काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूलाई आफैंले निगरानी गर्ने भएका छन्। यसअघि डेपुटी गभर्नर मातहत रहेको बैंक सुपरिवेक्षण विभागलाई सोझै आफूले हेर्ने गरी जिम्मेवारी सारेका हुन्। पछिल्लो समय वाणिज्य बैंकहरूको खस्कँदो वित्तीय अवस्थामाथि सार्वजनिक रूपमा तिखो टिकाटिप्प्णी हुन थालेको भन्दै गभर्नर अधिकारीले नै वाणिज्य बैंकहरूलाई हेर्ने भएका हुन्।
यसअघि बैंकका समस्याका विषयमा कुरा गर्दा सम्बन्धित डेपुटी गभर्नरमार्फत् जानुपर्थ्यो। अबदेखि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकले बैंक सुपरिवेक्षणका विषयमा सिधै गभर्नरलाई रिपोर्ट गर्नेछन्। यसले बैंकमा भएका गलत अभ्यासको सिधै गभर्नरलाई जानकारी हुनेछ। यसअघि बैंक सुपरिवेक्षणको जिम्मेवारी सम्हालिरहेकी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको जिम्मेवारी फागुन ११ गतेदेखि लागू हुने गरी हेरफेर गरिएको हो।
गभर्नर अधिकारीले वाणिज्य बैंकहरूको अवस्था र समस्याबारे आफैं प्रत्यक्ष रुपमा सहभागी भई छानबिन तथा कारबाही गर्न सुपरिवेक्षण विभागलाई डेपुटी गभर्नर ढुंगानाको मातहतबाट आफ्नोमा ल्याएका हुन्। गभर्नर मातहतको आर्थिक अनुसन्धान विभागको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको छ। अब गभर्नर अधिकारी मातहतमा गभर्नर कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आन्तरिक लेखा परीक्षण विभाग र कानुन महाशाखा रहेका छन्।
राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले २०८० फागुन ११ गते (आज)देखि लागू हुने गरी डेपुटी गभर्नर ढुंगानाको जिम्मेवारी हेरफेर गर्दै परिपत्र जारी गरेको छ। यसअघिसम्म डेपुटी गभर्नर ढुंगानाको जिम्मेवारीमा मानव संसाधन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, विदेशी विनिमय विभाग, बैंकिङ विभाग, प्रदेशस्थित कार्यालयहरू, नियमन विभाग र सुपरिवेक्षण समूहका वाणिज्य बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग र लघुवित्त सुपरिवेक्षण विभाग रहेको थियो।
हिजोसम्म वाणिज्य बैंक सुपरिवेक्षणका प्रमुख देवकुमार ढकालले डेपुटी गभर्नर ढुंगानालाई रिपोटिङ गरेपछि मात्रै ढुंगानाले फाइल मूल्यांकनको आधारमा गभर्नर अधिकारीलाई रिपोर्टिङ गर्ने गरेकी थिइन्। अब भने कार्यकारी निर्देशक ढकालले वाणिज्य बैंकहरूको सुपरिवेक्षकीय रिपोर्टिङ सोझै गभर्नर अधिकारीलाई गर्नुपर्नेछ। वाणिज्य बैंकहरूमा कुनै समस्या भएमा अब गभर्नर अधिकारीले सोझै हस्तक्षेप गर्ने गरी वाणिज्य बैंक सुपरिवेक्षण आफ्नो हातमा लिएका हुन्।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको जिम्मेवारी भने हेरफेर गरिएको छैन। डेपुटी गभर्नर मिश्र मातहत मौद्रिक व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग, गैर–बैंकिङ संस्था सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभाग छन्।