काठमाडौं। टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा भित्रिएको छ। हामी अरेट इन्टरनेसनले अन्तर्राष्ट्रिय बजारमा आएको केही महिनाभित्रै टेस्ला मोडल थ्री नेपालमा ल्याएको हो।
टेस्लाले पहिलो पटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यो मोडल थ्री लक्जरी इलेक्ट्रिक कार वर्गमा उत्कृष्टमा पर्छ।
टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुनेमध्येको मोडल हो। ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्रीको रिफ्रेस भर्सन हो।
कारमा फराकिलो ३६० डिग्रीको दृश्य देखिने मुनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बियन्ट लाइट, भेगन सिट, फ्युचरिस्टिक बडी डिजाइन, पूर्ण सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड रुफ क्याबिनको कारण नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको कम्पनीले जनाएको छ।
पहिलो पटक कुलिङसहितको भेन्टिलेटेड सिट रहेको यस भर्सनमा प्रयोग गरिएको सिट म्याटेरिएल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो।
एरो डायनामिक र वाटर सिंक रुफसहितको विशेषता रहेको यो कारले सुरक्षा दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एनएचटिसिए) बाट ५ स्टारको रेटिङ प्राप्त गरेको छ।
कारको कालो, सेतो र काठको कलरबाट सजिएको भित्री भागमा निकै स्लिम डिजाइनमा बनेको ड्यासबोर्ड पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेसन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिन्छ।
यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर पनि डिजिटल नै उपलब्ध हुनेछ। गियर सिफ्टिङ, इन्डिकेटर प्रयोगलगायत प्रणालीसमेत डिजिटल रुपमा उपलब्ध रहेकाले यसको इन्टेरियर अझ फराकिलो र सुन्दर बनेको छ।
पछाडि बस्ने यात्रुका लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यो मोडलमा पाउन सकिन्छ। सबै लाइट एलइडी रहेको कारमा १९ इन्चको अलोय ह्वील दिइएको छ। यो कार रातो, कालो, नीलो, सेतो र खरानी कलरमा उपलब्ध हुनेछ।
कम्पनीले रंगअनुसार कारको मूल्य १ करोड ३५ लाख र १ करोड ४० लाख निर्धारण गरेको छ।