काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएको हो।
राप्रपाले प्रदेश संरचना खारेजी, भ्रष्टाचार नियन्त्रण, बैंक तथा वित्तीय संस्थाबाट लिइँदै आएको मनलाग्दी ब्याज नियन्त्रण, सुशासन प्रत्याभूति, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनालगायत ४० बुँदे माग सरकारलाई बुझाएको छ।राप्रपाले बुझाएका माग सम्बोधन नभए सडक आन्दोलनमा जाने निर्णय पदाधिकारी बैठकले गरेको अध्यक्ष लिङ्देनले बताए।
मागपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ललिता निवास प्रकरण, सुन तस्करी, भ्रष्टाचार नियन्त्रणलगायतलाई प्राथमिकतामा राखेर काम गरिरहेको र केही विषय टुंगो लागेकाले संघर्षका कार्यक्रम शान्तिपूर्ण गर्न आग्रह गरेका थिए।
‘राप्रपाले आफ्ना मुद्दा लिएर संघर्ष जाने निर्णय गरेकामा मेरो भन्नु केही छैन। संघर्ष कार्यक्रम शान्तिपूर्ण होस्, हामी शान्ति प्रक्रिया टुंगाउन पहल गरिरहेका छौं। त्यसमा सकारात्मक सहयोग रहोस्’, प्रधानमन्त्रीले भने।
राप्रपाले भृकुटीमण्डपमा विरोधसभा आयोजना गरेको छ। विरोधसभाअघि भृकुटीमण्डपबाट भद्रकाली, सुन्धारा, वीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म ¥याली गरेको हो।
राप्रपाले धर्मान्तरणमा तत्काल रोक लगाउन, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा समेटिएका छन्। राप्रपाको पूर्वनिर्णयअनुसार आज ७७ वटै जिल्लाबाट प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ।