काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी अक्सनको बाटो खुल्ला भएको छ । प्राधिकरणले अघि बढाएको १८ ब्याण्ड भित्रका फ्रिक्वेन्सी अक्सनको प्रक्रियालाई रोक्न माग गर्दै सीजी टेलिकमले गत मंसिर २६ गते दर्ता गराएको रिटमा सर्वोच्च अदालतका न्यायधीश प्रकाशकुमार ढुंगानाको एकल इजालासले बुधबारको लागि सारेपछि अक्सनको बाटो खुलेको हो ।
प्राधिकरणमा बुधबार अर्थात् पुस २ गते हुने भएको फ्रिक्वेन्सी अक्सनलाई प्रभावित पार्ने कुनै किसिमको आदेश अदालतबाट भएको छैन । ‘आज कुनै किसिमको आदेश भएन । प्राधिकरणले भोलीको अक्सन प्रक्रिया अघि बढाउन पाउँछ ।’
सर्वोच्च अदालतका सूचना विज्ञ किशोर पौडेलले भने, ‘बुधबारको अक्सन प्रक्रियालाई रोक्ने किसिमको कुनै आदेश भएको छैन । भोलीको अक्सन हुन्छ । तर सीजीको हकमा आदेश आएको खण्डमा अक्सनको निर्णय अदालतले खारेज गर्नसक्छ ।’
‘यस अघि सर्वोच्च अदालतले नै यहीँ प्रकृतिको मुद्दामा सीजी टेलिकमले पाएको अन्तरिम आदेशलाई खारेज गरेको थियो । त्यसको अन्तिम टुंगो नलागेको हुँदा, बुधबारको लागि पुनःपेशी तोकिएको छ ।’ पौडेलले भने ।
बुधबारको पेशीमा सर्वोच्चले सीजीको त्यहीँ प्रकृतिको पुरानो मुद्दा र नयाँ रिटलाई एक साथ राखेर हेर्ने पौडेलले बताए । प्राधिकरणले गत वर्षको पुस ४ गते घोषणा गरेका अक्सन प्रक्रिया सीजीको पक्षमा न्यायधीश दिपकराज जोशीको एकल इजालसले पुस १० मा सीजीलाई आधारभूत टेलिकम सेवाको लाईसेन्स दिन र फ्रिक्वेन्सी अक्सनको प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश दिएको थियो ।
तर सोही महिनाको २४ मा उक्त आदेशविरुद्ध प्राधिकरणले भ्याकेट दर्ता गराएपछि माघ ३ गते प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र न्यायधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजालसले न्यायधीश जोशीको अन्तरिम आदेशलाई खारेज गरिदिएको थियो । त्यसयता उक्त मुद्दा पनि अदालतमा विचाराधिन छ ।