काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ बढी प्रस्ताव प्राप्त भएको जनाएको छ।
कम्पनीले १८औं वार्षिकोत्सव अवसरमा समुदाय स्तरमा लागू हुने गरी यो कार्यक्रम सञ्चालन गरेको हो। हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनको मूल्यांकन गरिरेहको बताएको छ।
एनसेलले माघ १७ सम्मको समय दिएर ७ वटै प्रदेशका इच्छुक गैरनाफामूलक संस्थाबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो।
कम्पनीका अनुसार देशैभरबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा विकास कार्य गर्न उत्साहजनक रुपमा प्रस्ताव प्राप्त भएका छन्। आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावनालगायत आधारमा कार्यक्रम छानिने कम्पनीले जनाएको छ।
तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रतिकार्यक्रम १० लाख रुपैयाँ दिनेछ। सामाजिक पहलअन्तर्गत कुल १८ आयोजाना छानिनेछन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागू गरिनेछन्। बाँकी चार आयोजना प्राप्त प्रस्तावको महत्त्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यान्वयन गरिनेछन्।
दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग गर्ने प्राथमिकताअनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा १ अर्ब ८० करोड रुपैयाँ बढी योगदान गरिसकेको जनाएको छ।
यस्तै, एनसेलले सबैभन्दा ठूला करदाताअन्तर्गत े अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै आएको कम्पनीको भनाइ छ। कम्पनीले स्थापनाकालदेखि आर्थिक वर्ष २०७९/८० सम्म सरकारलाई कर तथा गैरकर गरी ३ खर्ब बढी राजस्व तिरिसकेको छ।