काठमाडौं। काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास खाली गर्न निर्देशन दिएको छ। बुधबार सूचना जारी गर्दै महानगरले काठमाडौं महानगरपालिका वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न अनुरोध गरेको हो। महानगरले सूचनामा व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सरकारी जग्गाबाट आफैं हट्न अनुरोध गरेको छ।
‘विशेष अदालत, काठमाडौंबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजासमेत १७५ जना भएको 'सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको' मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ।
महानगरले ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको,' उल्लेख गरेको छ।
त्यस्तै विशेष अदालत, काठमाडौंको उक्त फैसलाबाट जफत (सरकारी) भएको काठमाडौं महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्न यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा थप भनिएको छ।
महानगरपालिकाले बुधबार प्रकाशित भएको सूचनाका आधारमा ७ दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले सो क्षेत्रबाट आफै हटेर सरकारी सम्पत्तिको संरक्षणमा महानगरपालिकालाई सहयोग गर्न अनुरोध गरेको छ।