काठमाडौं। पछिल्लो समय अन्तरमन्त्रालयबीच दशक घोषणामा प्रतिस्पर्धा चल्न थालेको छ। दुई वर्षअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन दशक घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन प्रक्रिया नभइरहेका बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दशक घोषणा गरेका हुन्।
सन् २०३२ सम्म ३५ लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ २०७९ पुसमा पर्यटन दशक घोषणा भएको थियो। तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन दशक २०२३–२०३२ घोषणा गरेका थिए। तर, पर्यटन मन्त्रालयले अहिलेसम्म घोषित कार्यक्रम कार्यान्वयनका लागि कुनै योजना बनाएको छैन।
आफू भर्खरै मन्त्रालयमा हाजिर भएकाले कार्यक्रमबारेमा विस्तृत बुझ्न बाँकी रहेको पर्यटन सचिव दीपक काफ्ले बताउँछन्। घोषणा भएका कार्यक्रम कार्यान्वयनका लागि योजना बनाउन तयार रहेको उनको भनाइ छ।
एक वर्षअघि घोषणा गरिएको पर्यटन दशक नै अलपत्र परिरहेका बेला श्रम मन्त्रालयले आन्तरिक रोजगार प्रवद्र्धन दशक अभियान सञ्चालन गर्ने भएको छ। श्रम बजारका लागि आवश्यक जनशक्तिलाई सीपयुक्त बनाउन रोजगार प्रवर्द्धन दशक घोषणा गरिएको श्रमसचिव केवलकिरण भण्डारीले बताए।
अहिले विदेश जाने धेरै युवाहरु सीपै नसिकी प्रमाणपत्र मात्र लिएर जाने गरेको र त्यहाँ पुगेपछि धेरै दुःख पाइरहेकाले तिनलाई पनि सीप सिकाएर दक्ष बनाउन मन्त्रालयले कार्ययोजना बनाएर काम गर्न लागेको उनले जानकारी दिए।
दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको प्रमुख आधार नै उत्पादनशील रोजगारी रहेका कारण नीतिगत, वस्तुगत र विकास रणनीतिमा रोजगारी प्रवर्द्धनलाई जोड दिइएको मन्त्रालयले जनाएको छ।
आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई अभियानका रुपमा सञ्चालन गर्न तीनै तहका सरकार, रोजगारदाता, विषयगत संघ–संगठन, सीप विकास प्रतिष्ठानलगायत श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ–संगठनसँग प्रत्यक्ष समन्वय र सहकार्य गरिने श्रमसचिव भण्डारीले बताए।
कृषि क्षेत्रमा लगानी विस्तारका लागि कृषि मन्त्रालयले लगानी दशक घोषणा गर्ने तयारी थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषित कार्यक्रमअनुसार नै कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउन लगानी आवश्यक रहेकाले लगानी दशक घोषणा गर्ने अन्तिम तयारी थालिएको मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्यालले बताइन्।
खासगरी मन्त्रीहरुले चर्चा कमाउनैका लागि दशक घोषणा गर्दै काम अलपत्र पार्दै आएका छन्। ‘मन्त्रालयलाई दशक घोषणामा प्रतिस्पर्धा होइन, कार्यान्वयनमा तत्परता देखाउन सरोकारवालाको सुझाव।
रासायनिक मल उत्पादन, कृषिजन्य वस्तुको बिक्री वितरण तथा सहज उपलब्धता, बाँझो जमिन उपयोग, छाडा पशु तथा वन्यजन्तु नियन्त्रण, बाली तथा पशुपक्षीजन्य रोग किरा तथा सम्भावित महामारी/प्रकोप नियन्त्रणका विषयमा समेत कार्ययोजना बनाएर अगाडि बढ्ने गरी सातै प्रदेशका कृषि मन्त्रालयका अधिकारीसँग छलफल गरिएको उनले जनाइन्।
खासगरी मन्त्रीहरुले चर्चा कमाउनैका लागि दशक घोषणा गर्दै अलपत्र पार्दै आएका छन्। होटल एसोसिएसन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले १ वर्षअघि घोषणा गरेको पर्यटन दशकलाई कार्यान्वयनका लागि कुनै योजना नबन्नु दुःखद रहेको बताए।
‘मन्त्रालयबीच दशक घोषणामा प्रतिस्पर्धा गर्ने तर कार्यान्वयनमा तत्पर नरहेको पाइन्छ,‘ अध्यक्ष शाहले भने, ’श्रम मन्त्रालयले रोजगारदाताको रुपमा छलफलमा बोलाउँदा दशक घोषणामा प्रतिस्पर्धा हैन, कार्यान्वयनमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै आएको छु।’
१० वर्षे कार्ययोजना बनाएर सरकार अगाडि बढ्नु सकारात्मक रहे पनि कार्यान्वयनमा देखाइने उदासिनताले निरासा जगाउने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरनिको राजभण्डारी बताउँछन्।
‘सरकारले घोषणा गर्ने योजना सफल बनाउन निजी क्षेत्र सरकारलाई साथ दिन तयार छौं’, नेपाल डेरीका सञ्चालकसमेत रहेका भण्डारीले भने, ‘घोषणामा प्रतिस्पर्धा हुन्छ तर कार्यान्वयनै नहुने रोग धेरै मन्त्रालयमा छ।’