरिक बजारमा उत्पादन भएका दुग्धजन्य पदार्थ बिक्री नभएको भन्दै अनिश्चितकालका लागि आयातमा रोक लगाएको हो।
बेलायतले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउन्ड (करिब ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गराउने भएको छ। नेपाल भ्रमणमा रहेका अफ्रिकाका निम्ति बेलायतका विकासमन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा फागुन ८ मा हस्ताक्षर भएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र काठमाडौंस्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बाट ४ अर्ब ८२ करोड रुपैयाँ आम्दानी गरेको छ। आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रोयल्टी तिर्ने कम्पनी एनसेल बनेको छ। कम्पनीले गत आर्थिक वर्षमा रोयल्टीबापत राज्य कोषमा १ अर्ब ४७ करोड र आरटीडीएफबापत ७३ करोड ७५ लाख तिरेको प्राधिकरणले जनाएको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८० मा रोयल्टीबापत १ अर्ब ४३ करोड र आरटीडीएफबापत ७१ करोड ९३ लाख ५३ हजार रुपैयाँ बुझाएको छ।
अघिल्लो साता २ हजार ६२.०३ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताभरि गिरावट हँुदा कारोबारको अन्तिम दिन बिहीबार २ हजार ५.८३ बिन्दुमा समेटिएको छ। समग्रमा नेप्सेमा ५६.२ अंकको गिरावट देखिएको छ। सेयर बजारमा यो साता कुल ११ अर्ब ९९ करोडको कारोबार भएको छ। अघिल्लो साता २० अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो।