काठमाडौं। सरकारले दुध तथा दुग्धजन्य उत्पादन आयातमा रोक लगाएपछि पाँचतारे तथा चेन होटलहरु समस्यामा परेका छन्। तारे होटलहरुले बेकरीका लागि आवश्यक चिज र बटर विदेशबाट आयात गर्दै आएका छन्। सरकारले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उत्पन्न भएको होटल सञ्चालकले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक बजारमा उत्पादन भएका दुग्धजन्य पदार्थको बिक्री नभएको भन्दै अनिश्चितकालका लागि आयातमा रोक लगाएको हो। मन्त्रालयले चिल्लो हटाइएको दूध, नौनी (बटर), घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारका चिज आयातमा रोक लगाएको हो।
होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारी निर्णयले ठूला होटल तथा चेन होटलहरुमा बढी समस्या उत्पन्न भएको बताए। विदेशी पर्यटकले विदेशी ब्राण्डका चिज, बटरबाट बनेका परिकारहरु रुचाउने भएकोले पाँचतारे होटलहरुले आयात गर्दै आएकोमा आयात प्रतिबन्धको निर्णयले समस्या परेको उनको भनाइ छ। ‘चलायमान हुन लागेको होटल क्षेत्रलाई कृषि मन्त्रालयको अहिलेको निर्णयले फेरि समस्यामा पार्न थालेको छ,’ अध्यक्ष शाहले भने, ‘तत्कालै सच्याउनुपर्छ।’
अहिले दुग्धजन्य पदार्थ बिक्री नहुनुको कारण विदेशबाट आयात भएर मात्र नभएको व्यवसायीहरुको भनाइ छ। पछिल्लो वर्ष किसानले दूधको मूल्य राम्रो पाउँदा गाईभैंसी धेरै पाल्न लागेको र उपभोग गर्ने उपभोक्ता मुलुकबाहिर हुँदा बिक्रीमा गिरावट आएको डेरी सञ्चालक रोजन कार्कीको बुझाइ छ।
काठमाडौं म्यारियट होटलका सञ्चालक शशिकान्त अग्रवाल बेकरीमा प्रयोग हुने बटर नेपालमा उत्पादन नहुने भएकोले विदेशबाट ल्याइरहेको बेला सरकारी निर्णयले समस्या परेको बताउँछन्। ‘नेपाली उत्पादन वृद्धि गराउन दुग्धजन्य पदार्थको आयातमा रोक लगाउनु मात्र समस्याको समाधान हैन,’ अग्रवालले भने, ‘विश्वसँग प्रतिस्पर्धा गरिरहेको पर्यटन बजारमा यो खालको निर्णयले दिर्घकालीन असर गर्छ, तत्कालै सरकारले यो निर्णय सञ्चाउनुपर्छ।’
डेरी उद्योगी उत्साहित
मन्त्रालयको निर्णयपछि नेपालका डेरि उद्योगहरु उत्साहित भएका छन्। नेपाल डेरीका सञ्चालक अरनीको राजभण्डारीले दुग्धजन्य पदार्थको आयातमा रोक लगाउने सरकारी निर्णय सुखद रहेको बताए। सरकारको निर्णयले तारे होटलहरुमा केही असर गरे पनि उनीहरुलाई चाहिने गुणस्तरका दुग्धजन्य पदार्थ आफूहरु दिन तयार रहेको उनले बताए। ‘नेपालको उत्पादन बिक्री नभइरहेका बेला कृषि मन्त्रालयले कृषकको हितमा गरेको निर्णय सही छ,’ सञ्चालक भण्डारीले भने, ‘तारे होटलले खोजेको गुणस्तर कस्तो हो, त्यो हामीलाई भन्नुपर्छ। त्यही अनुसारको बनाउन तयार छौं।’
अहिले दुग्धजन्य पदार्थ बिक्री नहुनुको कारण विदेशबाट आयात भएर मात्र नभएको व्यवसायीहरुको भनाइ छ। पछिल्लो वर्ष किसानले दूधको मूल्य राम्रो पाउँदा गाईभैंसी धेरै पाल्न लागेको र उपभोग गर्ने उपभोक्ता मुलुकबाहिर हुँदा बिक्रीमा गिरावट आएको डेरी सञ्चालक रोजन कार्कीको बुझाइ छ। सरकारको यो निर्णयले केही हदसम्म राहत दिए पनि भारतबाट चोरी निकासी भएर आउने दूध नियन्त्रण हुन नसक्दा धेरै समस्या आएको उनले बताए। नेपालमा भन्दा भारतमा दूध तथा दुग्धजन्य उत्पादन सस्तो पाउने भएकोले सीमा लुकीछिपि आयात हुने गरेको व्यवसायी बताउँछन्। लुकीछिपि आयात हुने दूध तथा दुग्धजन्य वस्तु रोक्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने व्यवसायीको भनाइ छ।